कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

असन्तुष्टि जनाउँदै आन्दोलन

अस्थायी मुकाम विवाद
-धनकुटामा क्षेत्रीय प्रशासनमै आगजनी   -सदरमुकाममा अनिश्चितकालीन निषेधाज्ञा   -प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर   -धनकुटामा १० र दिपायलमा ३ घाइते
कान्तिपुर टिम

काठमाडौँ — धनकुटाका स्थानीय बासिन्दाले राजधानी माग्दै आन्दोलन चर्काएपछि प्रशासनले बिहीबार 
मध्याह्नदेखि लागू हुने गरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । पूर्वमा बिहिबारे हाट, पश्चिम लोकसेवा, उत्तर स्कुलडाँडा र दक्षिणमा जिरो प्वाइन्ट क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको हो ।

असन्तुष्टि जनाउँदै आन्दोलन

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले स्थिति नियन्त्रणमा नआउन्जेल निषेधाज्ञा जारी रहने बताए । ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्न प्रशासन यो कदम चाल्न बाध्य भएको हो,’ उनले भने । निषेधित क्षेत्र घोषणा भएपछि सडकमा हिँड्डुल गर्न नपाइने सूचना जारी गरिए पनि प्रदर्शनकारीले उल्लंघन गर्ने प्रयास गरेका छन् । सरकारले प्रादेशिक अस्थायी मुकाम अन्यत्र तोकेको विरोधमा आक्रोशित जिल्लावासी बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए ।

धनकुटालाई प्रदेश १ को राजधानी घोषणा गर्नुपर्ने माग राख्दै पाँच सातादेखि आन्दोलनमा उत्रिएका स्थानीय विराटनगर अस्थायी मुकाम तोकेपछि झनै आक्रोशित बनेका छन् । प्रदर्शनकारीले प्रशासनले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको आरोप लगाए । प्रशासनले भने आन्दोलनकारीले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउन थालेपछि बल प्रयोग गर्न बाध्य भएको जनाएको छ ।

निसानामा सरकारी कार्यालय

सयौंको संख्यामा रहेका प्रदर्शनकारीले सरकारी कार्यालयलाई निसाना बनाउन थालेपछि स्थिति हिंसात्मक बनेको छ । उनीहरूले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरे । उपप्रशासक सेवन्तराज दाहाल कार्यालयको माथिल्लो तलामा रहेको निवासमा रहेका बेला आगजनी गरिएको थियो । दाहाललाई स्थानीयवासीको मद्दतले उद्धार गरिएको छ । कार्यालयमा आगजनी भएका बेला सुरक्षाकर्मी थिएनन् । आगजनीबाट कार्यालयको कम्प्युटर शाखामा क्षति पुगेको छ । करिब आधा घण्टापछि मात्र सशस्त्र प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

यस्तै प्रदर्शनकारीले उच्च अदालत विराटनगरको धनकुटा इजलासमा पनि क्षति पुर्‍याएका छन् । अदालतको साइनबोर्ड झिकेर फालिएको छ । कार्यालय भवनका सिसा फुटाइएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमा पनि आगजनी प्रयास गरिएको छ । कार्यालयभित्र राखिएको सरकारी नम्बर प्लेटको को१ब १०६४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ ।

धनकुटा नगरपालिका कार्यालयका झ्यालका सिसा पनि फुटेका छन् । हातमा कालो झन्डा लिएका प्रदर्शनकारीले लगातार सरकारी कार्यालयमा आक्रमण गर्न थालेपछि सयौंको संख्यामा थप सुरक्षा बल परिचालन गरिएको प्रशासन स्रोतले जनाएको छ ।

३० लाखको क्षति

क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरिएपछि कार्यालयले सञ्चालन गरेको ‘हेल्लो सरकार’ कक्ष पूर्णरूपमा ध्वस्त भएको छ । आगजनीबाट ३ थान कम्प्युटर, १ प्रिन्टर, १ स्क्यानरलगायत अन्य उपकरणमा क्षति पुगेको उपप्रशासक दाहालले जानकारी दिए । प्रधानमन्त्री कार्यालयले पूर्वाञ्चलभरिका १६ जिल्लामा हुने दैवीप्रकोप, विपत् तथा आपत्कालीन सूचना संकलन गर्न कक्ष सञ्चालनका लागि सर्वर जडान गरेको थियो । कार्यालयको भुइँ तलामा रहेको कक्षका झ्यालका सिसा फुटाई आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेको हुन् । उक्त कक्षमा भएको आगजनीबाट कम्तीमा ३० लाखको भौतिक सम्पत्तिमा क्षति भएको छ ।

