कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

चार महिनामा साढे २ किलोमिटर सुरुङ

भेरी–बबई डाइभर्सन

नेपालगन्ज — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले ४ महिनामा साढे २ किलोमिटर सुरुङ खनेको छ ।

चार महिनामा साढे २ किलोमिटर सुरुङ

चालु आर्थिक वर्षमा झै निर्माणको कामले गति पाए दुई वर्षमै काम सम्पन्न हुने विश्वास गरिएको छ । आयोजना निमार्णको ५ भागको १ भाग सुरुङ खन्ने काम सकिएको छ । यसमा १२ किलोमिटर सुरुङ खनिने छ ।

निर्माणमा यसवर्ष १ अर्ब ६२ करोड लागत खर्च हुने अनुमान छ । आयोजनाका निर्देशक शिवकुमार बस्नेतले बिहीबारसम्म २ हजार ४ सय मिटर सुरुङ खनिएको बताए । सुरुङ निर्माणको काम तिब्रताका साथ भइरहेको उनले जनाए । ‘राष्ट्रिय गौरवको आयोजनाका काम धमाधम भइरहेका छन्, ४ महिनामा २ हजार ४ सय मिटर सुरुङ खन्न सफल भएपछि समयमै आयोजनाको काम सकिने आश जागेको छ,’ उनले कान्तिपुरसंग भने, ‘आयोजनाको बाँकी काम सम्पन्न गर्न थप तीन अर्ब रुपैयाँ माग गरेका छौँ ।’

आयोजनाको सुरुङ निर्माणका लागि अत्याधुनिक प्रविधिको टनेल बोरिङ मेसिन (टीबीएम) प्रयोग गरिएको छ । नयाँ प्रविधिले सुरुङ निर्माणको कामलाई गति दिएको हो । भेरी नदीको पानी बबईमा ल्याउन १२ किलोमिटर सुरुङ खन्ने आयोजनाको लक्ष्य छ । डाइभर्सन हेडवक्र्सबाट बबईमा पानी खसाएर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने सरकारी योजना छ । त्यसका लागि जलविद्युत् गृह र अन्य सम्बन्धित संरचना निर्माण भइरहेका छन् । उक्त आयोजना सम्पन्न भए विद्युत् उत्पादनसँगै बाँके र बर्दियामा ५१ हजार हेक्टर जग्गामा सिंचाइ हुने विश्वास गरिएको छ ।

सुरुङ खन्न प्रयोग गरिएको अमेरिकी प्रविधिको टीबीएम चीनमा निर्माण भएको हो । उक्त प्रविधि आयोजनाले ४ महिनाअघि ल्याएको हो । गत कात्तिक २० गतेदेखि सुरुङ खन्ने काम सुरु भएको हो । आयोजना सम्पन्न गर्न सरकारले तीन चरणको निमार्ण योजना अगाडि सारेको छ । पहिलो चरणमा सुरुङ खन्ने कामलाई प्राथमिकतामा राखिएको आयोजनाले जनाएको छ । त्यसलगत्तै बाँध निर्माण र विद्युत् गृह निर्माण गरिने लक्ष्य छ । तीन वटै चरणका काम दुई वर्षमै सम्पन्न हुने लक्ष्य राखिएको छ । हाल सुरुङ निर्माणसँगै आयोजनाका लागि आवश्यक पर्ने बाँध क्षेत्र र विद्युत् गृहको डिजाइन पुनरावलोकन भइरहेको आयोजनाका निर्देशक बस्नेतले जनाएका छन् ।

उनका अनुसार कुनै समस्या नआएका कारण सुरुङ खन्ने कामले तीव्रता पाएको हो । ‘यही रफ्तारमा काम हुँदै गयो भने समयमै सुरुङ निमार्णको काम सम्पन्न हुने छ,’ उनले भने । टीबीएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ । आर्थिक वर्ष ०६८/६९ मा सुरु भएको आयोजना ०७७/७८ सम्म सम्पन्न हुने जनाइएको छ । १६ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिए पनि लागत बढेर करिब २३ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको निर्देशक बस्नेतले जनाए ।

आयोजना निर्माणमा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार परिचालित हुँदै आएका छन् । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । उक्त पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके/बर्दियामा सिंचाइ सुविधा पुर्‍याउने आयोजनाको लक्ष्य छ । आयोजना निर्माणको जिम्मा चीनको चाइना ओभरसिज इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको छ ।

प्रकाशित : चैत्र ५, २०७४ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?