१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९४

कैलाली घटनामा १० पक्राउ

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा ४ जना र बोक्सी भन्दै यातना दिने ६ जना सार्वजनिक

धनगढी — प्रहरीले अघिल्लो साता कैलालीमा भएका दुई छुट्टाछुट्टै घटनाका १० जना आरोपीलाई बिहीबार सार्वजनिक गरेको छ ।

घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि सांघातिक आक्रमण गरेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार कार्यकर्ता र एक किशोरीलाई बोक्सी आरोप लगाउँदै यातना दिने अन्य ६ जनालाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

नगरप्रमुख चौधरीमाथि आक्रमण गरेको आरोपमा घोडाघोडी नगरपालिका–१ का कमल क्षेत्री, ९ का भरत शाह, धनगढी उपमहानगरपालिका–८ का पूर्णप्रसाद खनाल र टीकापुर नगरपालिका–१ का हृदयराज बोगटी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले घटनामा संलग्न रहेको भन्दै १३ जनाका नाममा किटानी जाहेरी रहेकाले अन्यको खोजी भइरहेको बताए । ‘आक्रमण घटनाको थप अनुसन्धान जारी राखेका छौं,’ उनले भने । घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका कसैले पनि कसूर स्वीकार नगरेको तर प्रहरीले अनुसन्धानका क्रममा घटनामा संलग्न सबैको पहिचान गरिसकेको एसपी घिमिरेले बताए । पक्राउ परेकामध्ये केहीले भने पार्टीको निर्देशनमा घटना भएको तर आफूहरू संलग्न नरहेको दाबी गरेको एक प्रहरी स्रोतले बतायो ।

नगरप्रमुख चौधरीले आर्थिक अनियमितता गरेको, नगरपालिकाको साधनस्रोतको दुरुपयोग गरेको, बोक्सी प्रकरणमा संलग्नलाई जोगाउन खोजेको आरोप लगाउँदै विप्लव नेतृत्वको नेकपाले सामाजिक सञ्जालमा उनलाई कारबाहीको सूचीमा राखेको उल्लेख गर्दै आएको थियो । त्यसको केही दिनमा नै नगरप्रमुख चौधरीलाई राति ८ बजे घरबाट बाहिर निकाली खुकुरी र गोली प्रहार गरिएको थियो ।

नेकपाका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले नगरप्रमुख चौधरीलाई जनताले कारबाही गरेको दाबी गरे । उनले आफ्नो पार्टीका नेता–कार्यकर्तामाथि प्रहरीले दमन गरेको आरोपसमेत लगाए । ‘जिल्लाभरका निर्दोष कार्यकर्ताको घरमा खानतलासीका नाममा प्रहरीले ज्यादती गरिरहेको छ,’ उनले भने ।

यस्तै प्रहरीले फागुन २४ गते घोडाघोडी नगरपालिकाको देवकलियामा बोक्सी आरोपमा एक किशोरीलाई यातना दिएको आरोपमा पक्राउ परेका ६ जनालाई पनि बिहीबारै सार्वजनिक गरेको छ । घटनाको मुख्य अभियुक्त मानिएका भोलेबाबा भनिने रामबहादुर चौधरी, बाबाकी मुख्य सहयोगी किस्मती चौधरी, स्मारिका चौधरी, घोडाघोडी ५ बस्ने वेदप्रसाद चौधरी, सोही ठाउँका चनकला चौधरी र सीतारानी चौधरीलाई सार्वजनिक गरेको छ ।

किशोरीलाई यातना दिन सहयोग पुगाउने र पहिचानमा आएका थप केही व्यक्तिलाई पनि प्रहरीले खोजिरहेको जनाएको छ । दुवै घटनामा प्रहरीले अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखेको छ ।

प्रकाशित : चैत्र २, २०७४ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?