झडपमा १० घाइते

सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धनकुटा बजारस्थित भीमनारायण चोक तथा मदन चोकमा पटक–पटक झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गर्‍यो । बिहान मदनचोकमा जिल्ला प्रहरी प्रमुख सुदीप राजभण्डारीले प्रदर्शनकारीलाई आफंै नियन्त्रणमा लिन थालेपछि उनी चढेको गाडी तोडफोड गरिएको छ । उनी चढेको ना१ख १३१४ नम्बरको गाडी प्रदर्शनकारीको तोडफोडबाट क्षति पुगेको छ ।

प्रहरीको लाठीचार्जबाट कांग्रेस जिल्ला कोषाध्यक्ष दिनेश राई गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरो चोट लागेको छ । आन्दोलन परिचालन समिति संयोजक सुन्दरबाबु श्रेष्ठसमेत घाइते छन् । दुवैलाई प्रहरीले भीमनारायण चोकमा नियन्त्रणमा लिएर लाठी प्रहार गर्दा घाइते भएका हुन् । यस्तै उत्तम खड्गी, जयन्द्र प्रधान, अजित पाख्रिन, अतित विक, एम्बुलेन्स चालक रञ्जित गिरीसमेत घाइते छन् । दुवैतर्फको मुठभेडमा तीन सुरक्षाकर्मी पनि घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको जिल्ला अस्पतालमा उपचार गरिएको छ । यस्तै प्रदर्शनकारीले मोरङको केराबारीबाट भोजपुरतर्फ बिरामी लिन जाँदै गरेको को२च ४३२ नम्बरको एम्बुलेन्स तोडफोड गरेका छन् । चालक रञ्जित गिरीसमेत सामान्य घाइते भएका छन् । प्रदर्शनकारीले धनकुटा नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गरी क्षति पुर्‍याएका छन् । प्रहरीले माथिल्लो कोप्चे र भीमनारायण चोक बीचको गल्लीमा बटुवामाथि समेत लाठी प्रहार गरेको आरोप आन्दोलनकारीले लगाएका छन् । हिंसात्मक अवस्था नियन्त्रणका लागि प्रशासनले सुनसरीबाट सयौंको संख्यामा थप सुरक्षाकर्मी झिकाएको स्रोतले जनाएको छ । निषेधाज्ञा जारी गरिनुअघि प्रदर्शनकारीले जिल्लालाई अनिश्चितकालीन बन्द आहान गरेका थिए । तनावले भेडेटार, हिले, सिंधुवालगायत

स्थानमा दर्जनांै सवारी साधन रोकिएपछि यात्रु अलपत्र परेका छन् ।

डोटीमा तीन घाइते

डोटीमा प्रदेश ७ को मुकाम माग गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच बिहीबार झडप भएको छ । क्षेत्रीय प्रशासन कार्यालय राजपुरअगाडि भेला भएका प्रदर्शनकारीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास र १० राउन्ड हवाई फायर गर्‍यो । झडपमा दिपायल सिलगढी नगरपालिका–१ का नारायण खड्का, ४ का भरत विक र केआई सिंह गाउँपालिकाका करी भण्डारी घाइते भएका छन् । विकलाई उपचारका लागि कैलालीको धनगढी रेफर गरिएको छ । अन्य दुईको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बुधबार सरकारले प्रदेश ७ को अस्थायी मुकाम धनगढी तोकेपछि दिपायलमा आन्दोलन चर्किएको छ । प्रदर्शनकारीले जिल्ला प्रशासन र क्षेत्रीय प्रशासन कार्यालय दिनभर घेराउ गरी नाराबाजी गरे । उनीहरूले जिल्ला वन कार्यालयको बा१ब ७३३९ नम्बरको मोटरसाइकल जलाएका छन् । ट्राफिक प्रहरीको पिपल्लास्थित बिटमा आगजनी गरिएको छ ।

सडकका ठाउँ–ठाउँमा ढुंगामुढा राखेर अवरोध गर्नुका साथै सिसा फालेका छन् । राजपुरमा प्रहरीसँग झडपपछि प्रदर्शनकारी झन् उग्र भएका छन् । संघर्ष समितिले दिउँसो १ बजेदेखि ७ बजेसम्म यातायात खोल्ने निर्णय गरे पनि सवारीसाधन निर्बाध चल्न सकेका छैनन् । सरकारले मुकाम तोक्नुअघि पनि डोटीमा प्रदेश राजधानी माग गर्दै १३ दिनसम्म आमहडताल गरिएको थियो । अनशन र धर्ना पनि जारी छ । कांग्रेस जिल्ला सचिव, क्षेत्रीय सभापति र नगर सभापतिलगायत पार्टीबाट सामूहिक राजीनामा दिएर आन्दोलनमा उत्रेका छन् ।

प्रकाशित : माघ ५, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?