कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरकारी भवनमा निजी स्कुल

वीरगन्ज — नारायणी सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयले निर्माण गरेको भवनमा निजी स्कुल सञ्चालन भइरहेको छ ।

पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित डिभिजन कार्यालयको भवनमा दुर्गा एकेडेमी सञ्चालन भइरहेको हो । सिंचाइ डिभिजनको १० कोठे भवनमा विगत २ वर्षदेखि निजी विद्यालय सञ्चालनमा आए पनि सरोकारवाला निकाय मौन छन् ।

उक्त स्कुल जिल्ला शिक्षा कार्यालयमा दर्तासमेत छैन । डिभिजन कार्यालयका सूचना अधिकृत सुरेशप्रसाद साहले रामनगरीमा रहेको सिँचाइ कार्यालयको पुरानो भवनमा निजी विद्यालय सञ्चालनका लागि स्वीकृति नलिएको बताए । ‘सिंचाइको पुरानो भवनमा निजी विद्यालय सञ्चालन भएको जानकारी छैन,’ उनले भने, ‘हामीले कसैलाई पनि भवन प्रयोगका लागि अनुमति दिएका छैनांै, यो त म नयाँ खबर सुन्दै छु, अब यसबारे बुझेर भवन खाली गराउने प्रक्रिया थाल्छु ।’

दुर्गा एकेडेमीका शिक्षक रामाकान्त साह तेलीले वर्षौंदेखि प्रयोगविहीन रहेको सिंचाइ कार्यालयको भवनका १० वटा कोठा रंगरोगन गरी विद्यालय सञ्चालन गरेको बताए । ‘विद्यालय दर्ता प्रक्रियामा छ,’ उनले भने, ‘प्रयोगमा नरहेको भवनलाई रंगरोगन गरी स्कुल सञ्चालनमा ल्याएका हौँ ।’ पिजीदेखि कक्षा तीनसम्मको पठनपाठन हुँदै आएको यो विद्यालयमा एक सय ९२ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयका शिक्षक साहका अनुसार वडाबाट सिफारिस गराई वीरगन्ज महानगरपालिकामा विद्यालय स्वीकृतिका लागि पत्र पठाइएको छ ।

गण्डक नहरको रेखदेखको जिम्मेवारी पाएको नारायणी सिँचाइ डिभिजन कार्यालयको पर्सा र बारामा १४ वटा भवन छन् । नहर रेखदेख गर्ने कर्मचारी र सबइन्जिनियरका लागि निर्माण गरिएको आवासीय भवन पछिल्लो समय अलपत्र छन् । कर्मचारी बस्न छाडेपछि सिँचाइको भवनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले कब्जा जमाएका छन् ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?