कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक अवरुद्ध

लमजुङ — पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध भएको छ । मस्र्याङदी गाउँपलिका–४ ताघ्रिङमा पर्ने स्याँगे र शिरचौर बीचमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

हिमाली जिल्ला मनाङ जाने एकमात्र सडक अवरुद्ध भएपछि सवारी आवागमन ठप्प छ । उक्त सडकमा दैनिक डेढ सय सवारी गुड्छन् । मस्र्याङदी ४ का वडाध्यक्ष सुमन गुरुङका अनुसार मनाङतिरबाट आएका र बेंसीसहरबाट मनाङ जान लागेका सवारीसाधन पहिरो गएको ठाउँमै रोकिएका छन् । बिहीबार दिउँसोदेखि भीषण असिनापानी परेको थियो । शुक्रबार बिहान पहिरो गएको हो । ‘पैदलयात्रीसमेत मुस्किलले हिँडेका छन् । माथिबाट पहिरो खस्ने र सडक साँघुरो भएकाले जोखिम बढेको छ,’ वडाध्यक्ष गुरुङले भने, ‘ठूलाठूला ढुंगा खसेकाले डोजर र एस्काभेटरले पन्छाउन मिल्ने अवस्था पनि छैन ।’

बेंसीसहरदेखि करिब २५ किलोमिटरको दूरीमा पहिरो खसेको छ । उक्त बाटो चक्रीय पदमार्ग पनि हो । पदमार्गमा केही दिनयता पर्यटक आउनेक्रम बढेकाले उनीहरू समस्यामा परेको अध्यक्ष गुरुङले बताए । ‘पर्यटक हाम्रो जस्तो हिँड्न र दौडिन सक्दैनन् । उनीहरूलाई असहज भएको छ,’ उनले भने ।

डिभिजन सडक कार्यालय दमौलीका डिभिजन इन्जिनियर भानु जोशीले सडकमा ठूलाठूला ढुंगा खसेकाले यसलाई पन्छाउनका लागि प्राविधिकसहित जेसीभी पठाइसकिएको बताए । ‘हामीसँग ठूलो मेसिन छैन । स्थानीयले जानकारी गराएअनुसार सानो मेसिनले उक्त ढुंगा फाल्न सकिँदैन,’ उनले भने, ‘प्राविधिकले हेरेपछि के गर्नुपर्ने हो, त्यसपछि अगाडि बढ्नेछौं ।’ बेंसीसहर–चामे सडक करिब ६५ किलोमिटर लम्बाइको छ । ५ वर्षयता बेंसीसहरबाट प्राय: नियमित चामे र २ वर्षयता माथिल्लो मनाङसम्मै मोटर गुड्छन् । बर्खायाममा लमजुङ र मनाङका विभिन्न भागमा पहिरोले समस्या निम्त्याउँछ । तर, यसपटक बर्खा नलाग्दै समस्या उत्पन्न भएको स्थानीयले बताए । सडक अवरुद्ध भएपछि यात्रु आउजाउसँगै खाद्यान्न ढुवानीसमेत ठप्प छ ।

८ वर्षमा ६ किमि
रुकुम पूर्व (कास)– जम्मा ६ किलोमिटर सडक निर्माण गर्न कति समय लाग्ला ? ६ महिना, १ वा २ वर्ष ? हदै भए ३ वर्ष । तर त्यति लम्बाइको एउटा सडक पूरा गर्न यहाँ ८ वर्ष लागेको छ । बालुवा–डालिवाङ सडक खण्डको काम सकिन ८ वर्ष लागेको हो । २०६६ सालमा निर्माण थालिएको सडक २०७४ मा सम्पन्न भएको छ ।

बजेट अभावका कारण ८ वर्षको अवधिमा ६ किलोमिटर सडक निर्माण भएको हो । सडक निर्माणका लागि बजेटको अभाव भएपछि उक्त सडक ३ वर्षसम्म अलपत्र परेको थियो । बजेट अभावले नै सडक निर्माणमा ढिलाइ भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष राजु बुढामगरले बताए ।

‘सडक निर्माण थालिएपछि लगातार बजेट पाइएन,’ अध्यक्ष बुढाले भने, ‘आउनुपर्ने निकायबाट बजेट नआएपछि सडक निर्माण अघि बढ्न नसकेको हो ।’ सडक निर्माणमा हालसम्म ५४ लाख रुपैयाँ खर्च भएको छ । एकै वर्षमा निर्माण भइसक्नुपर्ने सडक एकैपटक पर्याप्त बजेट नपर्दा समस्या भएको बताइएको छ ।

प्रकाशित : चैत्र ३, २०७४ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?