कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतै खोला जमे, कतै धारा

-पिउनका लागि पानी पगाल्नुपर्छ  -पाइपभित्र पानी जमेकाले धाराहरू बन्द छन्  -स्थानीयवासी घर बाहिर निस्कनै सकेका छैनन्
कान्तिपुर टिम

काठमाडौँ — चिसोले हिमाली जिल्ला मनाङमा खोलाको पानी नै जमेको छ । म्याग्दीका लेकाली बस्तीमा पाइपमै पानी जम्दा जनजीवन प्रभावित भएको छ । लमजुङको घनपोखराको अवस्था पनि फरक छैन । स्थानीय रुद्रशंकर गुरुङले भने, ‘भित्रभित्रै जमेर धारामा पानी आउनै छाड्यो । सिरेटो पनि उत्तिकै चलेको छ । बाहिर निस्कन सक्ने अवस्था छैन ।’

कतै खोला जमे, कतै धारा

चिसो बढेपछि स्थानीय घर छाडेर बेंसीखेत झरेका छन् । ‘बेंसीमा घर नभएका र बस्नैपर्ने २/४ घर मात्रै गाउँमा होलान् । नत्र गाउँ सुनसान जस्तै भएका छन्,’ उनले भने, ‘हिउँ परेको भए पनि यति धेरै चिसो हुन्थेन ।’ दोर्दी–५ पाचोक छैलुङकी फुन्दा गुरुङले जाडो थेग्नै नसक्ने गरी बढेको बताइन् । ‘घर बन्ला भन्दाभन्दै तीन जाडो लाग्यो । चिसोले बिरामी परेकी छु,’ भूकम्पपीडित गुरुङले भनिन्, ‘यही चिसोले लैजालाजस्तो छ ।’

टहराको बसाइँमा चिसो खप्न नसकेर उनका पति राजमान बिरामी छन् । ‘रात कटाउन मुस्किल भयो, थोत्रो सिरक पनि चिसो हुन्छ,’ उनले भनिन्, ‘आगोले अगाडि मात्रै तातो बनाउँछ । पछाडि चिसै ।’ सिउरुङकी पारकाशी गुरुङले पनि खप्नै गाह्रो हुनेगरी चिसो बढेको बताइन् ।

बेंसीसहर नगरपालिका–८ की वडाअध्यक्ष पवित्रा रानाले साँझ–बिहान पानी छुनै नसक्ने गरी चिसो भएको बताइन् । ‘खाना पकाउन र भाँडा धुन पनि मुस्किल भयो,’ उनले भनिन् । खुदीस्थित जल तथा मौसम विज्ञान विभागको तापमापन केन्द्रका प्रतिनिधि लेखमान कतिलाले सोमबार साँझ पौने ६ बजे तापक्रम ३ डिग्री मापन गरिएको बताए ।

मनाङमा ठाडाखोलाका पानी जम्न थालेको छ । बगेको पानी चट्टानजस्तै कडा बनेको छ । सदरमुकाम चामेमाथिका सबैजसो ठाडाखोलामा बग्दै गरेको पानी जमेको स्थानीयले बताए । मस्र्याङ्दी नदीको छेउछाउ पनि जमेको छ । चामेकी खरिमाया गुरुङका अनुसार पिउनका लागि पानी पगाल्नुपर्छ । पाइपभित्र पानी जमेकाले धाराहरू बन्द छन् । स्थानीय बाहिर निस्कनै सकेका छैनन् । ‘सिंगो बजार सुनसान छ । घरका ढोका बन्द छन् । दुइटा पसल मात्रै खुले,’ उनले भनिन्, ‘चिसो बढेपछि कोही बेंसी झरे । नझरेकाहरू झ्याल–ढोका थुनेर घरमै बसेका छन् ।’

चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले चिसो बढेपछि बाटोमा हिँड्डुल नै घटेको बताए । जाडो छल्न स्थानीयसँगै जनप्रतिनिधिसमेत राजधानी गएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका संरक्षण अधिकृत बाबुलाल तिरुवाका अनुसार राति मनाङ गाउँमा तापक्रम माइनस १६ डिग्री सेल्सियससम्म झरेको छ । थोराङफेदी, खाङसारतिर माइनस २० सम्म झरेको उनले बताए । ‘साँझ–बिहानसमेत माइनस १० देखि १२ डिग्री सेल्सियसको हाराहारीमा छ । बाहिर निस्कन सक्ने अवस्था छैन,’ उनले भने ।

