कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँ पुगेनन् विषयगत कार्यालय

अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लामा स्थानीय सरकार चुनिएको ७ महिना बित्दा पनि उल्लेख्य काम हुन सकेको छैन । प्रमुख कार्यालयदेखि वडा कार्यालयसमेत बजारमुखी भएपछि स्थानीयले सास्ती बेहोर्नुपरेको छ ।

गाउँ पुगेनन् विषयगत कार्यालय

बाह्रबिसे नगरपालिकाको ३ र ४ नम्बर वडा कार्यालय बाह्रबिसेकै निजी घरमा राखिएको छ । त्रिपुरासुन्दरी गाउँपालिकाका प्राय: वडा अपायक स्थानमा सञ्चालित छन् । भोटेकोसी गाउँपालिकाका कतिपय वडा कार्यालय बस्न सकेका छैनन् ।

‘गाउँमा सिंहदरबार’ भनिए पनि अहिलेसम्म विषयगत कार्यालय पुग्न सकेका छैनन् । कागजी कार्य र कर्मचारी व्यवस्थापनमा अलमल रहेका कारण ३ नगर र ९ गाउँपालिकाले नयाँ काम अघि बढाउन सकेका छैनन् ।

ग्रामीण भेगमा सडक सञ्जाल जोड्ने कार्यमा अघि देखिएका नगर र गाउँपालिकाले नयाँ विकासे खाका कोर्न सकेका छैनन् । ‘सिंहदरबार गाउँमै आउँछ भनिएको थियो, होइन रहेछ, अझैसम्म सदरमुकामै धाउनुपर्छ,’ त्रिपुरासुन्दरी गाउँपालिका पिस्करका दिलमान थामीले भने, ‘कार्यालय सबै सदरमुकाम चौतारामै भएपछि स्थानीय सरकार हुनुको के अर्थ रहयो र ?’

आवश्यकताअनुसार सेवा प्रदान गर्न नसकिएको त्रिपुरासुन्दरी–३ धुस्कुनका वडाध्यक्ष शुकदेव रिसालले बताए । ‘स्थानीय सरकारको नाममा हामीलाई नै उल्लू बनाइँदै छ,’ उनले भने, ‘अधिकार दिइएको भनिएको छ तर, सबै काम सदरमुकामबाटै गरिएको छ ।’

सदरमुकामै रहेको चौतारा साँगाचोकगढी नगरपालिकाबाहेक अन्य नगर र गाउँपालिकाले विषयगत कार्यालय स्थापना गर्न सकेका छैनन् । महिला विकास, कृषि, पशु, शिक्षा र स्वास्थ्यका कार्यालय स्थापना गर्ने तयारी भइरहेको बाह्रबिसे नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिन बताउँछिन् । ‘हो, हामीले जनतालाई पूरा सेवा दिन सकेका छैनौं,’ उनले भनिन्, ‘कानुनी जटिलता र अधिकार बाँडफाँटमा स्पष्टता नभएकाले अधिकार पाउन समय लाग्न सक्छ ।’

भोटेकोसी गाउँपालिकामा प्रमुख र उपप्रमुखदेखि कार्यकारी नियमित नहुँदा दीर्घकालीन टुक्रे योजना पनि अघि बढ्न नसकेको स्थानीय बताउँछन् । पहिरोमुनि रहेको भोटेकोसी गाउँपालिकाको कार्यालयमा पुग्न घण्टौं हिँड्नुपर्ने बाध्यता छ । साना कागजी काममै दिनहुँ खट्नुपर्ने सास्तीले गाउँमा सरकार आएको अनुभूति हुन सकेको छैन ।

मेलम्ची नगरले अझै पनि कार्यालय भाडामा लिएर चलाइरहेको छ । ‘कृषि, जनस्वास्थ्य, पशु र शिक्षा गरी ४ कार्यालय एकै कम्पाउन्डमा चलाएका छौं,’ मेलम्ची नगरका प्रमुख डम्बर अर्यालले भने, ‘कर्मचारीको समस्याले खासै कामले गति लिन नसकेको अवस्था छ ।’

मेलम्ची नगरले २० करोड लाग्ने ‘ग्रिनसिटी पार्क’ लाई २ करोड विनियोजन गरी निर्माण थालेको छ । भूकम्पले नगरको भवन भत्किएपछि हालै प्रमुख र अन्य कार्यालय महँगो भाडामा अरूकै घरमा सञ्चालित छन् । ‘३ करोडको लागतमा नगरको भवन ठडिँदै छ,’ प्रमुख अर्यालले भने, ‘स्थान अभावले कार्यालय व्यवस्थित बनाउन नसकिएको हो ।’ जिल्लाका दुर्गम जुगल, त्रिपुरासुन्दरी, हेलम्बु, बलेफी, पाँचपोखरी थाङपालजस्ता गाउँपालिकामा पनि अझै विषयगत कार्यालय स्थापना हुन सकेका छैनन् । सामान्य कामका लागि पनि सदरमुकाम धाउनुपर्दा स्थानीय मर्कामा छन् ।

प्रकाशित : माघ ७, २०७४ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?