कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मुकाम आन्दोलनले दोहोरो सास्ती

धनकुटा — यहाँका सर्वसाधारण प्रशासनले जारी गरेको निषेधाज्ञा र आन्दोलनरत पक्षले आह्वान गरेको 
आमहड्तालको दोहोरो चेपुवामा परेका छन् । राजधानीको अस्थायी मुकाम अन्यत्र घोषणा भएपछि सर्वसाधारणमा असन्तुष्टि त बढेको छ नै त्यसैमा प्रशासन र आन्दोलनरत पक्षको दोहोरो चेपुवा परेपछि चरम सास्ती खेप्नु परेको छ । 

अस्थायी मुकाम घोषणा गर्नुअघिदेखि नै धनकुटालाई राजधानी बनाउनुपर्ने माग गर्दै लामो आन्दोलन भयो । महिना दिन लामो आन्दोलन खेपेका सर्वसाधारण अहिले दोहोरो सास्ती खेप्न बाध्य छन् । आन्दोलनले एकाएक हिंसात्मक रूप लिएपछि नियन्त्रणका लागि प्रशासनले निषेधाज्ञा नै जारी गर्‍यो । धनकुटा बजारमा आइतबार चौथो दिन पनि निषेधाज्ञा कायमै छ । आन्दोलनरत पक्षले समेत आमहड्ताल जारी राखेपछि त्यसको प्रत्यक्ष मारमा सर्वसाधारण परेका हुन् । निषेधाज्ञाले हिँडडुलमा समस्या भएको छ भने आमहड्तालले यातायात अवरुद्ध हुँदा अवस्था सकसपूर्ण बनेको छ । दुवै पक्षले आ–आफ्ना अडान कायमै राखेपछि समस्या बल्भिँmदै गएको छ ।

आइतबार पनि घरघरमा कालो झन्डा राखेर विरोध प्रदर्शन गरियो । निषेधाज्ञाको क्रममा सडकमा टायर बालेर प्रदर्शन गर्दा सुरक्षाकर्मीले स्थानीयलाई घरबाहिर ननिस्कन चेतावनी दिएको थियो । आन्दोलन परिचालन समितिले आहान गरेको लगातारको आमहड्तालका कारण यातायात, बजार, पसल, उद्योग, शिक्षण संस्था ठप्प छन् ।

लामो समयदेखिको असहज अवस्थाबाट निकास दिन नागरिक समाजले पहल थालेको छ । समाजका अध्यक्ष द्रोर्णप्रसाद गुरागार्इंले भने, ‘कम्तीमा दुवै पक्षलाई एक ठाउँमा बस्ने वातावरण सिर्जना गर्न जरुरी छ । लामो समयसम्मको कष्टदायी अवस्थाबाट मुक्ति दिन प्रयासरत छौं ।’

प्रशासनले जारी गरेको निषेधाज्ञा सहज अवस्था आएपछि मात्र हटाइने प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । आमहड्ताल आहान फिर्ता गरी जनजीवन सामान्य बनाउन आन्दोलनरत पक्षसँग अनुरोध गरिए पनि स्थितिमा सुधार नआएकाले निषेधाज्ञा लम्ब्याउन बाध्य रहेको उप्रेतीको भनाइ छ । ‘प्रशासनले अधिकतम लचकता अपनाएको छ,’ उनले भने ।

प्रकाशित : माघ ८, २०७४ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?