माथिल्लो मनाङका अधिकांश स्थानीय चिसो छल्न अन्यत्र गइसकेको उनले बताए । ‘यहाँ दिनभरि सिरक ओडेर सुत्नुबाहेक कुनै उपाय छैन,’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने, ‘धारा र खोला सबै जमिसके । घाम लागेका बेला अलिअलि तापक्रम बढ्छ, नत्र घटेकै छ ।’ चिसोका कारण सरकारी कार्यालयमा सेवाग्राही पनि पातलिएका छन् ।

हिमालपारिका जिल्ला मनाङ र मुस्ताङबाट चिसो छल्न हिउँदमा बस्ती छाडेर अन्यत्र जाने चलन पुरानै हो । पछिल्ला वर्ष सडक सञ्जालको विस्तारले सुविधा पुग्न थालेपछि उँधौली झर्ने चलन घटे पनि चिसोले विकास पूर्वाधारका कामहरू भने ठप्प छन् ।

पाइपमै जम्छ पानी

म्याग्दीमा पाइपमै पानी जमेपछि पर्यटकीय बस्ती घोडेपानीमा खानेपानीको आपूर्ति अवरुद्ध छ । यसले करिब तीन दर्जन पर्यटकीय होटल र स्थानीयलाई सास्ती छ । ‘पाइपमा मात्र होइन मुहान नै जमेको छ,’ पर्यटन व्यवसायी टेकसर बुद्धुजाले भने, ‘टाढाको मुहानबाट पानी बोकेर ल्याउन थालेका छौं । पानी लिन आउजाउ गर्दा नै चिसोले मार्लाजस्तो हुन्छ ।’

घोडेपानीको देउराली क्षेत्रमा वितरित पानी २ किमि टाढाको मुहानबाट ल्याइएको छ । पाइप ल्याइएको क्षेत्रमा प्राय: घाम पर्दैन । केही दिनयता बढेको चिसोसँगै मुहान र पाइपमा पानी जमेको हो । ‘मुहानमै पानी जम्छ । घाम लाग्दा आइस टक्टक्याएर पानी सप्लाइ खोल्न कोसिस गर्छौं,’ स्थानीय व्यवसायी सुशील पुनले भने, ‘हिउँदका तीन महिना यस्तै समस्या हुन्छ ।’

म्याग्दीका नागी, पुनहिल, चित्रे र गुर्जालगायत अधिकांश माथिल्लो बस्तीमा दिउँसो पारिलो घाम लाग्दा पनि तापक्रम माइनस २ डिग्रीभन्दा तल झरेको छ । साँझ–बिहान तापक्रम अझै घटेर माइनस ६ डिग्रीसम्म पुग्छ ।

खेतबारी र बाटोमा तुषारो जमेर सिसाझैं देखिन्छ । चर्पीमा समेत तातोपानी खन्याएर शौच बस्नुपर्ने अवस्था रहेको स्थानीयले बताए । लेकाली बस्तीको जनजीवन कष्टकर भएको छ । दाउरा बालेर ताप्ने, पानी तताएर मात्र पिउने, तताएकै पानी बस्तुभाउलाई खुवाउने गरिएको छ ।

लेकाली बस्तीमा घर काठ वा ढुंगा–माटोले बनाइने भएकाले तुलनात्मक रूपमा सहरबजारका पक्की घरभन्दा न्याना हुन्छन् । ‘पानी र हिउँ नपरेकाले दिउँसो घरबाहिर निक्लेर घाँस–दाउरा गर्दा ज्यान आफंै तात्छ । साँझ–बिहान भने घर वा गोठ जहाँ भए पनि ठूल्ठूला मुढा बालेर तापिन्छ,’ हिमालमुनिको बस्ती गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भने, ‘हिउँदलाई प्राय: सबैले अन्न, घाँसपात र दाउराको जोहो गरेर राख्छन् । गाईबस्तुलाई पनि न्यानो गोठमा राख्ने गरिएको छ ।’ माथिल्लो क्षेत्रका विद्यालयमा चिसो बढ्दा कक्षाकोठामै आगो बालेरमात्रै पढाउने गरिएको छ ।

