कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतै खुसियाली, कतै विरोध

तोकिए अस्थायी मुकाम

धनकुटा — प्रदेश १ को अस्थायी मुकाम विराटनगर तोकेको खबरसँगै बुधबार साँझ स्थानीयवासीले सरकारविरोधी प्रदर्शन गरेका छन् । उनीहरूले जिरो प्वाइन्टमा प्रधानमन्त्री र क्षेत्रीय प्रशासकको पुतला दहन गरे । धनकुटालाई प्रदेश राजधानी माग राख्दै पाँच सातादेखि आन्दोलनरत स्थानीयले सरकारले गलत निर्णय लिएको भन्दै जुलुससहित बजार परिक्रमा गरेका छन् ।

कतै खुसियाली, कतै विरोध

यस्तै राजधानीको माग राख्दै केही दिनदेखि जारी आमहडताल भने साँझ ६ बजेपछि स्थगित गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । बिहीबारबाट आन्दोलनका थप र फरक स्वरूपका कार्यक्रम सार्वजनिक गरिने उनको भनाइ छ । बन्द खुलेपछि कोसी राजमार्गको धरान–धनकुटा सडक खण्डमा रोकिएका दर्जनौं सवारी साधन सञ्चालनमा आएका छन् । यस्तै मन्त्रिपरिषद्ले प्रदेश प्रमुखको कार्यस्थल विराटनगर तोक्ने निर्णय गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारअगाडि ‘प्रादेशिक राजधानी धनकुटा अभियान समिति’ ले विरोध प्रदर्शन गरेको छ । सरकारले तत्काल निर्णय फिर्ता लिई धनकुटालाई मुकाम तोक्नुपर्ने माग राख्दै प्रदर्शन गरिएको समितिका विजयसन्तोषी राईले बताए ।


दिपायल तनावग्रस्त

डोटी– सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी तोकेपछि दिपायल तनावग्रस्त बनेको छ । राजधानी माग्दै आन्दोलनमा उत्रेका स्थानीयवासीले बुधबार दिपायलमा ढुंगामुढा गरे । ठाउँठाउँमा टायर बालेर अबेर रातिसम्म पिपल्ला बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरूले केहीबेर इलाका प्रहरी कार्यालय दिपायलको गाडीसमेत नियन्त्रणमा लिएका थिए ।


सरकारले गलत निर्णय गरेको भन्दै कांग्रेसका जिल्ला सचिव, क्षेत्रीय सभापति, नगर सभापतिलगायतले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् । पार्टी सचिव नारायण जोशीले जनभावनाविपरीत कांग्रेसकै सरकार भएका बेला अप्रिय निर्णय गरेकाले नैतिक रूपमा राजीनामा दिई आन्दोलनमा उत्रेको बताए । संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले आन्दोलनलाई थप चर्काउने चेतावनी दिए । नागरिकता लगेर जिल्ला प्रशासनमा बुझाउने निर्णय गरिएको उनले बताए ।


सातादेखि स्थानीय तेज डुम्रेल, डबल साउद र खगेन्द्रप्रसाद भट्ट अनशनमा बसेका छन् । क्षेत्रीय प्रशासन कार्यालयमा नागरिक समाज, व्यवसायी, स्थानीय तहका जनप्रतिनिधि, संघसंस्थाका प्रतिनिधिलगायत धर्नामा बसेका छन् । पूर्वाधार, भौगोलिक केन्द्रविन्दु र ऐतिहासिक दृष्टिले डोटीमा राजधानी बनाउन उपयुक्त रहेको उनीहरूको तर्क छ । उच्च अदालत, सेना र प्रहरीको क्षेत्रीय कार्यालय, सभाहल जस्ता संरचना रहेकाले तत्काल कामकाज चलाउन पनि प्रदेश सरकारलाई यहाँ सहज हुने डोटी बहुमुखी क्याम्पसका प्राध्यापक अर्जुन देउवाले बताए ।


