कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मान्मका भवन भूकम्प प्रतिरोधी बन्ने

काठमाडौँ — कालिकोट– खाडाचक्र नगरपालिकाले भूकम्पप्रतिरोधी भवन बनाउने प्रतिबद्धता जनाएको छ । ‘सबल समुदाय र स्थानीय सरकार, भूकम्पीय सुरक्षाको बलियो आधार’ नारासाथ मंगलबार मान्ममा आयोजित २० औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा नगर प्रमुख जसीप्रसाद पाण्डेले नगरभित्रका सबै घर भूकम्पप्रतिरोधी बनाउने बाचा गरे ।

मान्मका भवन भूकम्प प्रतिरोधी बन्ने

नगरभित्रका सरकार, निजी र समुदायिक सबै भवनलाई यसै आवबाट भूकम्पप्रतिरोधी बनाउने अभियान थालिने प्रतिबद्धता प्रमुख पाण्डेले जनाए । ‘नगरभित्रका जीर्ण र पुराना घर भत्काउन लगाएर भूकम्पप्रतिरोधी बनाउन प्रत्येक वडामा अभियान थाल्नेछौं,’ उनले भने, ‘खाडाचक्र बजारका ७० प्रतिशत घर जोखिमयुक्त छन् ।’

नगरका सबै घरलाई नक्सा पास गर्न लगाएर प्राविधिकको सल्लाहअनुसार काम गर्न अनुरोध गरिने उनले बताए । खाडाचक्र नगरमा पर्ने मान्म, बदालकोट, दाहा, पाखा र भर्ताको पोरिपाल्नीका सबै बस्तीमा भूकम्पीय सुरक्षाबारे समुदायमा सचेतनामूलक अभियानसाथ निर्माण गरिने पूर्वाधारमा नगरपालिकाले दक्ष प्राविधिकको सहयोगमा सरकारी, सार्वजजिक र व्यक्तिगत घर निर्माणमा ध्यान दिने उपप्रमुख विजया विष्टले बताइन् ।

भूकम्पीय सुरक्षासम्बन्धी अन्तरसंवाद, विद्यार्थीबीच निबन्ध प्रतियोगिता, देउडा, भूकम्प आएपछि हुने मानवीय क्षतिमा उद्धार र प्राथमिक उपचारलगायत सचेतना कार्यक्रमसहित सातादेखि भूकम्प सुरक्षा सप्ताह मनाएको जिल्ला दैवीप्रकोप उद्धार समिति अध्यक्ष एवं निमित्त प्रजिअ राजकुमार दुलालले बताए ।

विपदका दृष्टिले उच्च जोखिम कालिकोटका अधिकांश घर भिरालो जमिनमा रहेकाले भूकम्पको एकै झड्कामा सबै ध्वस्त हुने सम्भावना रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर कम्मरबहादुर बमले बताए । उनले खाडाचक्र नगरसहित अन्य गाउँपालिकामा भूकम्पप्रतिरोधी भवन निर्माण गर्न कालिकोटका सबै प्राविधिक मिलेर कच्ची र पक्की घरमा नमुना प्रदर्शन गरिएको जानकारी दिए । खाडाचक्र नगरसहित सबै सरोकारवालाले भूकम्पीय जोखिम कम गर्न बलिया भौतिक संरचनासहित गैरसंरचना निर्माणमा सचेत रहने सामूहिक प्रतिबद्धता जनाए ।

नयाँ संरचनापछि बनेको सदरमुकाम खाडाचक्र नगरपालिकाका ३ वडामा मात्र आफ्नै कार्यालय छन् । ती पनि पहिलेका गाविस भवन हुन् । ८ वडा कार्यालय भाडामा छन् । यहाँका जिसस, प्रहरी, खानेपानीलगायत सरकारी कार्यालय पनि निर्माणाधीन छन् भने नगरपालिकाको पनि आफ्नो भवन छैन ।


प्रकाशित : माघ ४, २०७४ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?