कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओढारमा पूर्वलाहुरेको बास 

भच्चेक (गोरखा) — जागिरमा अझै ‘लाहुरे’ आकर्षक पेसा मानिन्छ । बहालमा हुँदा र अवकाशपछि पनि अधिकांशको दिनचर्या सुखसयलमै बित्छ । अजिरकोट गाउँपालिका–२ खरिबोट सिस्नेका पूर्वलाहुरे स्यादुरे तामाङ भने ४० वर्षदेखि ओढारमा बस्छन् भन्दा पत्याउनै मुस्किल पर्छ ।

ओढारमा पूर्वलाहुरेको बास 

६० वर्षअघि उनको निकै रबाफिलो जिन्दगी थियो । भारतीय सेनामा काम गर्थे । कुनै कुराको कमी थिएन । अहिले जंगलको कन्दमूल र स्थानीयवासीले दिएका खानेकुरा खाएर पेट पालिरहेका छन् । हंसपुर भच्चेक बजार नजिकै जंगलभित्र ओढारमा भेटिएका उनको शरीरमा कपडा थिएन । बोरामा सुतेर आगो तापिरहेका थिए । प्लास्टिकको भाँडामा मोही थियो । अरू खानेकुरा केही थिएन ।

ओढारमै मान्छे पुगेपछि उनी झस्किए । जाडाले कामिरहेका थिए । हातखुट्टा कटकटिएका थिए । चिसोले दाउरा नबलेर धूवाँ आइरहेको थियो । फुफु गर्दै जाडो भगाउन आगो जोर्दै थिए । आफ्नो आश्रयमै नौला मान्छे पुग्दा झट्ट बोलेनन् । कम्बल ओढेर चुरोट सल्काए । ‘मेरो घर नै यही हो, ४० वर्षदेखि यहाँ बसेको छु,’ उनले जवाफ फर्काए ।

हंसपुरदेखि खरिबोटसम्मका २/३ वटा ओढारमा उनी आलोपालो सर्दै बस्छन् । भोक लागे बस्ती पस्छन् । गाउँलेले केही दिइहाले खान्छन्, नदिए माग्ने र चोर्ने गर्दैनन् । घरमा पत्नी र छोरी भएको उनले बताए तर स्थानीय भीमलाल तामाङले ४० वर्षअघि नै उनलाई परिवारले छाडेर अन्यत्र गएको बताए । ‘लाहुरे जागिर बीचैमा छाडेर स्यादुरे गाउँ फर्के, गाउँमा आएपछि मानसिक समस्या देखियो । उपचार पाएनन्, परिवारले वास्ता गरेन,’ उनले भने, ‘एक्लै भएपछि ओढारको बास हुन थाल्यो ।’

मानसिक समस्याको बेलैमा उपचार नपाउँदा उनको परिवार लथालिंग भएको स्थानीयले बताए । अजिरकोट गाउँपालिकाका प्रमुख फणिन्द्र धिताल खरिबोटकै स्थानीय हुन् । ‘चिनेका जति सबैलाई सम्धी भनेर बोलाउँछन्, आफ्नै लहडमा ओढार र जंगल डुलेर हिँड्छन्,’ उनले भने, ‘बेलैमा उपचार पाएको भए ठीक हुन्थ्यो होला तर उनले अहिलेसम्म अस्पताल देखेका छैनन् ।’ ६० वर्षदेखि तामाङ गाउँ छाडेर अयन्त्र गएका छैनन् । ओढारमा बस्न थालेको थाहा पाए पनि उनलाई घर फर्काउने प्रयास कसैले गरेनन् ।

प्रकाशित : माघ ३, २०७४ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?