कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विशेषज्ञ पठाउन आनाकानी

जाजरकोट अस्पताल
 ९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको जाजरकोटमा अहिले एक जना पनि छैनन्, यसै कारण यहाँ सामान्य प्रकोप पनि महामारी बन्न पुग्छ 
भीमबहादुर सिंह

जाजरकोट — जाजरकोट जिल्ला अस्पताल १५ बाट ५० शय्यामा स्तरवृद्धि भएको २ वर्ष बित्यो तर सेवासुविधा झन् खस्किएको छ । स्थानीय बासिन्दा गुणस्तरीय स्वास्थ्योपचार पाउनबाट वञ्चित छन् । स्तरवृद्धि गरिए पनि अस्पतालमा विशेषज्ञ चिकित्सक, उपकरण, भौतिक पूर्वाधार पर्याप्त छैनन् । शल्यक्रियासहितको प्रसूतिसेवासमेत सञ्चालनमा आउन सकेको छैन । 

विशेषज्ञ पठाउन आनाकानी

स्वास्थ्य मन्त्रालय नै जिल्ला अस्पतालमा दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक पठाउन उदासीन देखिएको छ । स्वास्थ्यसचिव पुष्पा चौधरी जाजरकोट अस्पतालमा विशेषज्ञ चिकित्सक पठाउन सकिने अवस्था नरहेको बताउँछिन् । काठमाडौं, पोखरा, नेपालगन्ज, विराटनगरलगायत सहरी क्षेत्रबाहेकका अस्पतालमा विशेषज्ञ डाक्टर पठाउन चुनौती रहेको उनको भनाइ छ । ‘नेपालमा विशेषज्ञ डाक्टरको अभाव छ, त्यसैमा उनीहरू दुर्गम जिल्ला आउन मान्दैनन्,’ शनिबार सदरमुकाम खलंगामा आयोजित अन्तरक्रियामा उनले भनिन्, ‘मन्त्रालयले जबरजस्ती गरेर चिकित्सकलाई दुर्गम जिल्लामा खटाउन सक्दैन ।’ जुनीचाँदेमा फैलिएको भाइरल प्रकोपको अवस्थाबारे जानकारी दिन आयोजित उक्त अन्तरक्रियामा स्थानीयले चौधरीसँग जिल्लामा तत्काल विशेषज्ञ चिकित्सक पठाउन माग गरेका थिए ।

चौधरीसहितको टोली भाइरल प्रभावित क्षेत्रको अनुगमनका क्रममा खलंगा पुगेको थियो । सचिव चौधरीको यस्तो अभिव्यक्तिपछि स्थानीय थप चिन्तित बनेका छन् । ‘जाजरकोटका बासिन्दाले घरछेउमै ५० शय्याको स्वास्थ्य सुविधा कहिले पाउने ?’ प्रजिअ पुष्पराज शाहीले भने, ‘स्तरवृद्धि गर्ने तर त्यसअनुसार सेवासुविधाको व्यवस्था नगर्नु स्वास्थ्य मन्त्रालयको गैरजिम्मेवारी हो ।’ चिकित्सक अभाव हुँदाहुँदै अस्पतालमा कार्यरत डा. चाँदनी जैसवाललाई विभागमा काजमा राखेर मन्त्रालयले नौटंकी गरेको उनले आरोप लगाए । मेडिकल सुपरिन्टेन्डेन्टसमेत रहेकी जैसवालको काज फिर्ता गराउन प्रशासनले पटकपटक मन्त्रालयमा ताकेता गरेको थियो । ‘भाइरल प्रकोप फैलिएका बेलासमेत चिकित्सकको काज फिर्ता गरिएन, अस्पताल लथालिङ्ग अवस्थामा छ । कार्यालय प्रमुखको जिम्मेवारी कसैलाई दिइएको छैन,’ शाहीले भने, ‘जाजरकोटका जनताको स्वास्थ्यप्रति मन्त्रालय गम्भीर देखिएन ।’

