कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सामुदायिकमा उर्लिए विद्यार्थी

पाल्पा — तानसेनस्थित जनता नमुना माविले नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गरेको छ । विद्यालयको क्षमताभन्दा कैयौं गुना बढी विद्यार्थी आएपछि प्रवेश परीक्षा लिनुपरेको विद्यालयले जनाएको छ ।

सामुदायिकमा उर्लिए विद्यार्थी

‘पढ्न पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो,’ प्रधानाध्यापक मेघराज पौडेलले भने, ‘तर, कक्षाकोठाले नथेग्ने भएपछि बाध्य भएर परीक्षा लिनुपर्‍यो ।’

जनता माविमा जिल्ला र बाहिरबाट समेत विद्यार्थी भर्ना हुन आएका छन् । कतिपय बोर्डिङ स्कुल छोडेर आएका छन् । शुक्रबार एकै दिन १ सय ७५ जति विद्यार्थीले प्रवेश परीक्षा दिए । जिल्लाकै कतिपय सामुदायिक विद्यालय विद्यार्थी नभएर मर्ज गर्नुपर्ने अवस्था छन् । तानसेनकै अन्य केही सरकारी विद्यालयको अवस्था नाजुक छ । तर जनतामा भर्ना हुन आउनेको तँछाडमछाड छ ।

‘अघिल्लो वर्ष पनि कक्षामा नअटाउने भएपछि प्रवेश परीक्षा लिनुपरेको थियो, यस वर्ष अझै भीड देखिएको छ,’ पौडेलले भने, ‘नयाँ विद्यार्थी धेरै भर्ना हुन आएपछि सबै कक्षामा सेक्सन थप्नुपर्ने अवस्था छ ।’ विद्यार्थी र अभिभावक दुवैको आकर्षण बनेको यो विद्यालयमा यसरी प्रवेश परीक्षा लिइएको यो पाँचौंपटक हो । यस वर्ष १ सय ५४ विद्यार्थीले एसईई दिए ।

प्रवेश परीक्षा दिन आउनेमा तानसेनकै नाम चलेका सेन्ट कपितानियो, न्यु होराइन, प्रिपेरोटोरी, पाल्पा आवासीयलगायत बोर्डिङका विद्यार्थी पनि छन् । ‘छोराले नै जनता माविमा पढ्छु भनेपछि प्रवेश परीक्षा दिलाउन लिएर आएको हो,’ एक अभिभावकले भने, ‘यस्तै गरी अन्य अभिभावकका छोराछोरीले पनि यही विद्यालय आउने इच्छा जाहेर गरे होला ।’ जनता माविमा लगेर भर्ना गरेपछि छोराछोरीको भविष्य बन्छ भन्ने सोच अभिभावकमा देखिन्छ ।

सदरमुकामकै अन्य सामुदायिक विद्यालयमा भने कक्षा १ मा समेत विद्यार्थी नपाएर हैरानी छ । जनता माविमा अधिकांश ८ र ९ भर्ना हुन आउनेको भीड देखिएको छ । प्राथमिक तहभन्दा माथिल्लो कक्षामा भर्ना हुन बढी आउँछन् । ‘सानो कक्षामा जहाँ पढदा पनि केही हुँदैन,’ अभिभावक कृष्ण खनालले भने, ‘ठूला कक्षामा गएपछि सामुदायिकमा पढेकाले बढी अवसर पाउने भएकाले पनि यहाँ भीड लागेको हुन सक्छ ।’ विद्यालयका अनुसार गत वर्ष झन्डै ३ सय जना नयाँ विद्यार्थी भर्ना हुन आएका थिए । विद्यालयको व्यवस्थापन, विद्यार्थीमा अनुशासन, गुणस्तर, शिक्षकको नियमितता, निरन्तर मूल्यांकन प्रणाली, एसईईमा राम्रो नतिजाजस्ता कारणले नै अभिभावक आकर्षित भएका हुन् ।

अघिल्लो वर्ष जनतामा कक्षा १ देखि १० सम्म १ हजार १ सय विद्यार्थी थिए । ११ र १२ मा ९ सय ५० र इन्जिनियरिङमा ४७ जना थिए । यस वर्ष नयाँ साथै इन्जिनियरिङमा पुन: ४८ जना थपिन्छ । विद्यार्थी चाप बढेपछि अधिकांश कक्षाको सेक्सन थपिएको छ । ६ कक्षादेखि १० सम्मै सेक्सन थप्नुपर्ने बाध्यता छ । अंग्रेजी र नेपाली माध्यम दुवैमा भीड छ । कक्षा ९ र १० मा मात्रै ९ वटा सेक्सन छन् । ‘अभिभावकले निजीमा पैसा तिर्न नसकेर यहाँ ल्याएका होइनन्,’ शिक्षक केशव नेपालले भने, ‘पढाइको गुणस्तरले गर्दा नै हो भन्ने लाग्छ ।’ पढाइको गुणस्तर सुधार्न शिक्षकको अभियानसँगै नयाँ विद्यार्थी भर्ना भएपछि थप उत्साह जागेको उनले बताए । जनता माविमा खुला विद्यालयसमेत सञ्चालन गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत महेन्द्र सुवेदीले विद्यार्थीले जुनसुकै विद्यालयमा पढ्न अवसर पाउनुपर्ने बताए । अब जनता माविलाई अवसरसँगै चुनौती थपिएको उनको बुझाइ छ । ‘अभिभावकले जुन लक्ष्य लिएर विद्यार्थी भर्ना गरेका छन्,’ उनले भने, ‘उनीहरूको सपना साकार पार्न ठूलो चुनौती छ ।’ कुनै विद्यार्थीलाई पढाउदिनँ भन्न नपाइने र प्रवेश परीक्षा लिए पनि भर्ना हुन चाहे लिनुपर्ने उनले बताए । जनता मावि २००८ सालमा खुलेको हो ।

प्रकाशित : वैशाख १०, २०७५ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?