कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिकारी सोख, नजरमा नाउर

लाखौं खर्चिएर नाउर र झारल सिकार गर्न आउने विदेशी सगरमाथाको देशमा सोख पूरा गर्न पाएकामा भाग्यमानी सम्झन्छन्

ढोरपाटन — स्पेनी नागरिक लुसियो गोन्जलेज पेना करिब ४ हजार मिटर उचाइको ढोरपाटनस्थित सुनदह क्षेत्रमा पाइला टेक्दै गर्दा खुसीले उफ्रिए । काठमाडौंदेखि करिब डेढ घण्टा हेलिकप्टर उडानपछि रुकुम पूर्वमा पर्ने सुनदह अवतरण गरेका पेनाको मुखबाट फुत्कियो– वाह हेभन ।

सिकारी सोख, नजरमा नाउर

पेनाले हाई अल्टिच्युट हेलिकप्टर पाइलट सोबित गौचनलाई धन्यवाद दिए । अनि अँगालो हालेर तस्बिर खिचाए ।

हिमाली मुलुकमा सिकार खेल्न आएका पेनालाई पाइलट गौचनले शुभकामना दिंदै भने, ‘बेस्ट अफ लक एन्ड ह्याब अ नाइस स्टे ।’ यति भनेपछि गौचन हेलिकप्टर लिएर काठमाडौं फर्किए । पेनाको क्यामेरा भने उड्न लागेको हेलीतिर सोझियो, क्लिक, क्लिक... । अनि लागे आफ्नै सिकारी टोलीसित क्याम्पतिर ।

गौचनले यसअघि पनि सिकार गर्न आउने थुप्रै विदेशीलाई ढोरपाटन आउजाउ गराएर विश्वसनीयता बटुलेका छन् । त्यही भएर उनी सिकार खेलाउने कम्पनीको रोजाइमा पर्छन् । यो सिजनमा उनले धेरै सिकारीलाई ढोरपाटन पुर्‍याए । उनीहरू अहिले सिकारमा रमाइरहेका छन् । पेनाले ढोरपाटनमा नाउर र झारलको सिकारबारे गुगल र डकुमेन्ट्रीमार्फत थुपै्र जानकारी लिएका थिए । यहाँ आउने मेसो भने मिलेको थिएन । यसपटक भने उनलाई सिकार खेलाउन ग्लोबल सफारिज नेपाल प्रालि, ठमेलका समशेर पराजुलीले भित्र्याएका थिए ।

हातहतियार (बन्दुक) र गोलीगठ्ठासहित नेपाल आएका पेनालाई सिकार खेलाउने सबै जिम्मा पराजुलीले पाएका छन् । पेनाले ब्लासर आर ८, आरआर ०२६३९४ को राइफल र ४० थान गोली ल्याएका छन् ।


पराजुलीले पेनालाई हेलिकप्टरबाट सुनदह झारेका हुन् । उनलाई तातो–चिसो खुवाउने, आराम गराउने र आवश्यक सहयोग गराउन पराजुलीले आधा दर्जन जवान सुनदहमा खटाएका छन् । करिब ४ हजार मिटर उचाइमा टेन्ट क्याम्प खडा गरिएको छ । ‘दिनभरि नाउर र झारलको खोजी गर्दै भीरभीर चहार्ने र उपयुक्त वन्यजन्तु खोजी गर्ने जिम्मा अर्को प्राविधिक टोलीको काँधमा छ । एक नाउर र एक झारल नमारुन्जेल उनीहरूले पेनाको हरबखत ख्याल गर्नेछन्,’ पराजुलीले सुनाए । स्पेनमा १ हजार ८ सय गोरु रहेको फार्म चलाउने पेनाको सुनदह क्षेत्रमा एउटा नाउर र एउटा झारलको सिकार गर्ने धोको यसै साता पूरा हुँदै छ ।

