कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हत्या घटनाले स्थानीय त्रसित

रूपन्देहीको देवदहमा एक वर्षको अवधिमा दुई चर्चित युवाको हत्या भएपछि स्थानीय त्रासमा
अमृता अनमोल

बुटवल — पछिल्लो एक वर्षमा दुई युवाको हत्या भएपछि देवदहवासी त्रसित छन् । युवा संघ रूपन्देही अध्यक्ष दुर्गा तिवारी हत्याको वर्ष नपुग्दै गत शुक्रबार अर्का व्यवसायी वसन्त पौडेलको हत्या भयो । व्यवसायसँगै यी दुवै एमाले राजनीतिमा संलग्न थिए ।

हत्या घटनाले स्थानीय त्रसित

दुवैजनाको घर करिब २ सय मिटर दूरीमा छ । गोली हानी हत्या भएको स्थान पनि त्यत्तिकै फरकमा छ । दिनदहाडै युवाको हत्या भएपछि स्थानीयवासीमा त्रास बढेको छ । ‘लाऊँलाऊँ र खाऊँखाऊँको उमेरका २ युवाले अनाहकमा ज्यान गुमाए,’ लीलाधर पौडेलले भने, ‘यी दुई घटनापछि हामी निकै त्रासमा छौं ।’

तीनतिरबाट घना जंगलले घेरिएको देवदह सुरक्षाका दृष्टिले पहिल्यैदेखि असुरक्षित क्षेत्र हो । यहाँ आपराधिक घटना गराएपछि सहजै भाग्न सक्ने नाका छन् । सुरक्षाकर्मीको उपस्थिति पनि न्यून छ । खैरेनीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) नेतृत्त्वमा १९ जना सुरक्षाकर्मी कार्यरत छन् । उनीहरू राजमार्ग क्षेत्रमै व्यस्त हुँदा देवदहतर्फ ध्यान दिन नभ्याएको स्थानीयले बताए ।

देवदहमै इलाका प्रहरी कार्यालय र घटनास्थल ढेकाबारमा अस्थायी प्रहरी चौकी स्थापनाको माग पुरानै हो । ‘उतिबेला प्रहरी प्रशासनले तत्काल प्रहरी कार्यालय खोल्छौं भन्यो,’ अर्का युवा नारायण भट्टराईले भने, ‘पछि बेवास्ता गरेकै कारण घटना दोहोरियो ।’ हत्यामा संलग्न भएको भनिएका मनोज पुनको घर पनि देवदहमै पर्छ । उनी करिब डेढ वर्षदेखि गाउँमा छैनन् । मलेसियामा रहेको बताउँदै उनले बारम्बार स्थानीय व्यवसायी र सञ्चारकर्मीलाई फोन गर्छन् । हत्या र लुटपाटमा अरूलाई खटाउँछन् । प्रहरीले पटक–पटक उनकी पत्नीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

रूपन्देही प्रहरी प्रमुख एसपी श्याम ज्ञवालीले परिवारलाई नियन्त्रणमा लिँदासमेत उसको कनेक्सन पत्ता लगाउन नसकेको बताए । ‘मलेसियामा छु भन्छ । आईटीको प्रयोग गरेर हत्या–हिंसा फैलाउँछ,’ उनले भने, ‘यो अन्तरदेशीय समस्या हो ।’ उनले आफ्नो तहबाट मनोजलाई पक्राउ गर्न समस्या परेको बताए ।

पौडेल हत्याको अनुसन्धान गर्न आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान टोली सीआईबीले मसिनो गरी घटना अनुसन्धान गरिरहेको जनाएको छ । टोली प्रमुख घनश्याम अर्यालले पीडित पक्ष, घटनास्थल र स्थानीयसँग जोडिएर घटनाबारे अनुसन्धान अगाडि बढाएको बताए ।

पौडेल हत्यापछि देवदहवासीले फेरि सुरक्षाको माग दोहोर्‍याएका छन् । जिल्ला सुरक्षा समितिले खैरेनीस्थित इलाका प्रहरी कार्यालयलाई (क) वर्गको स्थायी बनाउने लिखित प्रतिबद्धता जनाएको छ । आरोपित पुनका नामबाट धम्की पाएकाहरूले सुरक्षा मागेमा थप सुरक्षाकर्मी उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

युवा संघ रूपन्देही अध्यक्ष तिवारी र गत शुक्रबार हत्या गरिएका युवा व्यवसायी पौडेललाई सहिद घोषणा गर्न जिल्ला सुरक्षा समितिले सिफारिस गर्ने निर्णय गरेको छ । सहमतिपछि सोमबार मात्रै पीडित परिवारले पौडेलको दाहसंस्कार गरेका थिए ।

प्रकाशित : पुस २६, २०७४ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?