कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो हुन्नः शिक्षामन्त्री

काठमाडौँ —  शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो नहुने बताएका छन् ।

जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो हुन्नः शिक्षामन्त्री

सोमबार काठमाडौंको सिनामंगलस्थित गुह्यश्वरी माध्यमिक विद्यालयले भर्ना अभियानअन्तर्गत गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले सरकारी स्कुलका शिक्षकहरुलाई इङ्गित गर्दै भने, ‘राजनीति गर्ने माष्टर पनि माष्टर हुन्छन् ? उनीहरुले पढाउन छोडेर राजनीति गरे हुन्छ । जागिर मात्र खाने स्वभावका शिक्षकबाट शिक्षा राम्रो हुन्न ।’


सरकारले ल्याएको भर्ना अभियानलाई सफल बनाउनका लागि विद्यालयले आफ्नो क्याचमेन्ट एरियामा गरेको घरदैलो तथा शैक्षिक जागरण अभियानको उद्घाटन अनि रौतहटका प्रशान्त साह र अदिति साहलाई विद्यालयमा भर्ना गरिदिँदै उनले सरकारी स्कुलको स्तर उकास्नका लागि शिक्षकले बढी मिहिनेत गर्नुपर्नेमा जोड दिए ।


उनले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहमा गए पनि शिक्षक व्यवस्थापनको मुद्धाको विषयमा भने अन्योल सिर्जना भएको बताउँदै ५ महिनाभित्र अनिवार्य शिक्षा ऐन तथा शिक्षकका समस्या सम्बोधन हुने ऐन ल्याउने पनि बताए ।


आर्थिक, विकटता र साँस्कृतिक कारण विद्यालय बाहिर रहेका विद्यार्थीलाई स्कुलमा ल्याउने वातावरण बनाउन अनिवार्य शिक्षा ऐन तथा शिक्षकका मुद्धालाई सम्बोधन गर्न नीति बनाउने काममा आफू लागेको उनको भनाइ छ ।‘ २०२८ सालमा बनेको शिक्षा ऐनले अहिलेको आवश्यकतालाई सम्बोधन गर्न सक्तैन, म नीति बनाउनकै लागि आएको हुँ, त्यो अनुसारको कार्ययोजना बनाएको छु ।’ उनले भने ।


विद्यालयमा हाल ९ सय विद्यार्थी अध्ययन गरिरहेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिपी अर्यालले विद्यालयलाई काठमाडौंको उत्कृष्ट शैक्षिक केन्द्र बनाउन आफूहरु लागिरहेको बताउँदै सरकारले ल्याएको भर्ना अभियानको सह्राना गरेका थिए ।

प्रकाशित : वैशाख १०, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?