कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहतमा मनपरी

कार्यदलमा मुक्त हलिया नेतालाई सहभागी नगराएकामा कार्यक्रमकै विरोध
मोहन शाही

डोटी — मुक्त हलियाका नेताबीच गुटबन्दीले सरकारबाट आउन लागेको पुनस्र्थापना कार्यक्रम प्रभावित भएको छ । नेताहरू सर्वसाधारणलाई उचालेर मुक्त हलियाको हितमा रहेको कार्यक्रमविरुद्ध विवाद गराउने प्रयास गरिरहेका छन् ।

राहतमा मनपरी

मुक्त हलिया प्रत्येकलाई २ लाख रुपैयाँ बराबरको जमिन किन्न भन्दै आएको २ करोडबारे निर्णय गर्न मुक्त हलिया पुनस्र्थापना कार्यदलले शुक्रबार बोलाएको बैठक प्रभावित पार्ने गरी नाराबाजी र विरोध भयो । गत वर्ष पनि विवादकै कारण पुनस्र्थापना कार्यक्रमअन्तर्गत घर निर्माण गर्न जमिन खरिदमा आएको ७४ लाख नेताहरूबीचको विवादले त्यत्तिकै फिर्ता गएको थियो । यस वर्ष पनि सरकारी बजेटमाथि पुन: किचलो भएको छ ।

कार्यदलले मनोगत रूपमा हलियाका नेतालाई सहभागी नगराई निर्णय गर्ने प्रयास गरेको भन्दै सदरमुकाम सिलगढीमा जुलुस प्रदर्शन गरिएको हो । राष्ट्रिय हलिया मुक्त समाज नेपाल डोटी प्रतिनिधिलाई कार्यदलले सहभागी नगराएको भन्दै जिल्ला अध्यक्ष भीम सार्कीले विरोध जनाएका हुन् ।

सार्की तिनै नेता थिए, जसले गत वर्षको बजेटबाट जमिन किन्दा जग्गाधनीसँग कमिसन माग गरेको अडियो सार्वजनिक भएको थियो । शुक्रबार निकालिएको जुलुसविरुद्ध मुक्त हलिया अर्की नेता सीता विक उत्रिन् । उनी राष्ट्रिय हलिया मुक्त समाज नेपाल डोटीकी पूर्वअध्यक्ष हुन् । उनले नेता सार्कीको झूटो प्रलोभनमा फसेर सर्वसाधारणलाई जुलुसमा ल्याएको आरोप लगाइन् । गत वर्षको कार्यदलमा सीता सहभागी थिइनन् भने यस वर्ष सार्की छैनन् । मुक्त हलियाका अर्का नेता हुन्, डम्बर विक । उनले राष्ट्रिय हलिया मुक्त समाज नेपाल डोटीको समानान्तर संस्था खडा गरेका छन् । कमिसन मागेर पीडित हलियाको नाममा आएको बजेट फिर्ता गराउने सार्कीलाई कारबाही हुनुपर्ने उनको अडान छ । नेताहरूबीचको गुटबन्दीबारे मुक्त हलियालाई भने जानकारी छैन । उनीहरूले आफूलाई पुनस्र्थापना गर्ने नाममा पटकपटक रुपैयाँ उठाएर नेताहरूले खाइदिएको आरोप लगाए । जुुलुसमा सहभागी दिपायल सिलगढी नगरपालिका पाकरीकी जमुना विकले पटकपटक नेताहरूले मुक्त हलियाबाट पैसा उठाइएको तर हकअधिकार र राहत आउँदा व्यक्तिगत लडाइँ गरेको आरोप लगाइन् ।

डोटीमा १ हजार ३ सय २१ मुक्त हलिया लगत रहेकामा १ हजार ४१ ले मात्र परिचयपत्र लिएका छन् । यो वर्ष सय मुक्त हलियाको घर निर्माणमा लागि जमिन खरिद गर्न २ करोड बजेट विनियोजन भएको छ । गत वर्ष पनि पुनस्र्थापना कार्यक्रमअन्तर्गत ३७ जनाको सामूहिक बस्ती निर्माण उद्देश्यले जमिन किन्न आएको ८४ लाखमध्ये ७४ लाख विवादकै कारण फ्रिज भएको थियो । मुक्त हलिया नेता, मालपोत कर्मचारी र जग्गाधनीबीच चलखेल भइरहेको अडियोसहितको रहस्य सार्वजनिक भएपछि आन्दोलन चर्केको थियो । हलियाले आफूहरूको जमिन खरिदमा दलाल पसेको आरोप लगाउँदै स्वतन्त्र रूपमा काम गर्न पाउनुपर्ने माग राखेका छन् ।

प्रकाशित : पुस २९, २०७४ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?