दाङमा आमहडताल घोषणा

दाङ– प्रदेश ५ को अस्थायी राजधानी दाङलाई घोषणा गर्नुपर्ने माग राखी बुधबार जिल्लामा अनिश्चितकालीन आमहडताल सुरु भएको छ । सरकारले बुधबार बुटवललाई मुकाम तोकेपछि आन्दोलन झन् चर्किएको छ । दाङलाई राजधानी तोक्ने निर्णय नहुँदासम्म आमहडताल जारी रहने दाङ प्रादेशिक राजधानी सरोकार समितिका संयोजक नारायण भुसालले बताए । आमहडतालका कारण जनजीवन कष्टकर भएको छ । यातायात, उद्योग, व्यवसाय, शैक्षिक संस्था ठप्प छन् ।


जिल्ला सदरमुकाम घोराहीका साथै तुलसीपुर, लमही, गढवा, भालुबाङलगायत मुख्य बजार बन्द छन् । सडकमा टायर बालेर अवरोध गर्नुका साथै ठाउँठाउँमा प्रदर्शन गरिएको छ ।


प्रदर्शनका कारण पूर्व–पश्चिम राजमार्ग ठप्प हुन पुग्यो । यातायात साधन रोकिँदा लामो दूरीका यात्रु सडकमै अलपत्र छन् । जिल्लाका अन्य भागमा समेत प्रदर्शन गरियो । घोराहीमा आयोजित सभामा कांग्रेस जिल्ला सचिव शंकर डाँगीले दाङ नै प्रदेश ५ को राजधानी बन्न योग्य रहेको दाबी गरे । ‘दाङमा प्रशस्तै सम्भावना हुँदा पनि उपेक्षा गरियो,’ उनले भने, ‘दंगाली जनताको भावनामाथि खेलवाड गरियो ।’ माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज निर्मल आचार्यले दाङ राजधानी घोषणा नभएसम्म आन्दोलन नरोक्ने बताए । ‘दाङ भूगोल, पूर्वाधार र पायक पर्ने हिसाबले केन्द्रमा छ ।


रूपन्देही एक कुनामा पर्छ,’ उनले भने, ‘संघीयतामा जनतालाई सास्ती दिने गरी केन्द्र तोक्नु उचित भएन ।’ एमाले जिल्ला सदस्य विवेक श्रेष्ठले रूपन्देहीलाई राजधानी तोक्ने निर्णय फिर्ता नहुँदासम्म आन्दोलन नरोकिने बताए ।


खुसियालीमा दीपावली

बुटवल– सरकारले प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही तोकेपछि खुसियालीमा स्थानीयले बुधबार साँझ दीपावली गरेका छन् । मुख्य बजार बुटवल, मणिग्राम, मुर्गिया, भैरहवा, लुम्बिनी र देवदहलगायत स्थानमा राजनीतिक दल, सामाजिक तथा व्यावसायिक संघसंस्था र सर्वसाधारणले दीपावली गरेका हुन् ।


एमालेले साँझ ६ बजेदेखि पूर्व–पश्चिम राजमार्ग, उत्तर–दक्षिण राजमार्ग तथा

हुलाकी र भित्री सडकका चोकमा समेत दीपावली गरेको छ । कांग्रेसले पनि बुटवलको ट्राफिक चोकलगायत जिल्लाका विभिन्न क्षेत्रमा दीपावली गरेको छ । यस क्षेत्रका सांसद तथा एमाले उपमहासचिव विष्णु पौडेलले गौतम बुद्धको जन्मस्थल, भौतिक पूर्वाधार, यातायात र विकासको पहुँचलगायतले रूपन्देहीलाई राजधानी तोकिएको बताए । ‘यसले रूपन्देहीवासीलाई मात्रै नभएर प्रदेशवासीलाई नै दीर्घकालीन फाइदा हुनेछ,’ उनले भने । कांग्रेस नेता तथा रक्षामन्त्री बालकृष्ण खाँडले पहुँच, पूर्वाधार र विकासका आधारमा रूपन्देही प्रदेशको राजधानी बनेको बताए ।


उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले पूर्वाधार, पहुँच र एकता सबै हिसाबले रूपन्देही प्रदेश राजधानी बनेको भन्दै अब प्रदेशलाई सबल बनाउन पनि सहज हुने बताए । रूपन्देही बुद्ध जन्मस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बेलहिया नाका, ५ लेन सडक, निर्माणाधीन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र लगायतले प्रदेशकै मुहार फेर्ने सामथ्र्यमा पुगेको उनले बताए ।


सुर्खेतमा स्वागत

सुर्खेत (कास)– सरकारले सुर्खेतलाई प्रदेश ६ को अस्थायी राजधानी र पुराना राजनीतिज्ञ दुर्गाकेशर खनाललाई प्रदेश प्रमुख नियुक्त गरेपछि यहाँ खुसियाली छाएको छ ।


लामो समयपछि बुधबारको मन्त्रिपरिषद् बैठकले अस्थायी राजधानीसँगै सम्बन्धित प्रदेशको प्रमुख नियुक्त गरेको हो । प्रदेश प्रमुख नियुक्तिमा ढिलाइ हुँदा निर्वाचन आयोगले प्रदेशसभा निर्वाचनको परिणाम सार्वजनिक गर्न सकेको थिएन ।


सुर्खेतवासीले सरकारको पछिल्लो निर्णयको स्वागत गरेका छन् । उद्योग वाणिज्य महासंघको प्रदेश कमिटी अध्यक्ष पदमबहादुर शाहीले सुर्खेतमै राजधानी घोषणा र यहीका सम्मानित व्यक्तित्वलाई प्रदेश प्रमुखजस्तो उच्च पदमा नियुक्त गरिएकामा खुसी व्यक्त गरे । ‘यो निकै खुसीको कुरा हो,’ उनले भने, ‘उतिबेला हामीले लडेर प्रदेश ल्यायौं । सरकारले बल्ल बैधानिकता दियो ।’


निकट भविष्यमै बस्ने प्रदेशसभाले पनि सर्वसम्मत रूपमा सुर्खेतलाई नै राजधानी कायम गर्ने उनले विश्वास गरे । सुर्खेतका पर्यटन व्यवसायी चिन्तामणि शर्माले सरकारको निर्णय स्वागतयोग्य रहेको बताए । प्रदेश राजधानीलाई अबका दिनमा पनि विवादित बनाउन नहुने उनको सुझाव छ ।


राजनीतिक दलका नेताहरू, नागरिक समाजका अगुवा, व्यवसायी, सर्वसाधारणले प्रदेशको अस्थायी मुकामसँगै स्थानीय व्यक्तित्व प्रदेश प्रमुखमा नियुक्ति भएपछि हर्षित भएका छन् ।


को हुन् दुर्गाकेशर खनाल ?

प्रदेश प्रमुखमा नियुक्त भएका खनाल कांग्रेसका पुराना नेता हुन् । उनी राष्ट्रिय सभा (०४८(५२) सदस्य हुन् । सुदूरपश्चिमको डोटीमा जन्मे पनि सुर्खेतमै हुर्किए । उनले प्रारम्भिक शिक्षासमेत सुर्खेतबाटै लिए । वीरेन्द्रनगर नगरपालिका ७ निवासी ७१ वर्षीय खनाल गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेस राजनीतिमा निष्क्रियजस्तै थिए ।


पञ्चायतकालमा उनले जिल्ला पार्टीको नेतृत्व गरेका थिए । वीरेन्द्रनगरस्थित घरमै रहेका खनालले प्रदेश प्रमुख नियुक्तिपछि आफूले नितान्त नौलो र ऐतिहासिक जिम्मेवारी पाएको बताए । ‘यसका लागि प्रधानमन्त्रीजीलाई धन्यवाद छ । उहाँकै प्रस्तावमा मेरो नियुक्ति भएको हो,’ उनले भने, ‘नौलो जिम्मेवारी पाएको छु । कानुनविपरीत जाँदिनँ ।’ उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्थापनाका प्रमुख अभियन्तासमेत हुन् ।

प्रकाशित : माघ ४, २०७४ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?