पेनाभन्दा अघि अर्का स्पेनी कन्टरेरास कोब्रेरोस डोमिन्गो पनि गुस्ताङमा नाउरको सिकार गर्न भिडेका छन् । उनलाई सिकार गराइरहेका छन्, नेपाल वाइल्डलाइफ सफारी प्रालिका अमृत थापाले । चैत ५ देखि १८ सम्म उनले उक्त ब्लकमा सिकार गर्नेछन् । सिकारका लागि उनले ब्लासर एनआर ९,१३०७१० राइफल र ४० गोली साथमा ल्याएका छन् । अमेरिकाका रसेल डी कन्निंघम र विलियम सी केन पनि दोगाडी ब्लकमा सिकार गरिरहेका छन् । उनीहरूलाई हिमालयन सफारिज प्रालिले सिकार गराउन यसै साता लगेको हो । उनीहरूले एक–एक नाउर सिकार गर्नेछन् । अर्का रुसी नागरिक मजुरकेभिच सेरजाई नाउर र झारलको सिकार गर्न यसै साता सुनदह जाँदै छन् । उनीहरूलाई नेपाल वाइल्डलाइफ सफारीका थापाले लैजानेछन् ।

रुसकै पाभेल टीई र इभ्गेनी टिटोभ पनि गुस्ताङमा सिकारमै मस्त छन् । उनीहरूलाई टर्‍याक्स एन्ड टरेल्स कम्पनीले सिकार गराइरहेको छ । टीईले एक झारल र टिटोभले एक नाउरको सिकार गर्नेछन् । रुसी नागरिक निकोलाई कुलिन्किन र मिखाइल इभानोभ पनि सिकार गर्न सेंग र दोगाडी जाँदै छन् ।

विश्वमै नाउर र झारलका लागि ढोरपाटन विख्यात छ । विदेशीले सिधै सरकारलाई शुल्क बुझाएर सिकार खेल्न पाउँछन् । त्यसैले सौखिन सिकारीहरू नेपालका सिकार खेलाउने कम्पनीहरूमार्फत यहाँ आउँछन्, सिकार गर्छन् अनि विश्वको सर्वोच्च सिखर सगरमाथाको मुलुकमा पनि सिकार गरेको रेकर्ड बनाउँछन् । सिकारका लागि कम्पनीहरूले राष्ट्रिय निकुञ्ज विभागबाट नाउर, झारल र सिकार गर्ने ब्लक (क्षेत्र) को लाइसेन्स लिएका हुन्छन् । आफूले पाएको त्यही कोटामा उनीहरूले युरोपका विभिन्न मुलुक र अमेरिकीलाई सिकार खेलाउन ढोरपाटन ल्याउँछन् ।

सिकार खेलाउन सक्ने कम्पनीहरू नेपालमा ५/६ वटा छन् । निकुञ्ज विभागका सहायक व्यवस्थापन अधिकृत विष्णु थपलियाका अनुसार वर्षमा दुइटा सिजनमा सिकार खेलिन्छ । एउटा, असोजदेखि मंसिर र अर्को, माघदेखि वैशाखसम्म । खोलिएको सिजनमा कम्पनीहरूले प्रतिस्पर्धा गर्छन् र जसले नाउर र झारलका लागि बढी बोलकबोल गर्छन् । तिनैले सिकारको अनुमति पाउँछन् ।

विभागले यो सिजन (माघदेखि वैशाख) का लागि १४ नाउर र ६ वटा झारलको कोटा निर्धारण गरेको छ । तर, १४ नाउरमध्ये ११ वटाको मात्र अनुमति दिइएको छ । झारलको हकमा भने ६ वटैको परेको छ ।

ढोरपाटनमा नाउर र झारलको संख्या धेरै भए पनि वंश विस्तार र संरक्षणमा ध्यान दिनुपर्ने भएकाले वर्षमा २० नाउर र ११ झारलमात्र सिकार गर्न दिने गरिन्छ । सरकारले २०६९ को असारमा सिकार गरिने वन्यजन्तुको राजस्व निर्धारण गरेको छ । जसअनुसार विदेशीका लागि नाउरको एक लाख र झारलका लागि ५० हजार रुपैयाँ राजस्व तोकिएको छ । तर, विभागले प्रतिस्पर्धाबाट नाउर र झारलको लाइसेन्स दिन थालेपछि एउटै नाउर र झारलका लागि १३ लाख रुपैयाँसम्म पर्ने गरेको छ । यो वर्ष भने नाउरको अधिकतम २ लाख २१ हजार र झारलमा १ लाख १५ हजार मात्र पर्न गयो ।

