आमाको दूध नपाउँदा कुपोषण

१४ महिनाका बालकको तौल साढे ३ केजी मात्र, अर्को बच्चामा पनि उस्तै समस्या
अवधेशकुमार झा

राजविराज — जिल्ला अस्पताल सिरहाबाट रेफर गरी पठाइएका १४ महिने एक बालकलाई देखेर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालस्थित पोषण पुन:स्थापना गृहका कर्मचारी अचम्मित बने । 

१४ महिनाका कुपोषित अमित (तल) तथा १ महिने महेशसहित कञ्चनदेवी पोषण पुन:स्थापना गृहमा ।

ती १४ महिने बालक अमितको तौल साढे ३ केजी मात्र भएपछि अस्पतालले कडा कुपोषणवाट ग्रसित भएको भन्दै पोषित बनाउन रिफर गरेको हो । सिरहा नगरपालिका कल्याणपुरमा भिनाजुका घरमा बस्दै आएकी कञ्चनदेवी कुर्मीले १४ महिनाअघि स्वस्थ जन्माएकी अमितको तौल नबढेपछि उनमा कडा कुपोषणको समस्या देखिएको हो ।
कञ्चनदेवीको माइती विहारको लौकहा हो । उनको विवाह पनि माइतीनजिक विहारमै भएको हो । तर, ४ महिनाअघि पति विपिन कुर्मीले छाडेपछि बेसहारा बनेकी कञ्चन कल्याणपुरमा भिनाजु नरेश कुर्मीको घरमा बस्दै आएकी छन् ।
विवाह भएको केही दिनमै गर्भवती भएकी कञ्चनले १४ महिनाअघि पहिलो सन्तानका रूपमा अमितलाई जन्म दिएकी थिइन् । अमित जन्मँदै साढे ३ केजीका थिए । आमाको दूध खाँदै तौल बढ्दै गएका अमित ३ महिनापछि कुपोषित हुन थाले । कारण थियो उनकी आमा कञ्चन पुन: गर्भवती हुनु । अमित जन्मिएको ३ महिनापछि नै कञ्चन गर्भवती भएपछि दूध खुवाउन सक्ने अवस्थामा थिइनन् । पोषण पुन:स्थापना गृह राजविराजकी प्रमुख रश्मी झाका अनुसार एउटा बच्चा जन्मिएको अढाइ वर्षसम्म आमाको दूध खुवाउनुपर्ने हुन्छ । आमाको दूध बच्चाका लागि पौष्टिक आहार हो । एउटा बच्चा जन्मिएको कम्तीमा ३ वर्षपछि मात्र अर्को सन्तानको चाहना राख्नु उचित हुने झा बताउँछिन् । तर, कञ्चन १४ महिनाकै फरकमा दोस्रो सन्तानकी आमा बनेकी छन् । उनको काखमा १ महिनाका महेश पनि छन् ।
तर, कञ्चनको पहिलो सन्तान अमित आमाको दूधको स्वादसँगै तौल बढाउँदै गर्दा उनको सबैभन्दा पोसिलो खाना छुट्यो । अमित जन्मिएको ३ महिनामै कञ्चन गर्भवती भएपछि उनमा कुपोषणको लक्षण देखिन थाल्यो । उनका हातखुट्टामा हड्डी मात्रै देखिन थाल्यो । पेट सुन्निएको अवस्थामा तर कम्मरमुनिको भाग असामान्य देखिन थाल्यो । कञ्चनदेवी भन्छिन्, ‘मेरो दूध आउन छाडयो, पतिले गर्भवती अवस्थामा घर निकाला गरिदिए, अमितलाई न दूध खुवाउन सकें न त अन्य केही खाना नै ।’ आफ्नो दूध वा अन्य पौष्टिक आहाराको अभावमा कुपोषित भएका अमितलाई आर्थिक अभावमा उपचार गराउन नसकेकी कञ्चन २ दिनअघि मात्र उपचारका लागि सिरहा जिल्ला अस्पतालमा भर्ना गरेकी थिइन् । अस्पतालमा डाक्टरले अमितलाई कडा कुपोषण भएको भन्दै पोषणसहितको उपचारका लागि रेफर गरेको थियो । पोषण पुन:स्थापना गृह प्रमुख झाका अनुसार आवश्यक मात्रामा आमाको दूध नपाउनु, जन्मेको ३ महिनामै गर्भवती हुँदा आमाको दूध छुट्नु, अन्य कुनै पौष्टिक तत्त्व नपाउनुलगायत कारणले अमितमा कडा खाले कुपोषण भएको हो । अमितको उपचारमा संलग्न बालरोग विशेषज्ञ डा. सरोजकुमार यादवका अनुसार कडा खालको कुपोषणको लक्षण देखिएको र अन्य परीक्षणबाट थप बताउन सकिनेछ ।
‘अमित जन्मिँदा घरमा ठीकै थियो, उनी ३ महिनाका हुँदा फेरि गर्भ रहयो, दूध आउन छाडयो । पतिले बच्चाका लागि वैकिल्पक व्यवस्था गरेनन् । दूध नहुँदा अमितकै पालनपोषणमा समस्या हुँदा पनि फेरि गर्भवती भएको केही दिनमै पतिले घर निकाला गरे,’ उनले भनिन्, ‘कडा कुपोषणबाट ग्रसित अमितसँगै एकमहिने काखे महेशलाई पनि पाल्न समस्या छ ।’
एउटा काखे बालकलाई पाल्न गाह्रो हुँदा पतिले गर्भवती बनाउँदै घर निकाला गरेपछि नेपाल आएर दिदीभिनाजुकोमा शरण लिएर बसेको उनले बताइन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्

