२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सडक निर्माणमा अलमल

बेल्टार (उदयपुर) — वैकल्पिक मार्गका रूपमा अघि बढाइएको धरान–चतरा–हेटौंडा सडक निर्माण निर्धारित समयभित्र सकिने सम्भावना धकेलिँदै गएको छ ।

३ वर्षभित्र बनाइसक्ने लक्ष्य राखिएकामा सडक विभागले अधिग्रहण गर्नुपर्ने क्षेत्रका घरटहरा, बिजुली पोल, रूख हटाउने र मुआब्जा वितरण अघि बढाउन सकेको छैन ।

समयमै बजेट व्यावस्थापन नहुँदा कामै रोकिने अवस्था सिर्जना भएको छ । १५ दिनभित्र बजेट नआए काम रोकिने पूर्वी खण्ड ठेक्का लिएको जेडआईईसी लामा एण्ड शर्मा जोइन्ट भेन्चरले जनाएको छ ।
उक्त सडक योजना दुई खण्डमा छुट्याएर काम भइरहेको छ । धरानदेखि सिन्धुलीको भिमादसम्म पूर्वी खण्डमा पर्दछ । विस्तार हुने जंगल क्षेत्रका रूख काटिए पनि घर–टहरा र विद्युत पोल हटाउने काम हुन सकेको छैन । ‘समयमै घरटहरा, विद्युत् पोल र मुआब्जा समस्या समाधान नहुँदा सोचेअनुसार काम गर्न सकिएन,’ कम्पनीका प्रोजेक्ट म्यानेजर निर्माण पोखरेलले भने, ‘काम गर्दै जाँदा घर भएको स्थानमा पुगेपछि रोकिनुपर्छ, विद्युत् पोलले समेत बाधा छ ।’ गत वर्ष कात्तिकबाट निर्माण सुरु गरिए पनि वर्ष दिनमा झन्डै साढे ५ महिनाजति मात्र राम्ररी काम गर्न पाएको उनले बताए ।

‘बाँकी साढे ६ महिना त्यत्तिकै बित्यो,’ पोखरेलले भने, ‘यही कारण तीन वर्षभित्र काम नसकिने भयो ।’ लक्ष्यअनुसार अहिलेसम्म २५ प्रतिशत सकिनुपथ्र्यो । चौडण्डीगढी नगरपालिकाको वीरेन्द्र चौकदेखि सिन्धुलीको भिमादसम्म १ सय ३४ किमि जिम्मा पाएको जोइन्ट भेन्चरले यो अवधिमा ३१ किमी क्षेत्रमा अलिकति पनि काम अघि बढाउन सकेन । यस क्षेत्रको ८ किलोमिटरजतिमा पुल हाल्नुपर्नेछ । त्यसै गरी ५७ किमि जंगल क्षेत्रमा समयमै रूख नकाटिँदा काममा ढिलाइ भएको प्रोजेक्ट मेनेजर पोखरेलले बताए । ‘विभागले रूख कटान, घरटहरा हटाउने अनि मुआब्जा विवाद टुंग्याएर हामीलाई काम गर्ने वातावरण मिलाइदिनुपर्‍यो,’ उनले भने । कम्पनीले बाधा व्यवधानका बावजुद काममा २० प्रतिशत प्रगति गरेको दाबी गर्दै आएको छ ।

पूर्वी खण्डका योजना प्रमुख उमेशविन्दु श्रेष्ठ पनि बजेट अभावले काम प्रभावित भएको बताउँछन् । ‘बजेट अभाव छ, माग हुँदैछ, अर्थ मन्त्रालयले दिने भने पनि दिएको छैन,’ उनले भने, ‘अहिलेसम्म बजेटकै कारण काम रोकिएको भने छैन ।’ सिन्धुलीतर्फ विद्युत् पोल सार्ने कामको ठेक्का लागे पनि काम सुरु भइनसकेको श्रेष्ठले बताए । ६ महिनायता पूर्वी खण्डको सडक विस्तार अघि बढाइएको छ । विभिन्न खोलामा निर्माण हुने पक्की पुलबाहेक ६ अर्ब रुपैयाँ लागतमा ३ वर्षभित्र सडक बनाउने गरी काम थालिएको हो ।

प्रकाशित : चैत्र २, २०७४ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?