विदेशी सिकारीको संख्या बढे सिकार कम्पनीबीच उच्च प्रतिस्पर्धा हुँदा नाउर र झारलको कोटा मूल्य पनि बढछ । सिकारका लागि निकुञ्जले निश्चित क्षेत्र तोकेको छ । दोगडी, घुस्ताङ, सेङ, बार्से, फागुने, सुन्दह र सुर्तिबाङ गरी सातवटा ब्लकमा सिकार गर्न सकिन्छ । सिकार गराउने क्षेत्र बागलुङ, म्याग्दी र रुकुम पूर्वमा फैलिएका छन् । सिकारीले निर्धारित मापदण्ड र नियम पूरा गरेर मात्र सिकार खेल्न पाउँछन् ।

कहाँबाट आउँछन् ?
ढोरपाटन सिकार गर्न आउनेमा सबभन्दा बढी रुसी नागरिक हुन्छन् । सामान्यदेखि उच्च तहसम्मका रुसीले ढोरपाटनमा सिकार गरेका छन् । लामो समय रुसको नेतृत्व गरेका राष्ट्रपति भ्लादिमिर पुटिनका आर्थिक, राजनीतिक सल्लाहकारले समेत ढोरपाटनमा सिकार गरेका छन् । रुसपछि युरोपियन मुलुकका नागरिक बढी हुन्छन् । स्पेन, स्वीडेन, डेनमार्क, नर्वे तथा अमेरिकालगायतका मुलुकबाट पनि सिकार गर्न आउँछन् ।
केही वर्षअघि साउदी राजकुमार पनि ढोरपाटनमा सिकारका लागि आउन खोजेका थिए । तर उनका बाजे पूर्वराजा अब्दुल्लाहको निधनपछि उनले योजना त्यागेका थिए ।

सिकार खेल्न आउने सिकारीले बन्दुक र गोली आफैं ल्याउनुपर्ने हुन्छ । त्यसका लागि गृह मन्त्रालयले अनुमति दिने गरेको छ । नेपालमा भएका सिकार खेलाउने कम्पनीले विदेशी सिकारीले सिकार गर्न चाहेको वन्यजन्तुको लाइसेन्स अनिवार्य पाएको हुनुपर्छ ।

आफूले सिकार गरेको वन्यजन्तुको सिङ र छाला उनीहरूले लैजाने गरेका छन् । नाउरको हकमा भने साइटिस अथोरिटीबाट स्टिकर पाएपछिमात्र विदेश निकासी गर्न सकिन्छ । नाउरलाई साइटिसमा अनुसूची ३ मा राखिएकाले सम्बन्धित निकायबाट स्टिकर अनिवार्य गरिएको हो । आफूले सिकार गरेका अंग उनीहरूले ग्यालरी बनाएर सजाउने गरेका छन् ।

सोखका लागि सिकार ?
सिकार गर्न आउने अधिकांशले सोखका हिसाबले सिकार गर्न आएको बताउने गरेका छन् । दुई वर्षअघि ढोरपाटनमा नाउरको सिकार गरेका स्विडेनका र्‍याम्सेले सगरमाथाको देशमा सिकार गर्न पाउनु अहोभाग्य भएको प्रतिक्रिया दिए । सिकारकै क्रममा उनले करिब १ सय २० देशको भ्रमणसमेत गरेका छन् । हरेक महिनाजसो सिकार गर्न उनी नयाँ मुलुक पुग्ने गरेका छन् । बच्चैदेखिको आफ्नो सोख पूरा गर्नु नै सिकारको मुख्य उद्देश्य रहेको उनले बताउने गरेका छन् । कतिपयले पुस्तौनी रूपमा पनि यसलाई निरन्तरता दिएका पाइन्छ ।

अर्को ‘हब’ कञ्चनजंघा
प्राविधिक अध्ययनले सुदूरपूर्वको कञ्चनजंघा संरक्षण क्षेत्र पनि नाउर सिकारको मुख्य गन्तव्य बन्न सक्ने औंल्याएको छ । तीन वर्षअघि गरिएको अध्ययनले त्यहाँ नाउरको संख्या उल्लेख्य रहेकाले कोटा निर्धारण गरेर सिकार खुलाउँदा उपयुक्त हुने सुझाव राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागलाई दिएका छन् । कञ्चनजंघामा नाउरको संख्या बाक्लो भएकाले सिकार उपयुक्त हुने विभागका पूर्वमहानिर्देशक श्याम बजिमयले बताए ।

प्रकाशित : चैत्र १८, २०७४ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?