कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘डाइभर्ट’ विमानस्थल बन्दै रामेछाप

लुक्लाको मौसम अकस्मात् परिवर्तन हुनु सामान्य मानिन्छ, उडिरहेका जहाज त्यता जान नसकेपछि ‘डाइभर्ट’ भएर रामेछाप विमानस्थलमा अवतरण गर्छन्

रामेछाप — रामेछाप विमानस्थलमा केही दिनअघि ५ ट्वीनअटर जहाज ओर्लिए । सहजै ४ जहाज अटाउने पार्किङमा जेनतेन ५ वटै अटाइए । स्थानीयले यो दृश्यलाई रहरलाग्दो गरी हेरे । विमानस्थलमा त्यो दिनमात्रै यसरी जहाज ओर्लिएका होइनन्, गत साता पनि यस्तै दृश्य देखिएको थियो ।

‘डाइभर्ट’ विमानस्थल बन्दै रामेछाप

कहिले जहाज त कहिले हेलिकप्टर अवतरण गर्छन् यो विमानस्थलमा । उडान तालिकाबिनै ओर्लिने ती जहाज हेरेरै स्थानीय चित्त बुझाउँछन् । कुनै कम्पनीले पनि यात्रु ओसार्न उडान राखेका छैनन् । नेपाल नागरिक उड्डयन कार्यालयले टर्मिनल सञ्चालन गरी एयर ट्राफिक अफिसर राखेको छ ।

त्यही भएर विमानस्थलमा आपतकालीन उडान र अवतरण बढेको हो । शुक्रबार मात्रै उडान क्रममा एउटा हेलिकप्टरमा प्राविधिक समस्या आएपछि आकस्मिक अवतरण गराइएको थियो । प्राविधिक मगाएर ४ घण्टापछि हेलिकप्टर मर्मत गरियो । अहिले पूर्वी हिमाली जिल्ला सोलुको लुक्लाबाट पर्यटक धमाधम काठमाडौं फर्किरहेका छन् । हवाई कम्पनी बिहानै लुक्लाको उडान भर्छन् । लुक्लाको मौसम अकस्मात् परिवर्तन हुनु सामान्य मानिन्छ । उडिरहेका जहाज त्यता जान नसकेपछि ‘डाइभर्ट’ भएर रामेछाप विमानस्थलमा अवतरण गर्छन् ।

लुक्ला पश्चिमको सबैभन्दा उचित विमानस्थल रामेछापलाई नै मानिन्छ । मौसमका दृष्टिले बाह्रै महिना सञ्चालन योग्य छ । निजी हवाई कम्पनी सोलुमा अलपत्र यात्रुलाई रामेछाप उतारेर त्यसपछि काठमाडौंसम्म पुर्‍याउने गर्छन् ।

‘खासगरी लुक्ला जाने र फर्कने बेला गन्तव्यसम्म पुग्न नसक्दा जहाज यो विमानस्थलमा डाइभर्ट भएर आउने गरेका छन्,’ नागरिक उड्डयन कार्यालयका प्रमुख केदारप्रसाद सत्यालले भने, ‘त्यसैले यहाँका लागि उडान तालिका नभए पनि विमानस्थलमा चाप धेरै छ ।’ उनले बिहानदेखि बेलुकासम्म विमानस्थल टर्मिनल सञ्चालन हँुदै आएको जानकारी दिए ।

पूर्वी पहाडबाट फर्कने जहाज पनि काठमाडौं विमानस्थल अकस्मात् बन्द हुँदा रामेछाप विमानस्थलमै ओर्लिने गर्छन् । भीभीआईपीहरूको उडान र विमानस्थलभित्रै कुनै दुर्घटना भएको अवस्थामा काठमाडौं विमानस्थलका लागि आन्तरिक र बाह्य सबै उडान ‘डाइभर्ट’ हुने गर्छन् । त्यस्तो बेला पूर्वी पहाडको आकाशमा उडिरहेका साना विमान ओर्लने स्थान पनि यही विमानस्थल बनेको छ ।

एक वर्षअघि मात्र कालोपत्रे सकिएको विमानस्थलमा यात्रु सेवा सञ्चालन गर्न स्थानीयले बारम्बार आग्रह गरे पनि हवाई कम्पनीले उडान राखेका छैनन् । काठमाडौंसम्म पुग्न ४ घण्टाको सडक यात्रा गर्नुपर्ने भएकाले हवाईयात्रुको अभाव भइरहने तारा एयरका प्रवीन सुवेदीले बताए । तारा एयरले विमानस्थल कालोपत्रे गर्नुअघि सातामा एकपटक काठमाडौं–रामेछापका लागि एउटा उडान तालिका बनाएको थियो ।

स्थानीय भने रामेछापबाट सातामा एउटा उडान राख्दा यात्रुको कमी नहुने दाबी गर्छन् । ‘बिरामी, वृद्धवृद्धा, महिला, अशक्त र सुत्केरीलगायत यात्रुका लागि मात्रै भए पनि सातामा एउटा उडान राख्दा हुन्छ,’ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष पशुपतिबहादुर खड्काले भने । उनले जननिर्वाचित प्रतिनिधिको उदासीनताका कारण जिल्लाको यति धेरै लगानी भएको पूर्वाधारबाट सेवा पाउन नसकेको बताए ।

प्रकाशित : वैशाख १७, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?