कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनप्रतिनिधिको कृषि कर्म

ज्योति कटुवाल

दैलेख — नारायण नगरपालिका २ जारकोटकी रत्ना थापा नगर कार्यपालिका सदस्य हुन् । उनको अधिकांश समय कृषिकर्ममै बित्ने गरेको छ । जनप्रतिनिधिका रूपमा गर्नुपर्ने कामबाहेक अरू सबै समय कृषि व्यवसायमै लगाउने गरेको उनी बताउँछिन् । रत्नाका पति क्षेत्रबहादुरले पनि कृषिलाई केही वर्षदेखि व्यावसायिक कर्म बनाएका छन् ।

जनप्रतिनिधिको कृषि कर्म

आफन्तको जग्गा भाडामा लिएर दुई रोपनीमा तरकारी लगाएको उनले बताइन् । ‘खेतबारीको गोडमेल र हेरचाहमा अधिकांश समय बित्ने गरेको छ,’ रत्नाले भनिन्, ‘बिहान तरकारी बेच्न आफैं जान्छु ।’ थापा दम्पतीले कृषिसँगै नारायण नगरपालिकाको चमेना गृह पनि चलाएका छन् । तरकारी बेचेर सकिएपछि क्यान्टिनमा पतिलाई सघाउने उनले बताइन् । विभिन्न संघसंस्थामा आबद्ध रत्नाले सामाजिक कामसँगै कृषि व्यवसाय उत्तिकै महत्त्वमा राखेको सुनाइन् । लामो समय नारायण नगरपालिका २ की वडा नागरिक मच्च संयोजक रहेकी उनी केही समयअघि नगर कार्यपालिका सदस्यमा निर्वाचित भएकी हुन् । ११ वर्षदेखि स्वयंसेविका र समाजसेवालाई उनले निरन्तरता दिँदै आएकी छन् ।

लामो समयदेखि बारीमा अर्गानिक तरकारी खेती गर्दै आएको उनी बताउँछिन् । ‘तरकारीका लागि आवश्यक मल भैंसी र ४ सय कुखुरा पनि पालेकी छु,’ उनले भनिन्, ‘तरकारीबाट मात्र वार्षिक ८ लाखभन्दा बढी कमाएकी छु ।’ तरकारी रोप्ने, गोडमेल गर्नेदेखि बजारमा डोका बोकेर लग्ने आफैंले गर्ने गरेको उनले सुनाइन् । सदरमुकामका केही व्यापारी भने उनको बारीमै गाडी लिएर आइपुग्छन् । मौसमी र बेमौसमी गरी सबै जातका तरकारी फलाउने उनको घरमा लिन आउनेको घुइँचो नै लाग्छ । घरका अन्य सदस्यले पनि उनलाई तरकारीमा सघाउँछन् । ‘जागिरको भन्दा तरकारी र फलफूलबाट राम्रो कमाइ गर्न सकिन्छ । अनावश्यक समय खेर फाल्न मन लाग्दैन,’ रत्नाले भनिन् ।

प्रकाशित : पुस २९, २०७४ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?