कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेसहारालाई स्कुल जानै सकस

सुदीप कैनी

गोरखा — पुसको ठण्डी, त्रिपाल र कम्बलले ढाकेको अस्थायी टहरा छ । सहिद लखन गाउँपालिकाका–९ नाम्जुङका दाजु बहिनीले त्यहीं आश्रय लिएका छन् । मजदुरीको खोजीमा भारत पसेका बाबु बिरामी भएर उतै थला परे । आमा पनि तीन हप्तादेखि सिकिस्त भएर काठमाडौंस्थित अस्पतालमा उपचार गराइराखेकी छन् । 

बेसहारालाई स्कुल जानै सकस

१६ वर्षीय धनहादुर बराम र बहिनी १३ वर्षीया सोबिता घरधन्दा धानेर स्कुल धाइरहेका छन् । गोठमा भएका गाईवस्तुको स्याहार गर्नु र विद्यालय जानु उनीहरूको दैनिकी बनेको छ । खाने अन्न सकिएपछि छिमेकी यदुबहादुर खड्का जमानी बसेर स्थानीय पसलबाट एक बोरा चामल किनिदिएका छन् । ‘पहिलेदेखि आर्थिक अवस्था कमजोर रहेको परिवारमा बाबुआमा नै थला परेपछि अभावै अभावले घेरेको छ,’ खडकाले भने ।

भूकम्पपछि घर बनाउने पैसा जम्मा गर्न बुद्धिबहादुर बराम भारत पसेका हुन् । ‘बुवाको साथीले फोन गर्छन्,’ छोरा धनबहादुरले भने, ‘बुवा त बोल्दा पनि बोल्नुहुन्न ।’ आमा सुकमायालाई विवाहित दिदीले उपचार गर्न लगेको उनले बताए । उपचार खर्च नभएर छिमेकी खडकाले सुकमायालाई दुई हजार सापटी दिएका थिए । ‘टहरोमा बसेर आमा झन बिरामी पर्नुभयो,’ उनले भने, ‘खप्नै नसक्ने भएपछि उपचार गर्न जानुभएको हो ।’

बाआमा नै नभएपछि उनीहरू डरले छिमेकीको घरमा सुत्न जान्छन् । ‘टहरोमा शीत चुहिन्छ, चिसो हावा चलेर रातभरि सुत्न सकिँदैन,’ सोबिताले भनिन्, ‘चिसोले रूघाखोकी लागेको छ ।’ भात पकाउने, गाईवस्तुलाई घाँसपात गर्दा पढ्न पनि नभ्याउने उनीहरूले बताए । खडकाले भने, ‘गाईवस्तु किलाको किलै भएर मर्न लागिसके । पाल्ने मान्छे छैन, बेच्नुपर्ने अवस्था छ ।’ बिदाको दिन छिमेकीको काममा सघाएर दुई बालबालिकाले पढाइ खर्च जुटाउने गरेका हुन् । ‘बाआमा हुँदा पनि मेलापात गरेर छोराछोरी पढाएका थिए, एक हलको मेलोभन्दा जग्गाजमिन छैन,’ उनले भने ।

भूकम्पले घर भत्केपछि बराम परिवार तीन वर्षदेखि टहरामा बसेको हो । अनुदानको पहिलो किस्ता पाए पनि घर बनाउने पैसा नपुगेर श्रीमान कमाउन गएका थिए । ‘५० हजार पनि बाआमाको उपचार खर्चमा सकियो,’ धनबहादुरले भने ।

छिमेकी आसपासका सबैले घर बनाउन थाले पनि उनको परिवारमा भने अन्योल छ । ‘घरमा सबै जना सञ्चोआराम हुने, बस्नलाई न्यानो घर हुने भए खुसी भएर पढ्न पनि आउथ्यो,’ उनले भने ।

प्रकाशित : पुस २६, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?