विशेषज्ञ र पूर्वाधार अभावमा यहाँ सामान्य रोग पनि महामारी बन्ने गरेको छ । निमोनिया, जटिल प्रकृतिको प्रसूतिसेवा आवश्यक पर्ने र हातखुट्टा भाँचिएका बिरामीलाई उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालका लागि ९ विशेषज्ञ चिकित्सक, ४ मेडिकल अधिकृत र ४६ सहायक स्तरका स्वास्थ्यकर्मीको दरबन्दी सिर्जना भएको थियो । अहिले ११ औं तहको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट, बालरोग, स्त्रीरोग, मानसिक रोग, जनरल फिजिसियन, रेडियोलोजिस्ट, हाडजोर्नी, जनरल सर्जन र एनेस्थेसियासमेत ९ विशेषज्ञ चिकित्सकसहित २९ स्वास्थ्यकर्मीको दरबन्दी रिक्त छ ।

भाइरलले थप एकको मृत्यु

जुनीचाँदे गाउँपालिकामा फैलिएको भाइरल इन्फ्लुएन्जाबाट थप एक जनाको ज्यान गएको छ । जुनीचाँदे(२ धुल्जडाका ६० वर्षीय तुलबहादुर खडकाको मृत्यु भएको हो । उनी ४ दिनदेखि भाइरल ज्वरोले ग्रस्त थिए ।

उपचार नपाएकै कारण खडकाको ज्यान गएको वडाध्यक्ष रामबहादुर नेपालीले बताए । योसहित जुनीचाँदेमा भाइरलबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । उक्त बस्तीमा तीन सातादेखि प्रकोप फैलिएको छ ।

यद्यपि पछिल्ला दिन प्रकोप नियन्त्रण उन्मुख देखिएको छ । स्वास्थ्य संस्था र अस्थायी स्वास्थ्य शिविरमा बिरामीको चाप घटेको छ । शिविरमा बिरामी आधा घटेको डा. पवन शाक्यले जानकारी दिए । ‘शनिबारदेखि भाइरलका बिरामी फाटफुट मात्र आएका छन्,’ उनले भने, ‘सामान्य रुघाखोकी, दम, निमोनिया, छातीको इन्फेक्सनलगायत समस्याका बिरामी भने उत्तिकै छन् ।’ आइतबार बडकुले र भैरव मावि मजकोटमा गरी १ सय ५० जना बिरामी आएकोमा रुघाखोकी तथा ज्वरोका १५/२० जना मात्र रहेको शाक्यले जानकारी दिए ।

जुनीचाँदे(१ बडकुलेमा ज्वरोबाट पीडित बालबालिकाको संख्या २ दर्जनभन्दा बढी रहेको वडाध्यक्ष चन्द्रबहादुर शाहीले बताए । उनका अनुसार शनिबारसम्म १ हजार ९ सय बिरामीको उपचार भएको छ । जाडो, दूषित पानी, सरसफाइको कमी, पोषण अभावजस्ता कारणले भाइरल फैलिएको शाहीको भनाइ छ । यसैबीच जुनीचाँदेमा विभिन्न संघसंस्थाले न्यानो कपडा वितरणको तयारी गरेका छन् । सामाजिक संघसंस्थाले वृद्धवृद्धा र बालबालिकाका लागि कम्बल, जकेट, टोपी, मोजा वितरण गर्न लागेका हुन् ।



थन्किए उपकरण

बागलुङ– सरकारले गत वैशाखमा मृगौलापीडितको नि:शुल्क डायलासिसका लागि धौलागिरि अञ्चल अस्पताललाई प्रदान गरेका उपकरण थन्किएका छन् । ९ महिनादेखि मेसिन प्रयोगमै आएका छैनन् । बिरामी भने हजारौं खर्चेर उपचारका लागि पोखरा र काठमाडांैलगायतका सहरमा धाइरहेका छन् ।

अस्पताल प्रशासनले दक्ष स्वास्थ्यकर्मी अभावमा मेसिन सञ्चालन गर्न नसकेको जनाएको छ । ‘मन्त्रालयले आवश्यक दरबन्दी नदिएपछि हामीले समयमै सञ्चालन गर्न सकेनौं,’ मेडिकल सुपरिन्टेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले भने, ‘अस्पतालमै कार्यरत दुई स्वास्थ्यकर्मीलाई तालिममा पठाएका छौं । फर्केपछि सञ्चालन गर्न सकिएला ।’