प्रदेश सांसदमा मुसहर

भरत जर्घामगर

सिमलटोकी (सिरहा) — सामान्य अक्षर मात्र खुट््याउन सक्ने ३९ वर्षीया फुलियादेवी सदाय मुसहरले राजनीतिमा लाग्ने कल्पनासमेत गरेकी थिइनन् । तर, जतिबेला ‘जनयुद्ध’ सुरु भयो, तिनै फुलियाको परिवार प्रत्यक्ष रूपमा जोडिन बाध्य भयो । पार्टीमा लागेका पति महेन्द्रको २०६२ मा मृत्यु भएपछि उनी राजनीतिसँग जोडिइन् । र, कल्पनासम्म नगरेको समानुपातिकतर्फबाट दलित मुसहर समुदायबाट महिला प्रदेशसभा सदस्य भइन् ।

फुलियादेवी सदाय मुसहर

सिरहा डुमरीकी फुलियादेवी प्रदेश सांसद भएसँगै खुसी हुनु स्वाभाविक हो । ‘सुरुमा विश्वासै भएन,’ उनी भन्छिन्, ‘पार्टीको जिम्मेवारी तोकेको छ ।’ माओवादी जनयुद्ध सुरु भएपछि उनका पति भूमिगत भए । एसएलसी उत्तीर्ण महेन्द्र गाउँघर ट्युबवेल गाड्ने मिस्त्री थिए । स्थानीय लालीगुराँस क्लबमार्फत जनचेतनामूलक सडक नाटकका कलाकार पनि थिए । उनका २ छोरी, १ छोरा छन् ।
क्षेत्रीय इन्चार्ज हुँदै कम्पनी कमिसार भएका महेन्द्र सिरहा तेनुवापट्टी शिवनगरमा बम बनाउने क्रममा विस्फोटमा परेका थिए । त्यहाँ उनीसँगै कचनारीका शिवकुमार यादव, अमहीका राजेन्द्र महतो, मथियाहीका रुदल महतोसहित ५ जनाको मृत्यु भएको थियो । ‘धेरै दु:ख कष्ट सहें, पतिको मृत्युपछि कठोर भएछु,’ उनले भनिन्, ‘पार्टीको कार्यक्रममा पनि नियमित जान थालें ।’
सांसदमा सिफारिस भएपछि उनको घर र गाउँमा पनि चहलपहल बढेको छ । जनयुद्धमा महेन्द्रका दौंतरी बर्छवाका रामविलास सदाय मुसहर, रामप्रताप महरालगायत कार्यकर्ता पनि फुलियाकै घरमा भेटिए । ‘चुनाव आएपछि समानुपातिकमा नाम सिफारिस भयो,’ उनले भनिन्, ‘सांसद हुन्छु भन्ने सोचेकी थिइनँ तर पार्टीले सहिद परिवारको सम्मान गरेको छ ।’
९० प्रतिशत भूमिहीन सुकुम्बासी दलितमध्ये पनि अति पिछडिएको समुदायमा मुसहर पर्छ । २०६८ को जनगणनाअनुसार मुसहर समुदायको जनसंख्या २ लाख ३४ हजार ४ सय ९० छ । तीमध्ये सिरहामा ३९ हजार ९ सय २९ मुसहर समुदायको बसोबास छ । उनले मुसहर समुदायको बासका लागि थातथलो तथा आवास व्यवस्था मिलाउने बताइन् ।

प्रकाशित : पुस ३०, २०७४ ०७:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्