कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भाइरलले बालकको मृत्यु

८ सयको उपचार
भीमबहादुर सिंह

जाजरकोट — जुनीचाँदे गाउँपालिकामा फैलिएको मौसमी रुघाखोकीका कारण सोमबार एक बालकको मृत्यु भएको छ । वडा २, मौगानका रामबहादुर नेपालीका २ महिने छोरा भूपेन्द्रको मृत्यु भएको हो ।

भाइरलले बालकको मृत्यु

उनको स्थानीय मेडिकलमा उपचार भइरहेको थियो । यसअघि मौसमी रुघाखोकीबाटै ९ जनाको मृत्यु भएको थियो । रामबहादुरका बुवा तेले, श्रीमती पवित्रा र छोरा भूपेन्द्र ३ दिनअघिदेखि मौसमी रघाखोकीबाट बिरामी परेका डा. पवन शाक्यले बताए । मौसमी रुघाखोकीसँगै निमोनियाका कारण भूपेन्द्रको मृत्यु भएको अनुमान गरिएको शाक्यले बताए । प्रभावित क्षेत्रमा पुगेर ३ दिनको अवधिमा रुघाखोकीका ८ सय बिरामीको उपचार भएको उनले बताए । ‘सोमबार मात्र ३ सय बिरामीको उपचार गरियो,’ उनले भने ।

जुनीचाँदेका घरघरमा रुघाखोकीका बिरामी छन् । उनका अनुसार एउटै परिवारमा ३/४ जनासम्म बिरामी परेका छन् । रुघाखोकीले वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएको डा. शाक्यले बताए । जुनीचाँदेमा फैलिएको भाइरल जटिल प्रकृतिको नभएको र रोग नियन्त्रणमा ल्याउन समस्या पनि नभएको उनको भनाइ छ । जाडोका कारण रुघाखोकी, ज्वरो आउने र घाँटी दुख्ने समस्याका बिरामी घरघरमै छन् । समयमा उपचार गर्नुका साथै बिरामीले चिसोबाट बच्ने, न्यानो कपडा लगाउने, सरसफाइमा ध्यान दिने, बिरामीलाई पृथकीकरण गर्ने र तातो खानेकुरा खुवाउने गरेमा भाइरल नियन्त्रणमा आउने चिकित्सकले बताए ।

मौसमी रुघाखोकी नियन्त्रणका लागि डा. शाक्यको नेतृत्वमा स्वास्थ्यकर्मी र नेपाली सेनाको टोली गाउँगाउँमा पुगेको स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताए । जुनीचाँदे, काप्रा, बडुले, कार्कीगाउँ, स्याला, मजकोट, आलीमौगाना, डाँडाकोट, पराले, कोर्ताङ, कल्लीलगायत गाउँका बासिन्दा मौसमी रुघाखोकीबाट बढी प्रभावित भएको र उपचारपछि रोग नियन्त्रणमा आउन थालेको स्वास्थ्य प्रमुख नेपालीले बताएका छन् ।

प्रकाशित : पुस २५, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?