कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

डेढ दशकपछि सिंचाइ

प्यूठान — प्यूठान नगरपालिका–५ जुम्रिकाँढा बासबोटको सिँचाइ कुलो १६ वर्षपछि सञ्चालनमा आएको छ । लामो दूरीको कच्ची कुलो मर्मत गर्न कठिन भएकाले ०५९ देखि स्थानीयले कुलो चलाउन छाडेका थिए ।

डेढ दशकपछि सिंचाइ

प्यूठान (कास)–


यस वर्ष प्लास्टिक पाइपमार्फत पानी ल्याइएको हो । पानी आएपछि वर्षौंदेखि बाँझै रहेको जमिनमा सिँचाइ गरेर खेती गर्ने सपना पूरा भएकाले किसान खुसी छन् । जुम्रिकाँढा पूर्णगाउँको बगुवा खोलाबाट झन्डै तीन किलोमिटर पाइपलाइनमार्फत बासबोटमा पानी ल्याएको सिँचाइ परियोजना निर्माण समिति अध्यक्ष आसे घर्तीले बताए ।


पहिले कुलोमा पानी चलाएको दुई दिनपछि बल्ल गाउँमा पानी चुहिन्थ्यो । हिजोआज पाइपमार्फत केही घण्टामै पानी आइपुग्ने उनले बताए । सिँचाइ परियोजना राम्रोसँग सम्पन्न भएपछि बासबोटका किसान व्यावसायिक तरकारी पकेट क्षेत्र बनाउन कस्सिएका छन् । किसानलाई प्रोत्साहन गर्न वडाले बीउबिजन उपलब्ध गराएको वडाध्यक्ष लक्षुमन भण्डारीले बताए ।


‘गाउँभरिका किसानले सिँचाइ कुलो आएपछि तरकारी खेतीमा लाग्छौं भनेका छन्,’ भण्डारीले भने, ‘हामीले पनि आवश्यक सहयोग गरिरहेकै छौं ।’ किसानलाई काउली, टमाटर, सिमी र बोडीलगायत तरकारीको बीउ प्रदान गरिएको भण्डारीले बताए ।


गरिबी निवारण कोष कार्यक्रमले १६ लाख ४२ हजार ४ सय ३५ रुपैयाँ सहयोग गरेपछि सिँचाइ कुलो सञ्चालन भएको स्थानीय दोरबहादुर घर्तीले बताए । ‘व्यवस्थित सिँचाइ सुविधा भएपछि सबै हौसिएका छौं,’ घर्तीले भने, ‘विदेश गएका युवासमेत फर्केर यतै तरकारीमा लाग्ने भनेका छन् ।’


मुख्यटोल सामुदायिक संस्था र माझटोल सामुदायिक संस्थाका सदस्यहरूको मागका आधारमा कोषले सिँचाइ परियोजनामा सहयोग गरेको गरिबी निवारण कोषका जिल्ला कार्यप्रबन्धक बेगम घर्तीले बताए । उनले सिँचाइ परियोजना निर्माण गर्न स्थानीयको निकै राम्रो सहभागिता रहेको जनाए ।


‘५२ घरका ३ सय ७१ जनाले कुलोमार्फत फाइदा लिन थालेका छौं,’ स्थानीय ओविराम बुढाले भने, ‘सधैं सुक्खा हुने क्षेत्रमा पानी सिँचाइ गरेर हरियाली बनाएका छौं ।’ गाउँको सिरानमा १ सय ५० घनमिटरको पानी जम्मा गर्ने पोखरीसमेत निर्माण गरिएको छ । ‘पोखरीमा पानी जम्मा गरेर स्पिङकलमार्फत सिँचाइ गर्ने योजना बनाएका छौं,’ बुढाले भने ।


तरकारीमा आत्मनिर्भर
बर्दिया– उत्पादन बढेपछि बर्दिया तरकारीमा आत्मनिर्भर बन्दै गएको छ । भारतबाट तरकारी आयातमा कमी आएको छ । जिल्लामा प्रशस्त मात्रामा तरकारी उत्पादन हुन थालेपछि किसान आत्मनिर्भर बन्दै गएका छन् । ग्रामीण क्षेत्रमा मुक्त कमैया र थारू महिला तरकारी व्यवसायतर्फ आकर्षित भएका छन् । वरिष्ठ कृषि विकास अधिकृत परशुराम राउतले बर्दिया तरकारीमा आत्मनिर्भर हुँदै गएको बताए ।


‘यहाँबाट अन्य जिल्लामा तरकारी जाने गरेको छ,’ उनले भने । एक वर्षअघिसम्म जिल्लामा भारतबाट वार्षिक करिब १ लाख भारुको तरकारी आयात हुने गरेको भन्सार कार्यालयको तथ्यांकमा छ । छोटी भन्सार कार्यालय प्रमुख ओपेन्द्र हमालले अहिले हाटबजार लाग्ने दिन मुस्किलले ५/६ सयको तरकारी आयात हुने गरेको बताए । भारतबाट आयात हुने तरकारीमा कृषि कर लाग्ने गरेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा उत्पादित तरकारी बेचेर किसानले राम्रो आम्दानी गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?