कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दक्षता एकातिर, जिम्मेवारी अर्कै

आश गुरुङ

लमजुङ — स्वास्थ्यकर्मीको काम दैनिक बिरामी जाँच्ने, परामर्श दिने, उनीहरूको रेखदेख गर्ने, औषधि दिनेलगायत हो । तिनै कर्मचारी अहिले गाउँपालिकाको योजना सम्झौता गर्न खटिएका छन् ।

दक्षता एकातिर, जिम्मेवारी अर्कै

दैनिक बिरामी जाँच्नुपर्ने स्वास्थ्यकर्मी सडक, भवन, खानेपानीलगायत भौतिक संरचनाको योजना सम्झौतामा खटिएपछि उपभोक्ता साथै कर्मचारी पनि अलमलमा परेका छन् । गौंडा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक अर्जुन रिमाल अहिले दूधपोखरी गाउँपालिकामा योजना सम्झौता गर्न खटिएका छन् । स्थानीय तहको संरचना नयाँ बनाइएपछि उनले गाउँपालिकामा काज सरुवा भए पनि शाखा सञ्चालन गर्ने ठाउँ अभावमा स्वास्थ्य केन्द्रमै बसेर काम गर्दै आएका थिए । उनी दुई सातायता गाउँपालिकाभरिका योजना सम्झौताको काम गर्ने, निर्णय लेख्ने, निर्णयको लगत तथा कर्मचारीको लगत तयार पार्ने काममा खटिएका छन् ।

करिब ११ जना दरबन्दी रहेको दूधपोखरी गाउँपालिकामा कार्यकारी, लेखापाल र कार्यालय सहयोगी छन् । भवन डिभिजन कार्यालयबाट २ महिनाअघि १ जना ओभरसियर सरुवा भएर गएका छन् । १ जनालाई करारमा राखिएको छ । इन्जिनियर, आइटी इन्जिनियर, नासुलगायत दरबन्दीका कर्मचारी नभएपछि काम गर्न अप्ठ्यारो परेको गाउँपालिकाकी कार्यकारी अधिकृत विष्णुकुमारी लामिछानेले बताइन् । ६ वडा रहेको उक्त गाउँपालिकामा यसअघि २ वडा हेर्दै आएका नासु रमण बराललाई गाउँपालिकाको प्रशासन हेर्न लगाए पनि अहिले उनी ती वडामा फर्केर थप १ गरी ३ वटा वडाको काम एक्लै गरिरहेका छन् । कुल ६ वडामा उनले गाउँपालिकाकै आधा भाग ३, ४ र ५ गरी ३ वडा हेरिरहेका छन् । उनी वडा नम्बर ४ का सचिव हुन् । वडा नम्बर १ र २ मा एकजना र ६ मा अर्को एक जना सचिवले हेर्दै आएका छन् ।

सिंगो गाउँपालिकाभित्र २ सय ६० भन्दा बढी योजना रहेको गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङले बताइन् । मंसिर मसान्तभित्र सबै योजना सम्झौता सक्नुपर्नेमा एक सातायता मात्रै योजना सम्झौता सुरु भएको उनले बताइन् । ‘योजना सम्झौता ढिलो भयो । प्राविधिक छैनन्’, उनले भनिन्, ‘हामी पनि नयाँ । कर्मचारी पनि नयाँ भएकाले कहिलेकाहीं समस्या पर्ने गरेको छ ।’ कर्मचारीको अभावमा काम हुन नसकेको उनले स्वीकारिन् । साबिक गौंडा गाविस कार्यालयमा गाउँपालिकाको कार्यालय स्थापना गरिएकाले कार्यालयका लागि ठाउँ अभाव भएको उनले बताइन् । ‘कार्यालयका लागि ठाउँ छैन । अरू शाखा कार्यालय कहाँ कसरी खोल्ने ? अप्ठ्यारो भएको छ’ उनले भनिन् ।

प्रकाशित : पुस २३, २०७४ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?