मेसिन सञ्चालन आउने आसमा धौलागिरी अञ्चल अस्पतालमा ३० जना बिरामीले उपचार गराउन निवेदन दिएका छन् । तर, मेसिन सञ्चालनमा नआउँदा अन्य जिल्लामा गई उपचार गर्न बाध्य छन् । ‘बुबालाई ६ महिनादेखि पोखरामा राखेर उपचार गराइरहेको छु,’ जैमिनी–१ का देव शर्माले भने, ‘बुबाको कुरुवा बस्नुपर्छ । जागिर बागलुङमा भएपछि सास्ती खेपिरहेको छु ।’

७३ वर्षीय बिरामी लक्ष्मीप्रसाद आचार्यका छोरा देव र बुहारीले पालैपालो पोखरामा कुरुवा बसेर उपचार गराइरहेको गुनासो गरे । उनले आर्थिक व्ययभारभन्दा पनि कुरुवा बस्ने समस्या बढी भएको बताए ।

मृगौलाको उपचार नि:शुल्क गर्ने सरकारको निर्णयअनुसार बागलुङमा २ वटा डायलासिस मेसिन आएका थिए । मेसिन सञ्चालन गर्न कम्तीमा तीन महिना तालिम गरेको दक्ष स्वास्थ्यकर्मी आवश्यक पर्छ । ‘नि:शुल्क सेवा त पाइएन, बागलुङमै भएका मेसिन पनि चलेनन्,’ शर्माले भने, ‘मेरो परिवारको दोहोरो बसाइँले जागिरै धरापमा परिसकेको छ ।’

अस्पतालले सेवा थाल्न मानव अंग प्रत्यारोपण केन्द्रबाट एकजना दक्ष कर्मचारी माग गरेर पत्राचार गरे पनि मन्त्रालयले नपठाएपछि मेसिन थन्किएको जनायो । लामो समयदेखि थन्किएको मेसिनमा खराबी आउन सक्ने स्वास्थ्यकर्मीले बताए ।

अस्पतालमा उपचार सेवा दिने पर्याप्त भवनको पनि अभाव छ । ‘दक्ष पनि आएनन्, भवन पनि अभाव छ,’ डा. राजभण्डारीले भने, ‘प्रशासनका कर्मचारीलाई छाप्रो बनाएर राखेका छौं । मेसिन भने जसरी पनि चलाउने व्यवस्था भइरहेको छ ।’

दक्ष स्वास्थ्यकर्मी नपाएकोले अस्पतालका कर्मचारीलाई तीनमहिने तालिममा पठाएको उनले बताए । अस्पतालमा दरबन्दी भएका विशेषज्ञ डाक्टर पनि नभएकोले धेरै सेवा अवरुद्ध छन् । सात वर्षदेखि निर्माणाधीन भवन अझै पूरा भएका छैनन् । तीनवटा भवनमध्ये २०६९ मा बनेको पहिलो भवनबाहेक दुईवटा अलपत्र छन् ।

अहिले अस्पतालले हाडजोर्नी, हाइड्रोसिल, एपेन्डिसाइट र सुरक्षित सुत्केरीका लागि अपरेसन सेवा दिँदै आएको छ । दरबन्दीमा आएका तीन विशेषज्ञ डाक्टर तीन महिना नबित्दै ठूला सहरी अस्पतालमा फर्केपछि सेवामा समस्या भएको हो । ‘एउटा मन्त्रीले अस्पताललाई महत्त्व दिएर सरुवा गरी पठाउँछन्, अर्को मन्त्री आउन नपाउँदै ती डाक्टरहरू काजमा जान्छन्,’ मेसु डा. राजभण्डारीले भने, ‘अस्पताल प्रशासनलाई जानकारीसमेत नगराई उनीहरू फर्कने गर्छन् ।’

प्रकाशित : माघ १, २०७४ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?