नदी किनारका बस्तीमा सिरेटो

पर्वतको कालीगण्डकी किनारमा बालुवा चालेर गुजारा गर्दै आएका कुश्मा–१ मालढुंगाका दिनेश माझीले सातायता काम गर्न सकेका छैनन् । ठिहिर्‍याउने चिसो खप्न नसकेर उनले काम छाडेका हुन् । ‘चिसोले मरियो भने परिवारकै बिचल्ली हुन्छ,’ उनले भने, ‘बरु केही समय ऋणमै चल्नुपर्‍यो भनेर कामै छाडेको हुँ ।’ मालढुंगाकै सरस्वती माझीले चिसो भए पनि गिट्टी कुट्न नछाडेको बताइन् । ‘गिट्टीको भरमा बाँच्नुपर्छ, चिसो भनेर कहाँ सुख पाइन्छ ,’ उनले भनिन्, ‘गिट्टी कुटेर बेच्न पाए दुई–चार पैसो आउँछ । नत्र भोकभोकै परिन्छ, छोराछोरीको मुखमा माड कसरी हाल्नु ?’

१ सय २७ परिवारको बसोबास रहेको मालढुंगाका अधिकांशको बसाइँ नदी किनाराका छाप्रामा छ । धेरैका छानाबाट शीत चुहिन्छ । ‘बिहान उठ्दा ओढ्ने निथ्रुक्कै भिज्छ,’ दिनेशले भने, ‘बाक्लो ओढ्ने किन्न सक्ने हैसियत छैन ।’

चिसिएको मौसमले नदी किनार र लेकाली बस्ती बढी प्रभावित छन् । विभिन्न ठाउँबाट आएर यहाँका आयोजनाहरूमा कार्यरत मजदुर र तिनका परिवारलाई पनि ठन्डीले सताएको छ । मध्यपहाडी लोकमार्गको काममा खटिएका डेढ सय मजदुरको बिचल्ली छ । ‘दैनिक ८ घण्टा काम नगरे हाजिर काटिन्छ,’ सर्लाहीबाट आएका रामनारायण यादवले भने, ‘चिसोले दुई साता भयो काम गर्न सकिएको छैन ।’ पहाडमा तराईको भन्दा बढी चिसो अनुभव भएको उनले बताए । सडक किनारमा त्रिपालमुनि सुत्दै आएका धेरैजसो मजदुर निमोनियाले थलिएका छन् । पर्वतका लेकफाँट, शालिजा, चित्रे, तिलाहार, लुंखु र क्याङलगायतका गाउँमा चिसो निकै बढेको छ ।

पोखरामा यस वर्षकै चिसो

सोमबार पोखरामा यस वर्षकै कम तापक्रम मापन भएको छ । क्षेत्रीय हावापानी कार्यालयका अनुसार बिहान पौने ९ बजेको समयमा चार डिग्री सेल्सियस तापक्रम मापन भएको हो । कार्यालय प्रमुख राजारामप्रसाद ढकालका अनुसार पोखरामा यो चिसो यस वर्षकै धेरै हो । शनिबार र आइतबार ४ दशमलव ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेकामा सोमबार अझै बढेको हो । ‘हिमालमा हिमपात भएको छैन । तर चिसो हावा बहिरहेको छ,’ उनले भने, ‘दिउँसो आकाश खुलेर घाम लागे पनि चिसो बढ्दै गएको छ ।’ बढ्दो सहरीकरण, सवारी चाप, धूलोधूवाँलगायत कारण वायू प्रदूषण भएर पनि चिसो बढेको हुन सक्ने उनको भनाइ छ । पोखरामा यसअघि सन् २०१२ जनवरी १३ मा सबैभन्दा कम शून्य दशमलव ५ डिग्री सेल्सियस न्यूनतम तापक्रम मापन भएको कार्यालयका मौसमविज्ञ सहायक सरोज अधिकारीले बताए । लुम्लेस्थित कृषि हावापानी केन्द्रमा सोमबार न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन भएको थियो ।

(लमजुङबाट आश गुरुङ, म्याग्दीबाट घनश्याम खड्का, पर्वतबाट अगन्धर तिवारी र पोखराबाट लालप्रसाद शर्माको रिपोर्ट)

प्रकाशित : पुस २५, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?