कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन अध्ययन केन्द्रलाई ३० लाख

अनिश तिवारी

सिन्धुपाल्चोक — जनप्रतिनिधि, उपभोक्ता र विशेषज्ञहरूले वनको वैज्ञानिक व्यवस्थापन गरी आयस्रोत बढाउनुपर्ने बताएका छन् । सामुदायिक वन अवधारणा सुरु भएको चार दशक बिते पनि यसको आम्दानी सदुपयोग हुन नसक्दा उपभोक्ताको जीवनशैलीमा परिवर्तन नदेखिएको उनीहरूको भनाइ छ ।

वन अध्ययन केन्द्रलाई ३० लाख

ठोकर्पास्थित बाघभैरवमा सामुदायिक वन अन्तर्राष्ट्रिय अनुसन्धान केन्द्र बनाउने सिलसिलामा आयोजित छलफलमा हस्तान्तरण गरिएका मुलुकका १९ हजारभन्दा बढी सामुदायिक वनलाई व्यवस्थापन गरेर यसको आम्दानी परिचालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिए । प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले वनको हरियाली हेरेर मात्र नबसी यसको आम्दानीलाई उपभोक्ताको जीवनमा जोड्नुपर्ने बताए । ‘छिटो हुर्कने प्रजातिका बिरुवा रोपेर उपभोक्ताको आम्दानी बढाउने रणनीति बनाउन तयार छौं,’ उनले भने, ‘जनताले केही पाएको महसुस नगरे वन जोगाएर मात्र हुँदैन ।’ अनुसन्धान केन्द्र स्थापना गरेर वनबाट छोटो समयमा कसरी आम्दानी लिन सकिन्छ भन्नेबारे अध्ययन जरुरी रहेको उनले बताए । २०३० सालमा मुलुकमै पहिलो पटक ठोकर्पाबाटै सामुदायिक वनको अवधारणा सुरु भए पनि यसको वैज्ञानिक व्यवस्थापन र उपयोग तीव्र गतिमा हुन नसकेको तर्क सरोकारवालाले गुनासो गरे । तत्कालिन प्रधानपंच निलप्रसाद भण्डारी र जिल्ला वन अधिकृत तेजबहादुर महतलाई सरकारले ०७३ मा सामुदायिक वनको अभियन्ता घोषणा गरेको थियो ।

छलफलमा जिल्ला वन अधिकृत राजु क्षत्री र वन मन्त्रालयका उपसचिव प्रकाश लम्सालले मुलुकभरको सामुदायिक वनको अवस्थाबारे जानकारीपत्र प्रस्तुत गरेका थिए ।

वन सचिव डा. विश्वनाथ ओलीले केन्द्रको प्रारम्भिक कामका लागि हाल सरकारले ३० लाख रकम विनियोजन गरेको जानकारी दिए । विशिष्ट प्रकारको अनुसन्धान केन्द्र बनाएर सबै खालका सम्भावनाको अध्ययन गर्न सकिने उनले बताए । ‘व्यवस्थापन राम्रो बनाउन उपभोक्ताको सक्रियता बढी हुनुपर्छ,’ उनले भने, ‘प्रविधिको प्रयोगलाई त्यत्तिकै ख्याल गर्न जरुरी छ ।’ वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले उद्गमस्थलको सामुदायिक वनको व्यवस्थापन नमुना हुनुपर्ने बताए । सुनकोसी गाउँपालिकाका अध्यक्ष श्रवण जीसी र वडा अध्यक्ष नेत्र कार्कीले वनलाई कृषि र पर्यटन क्षेत्रसँग जोड्ेर स्थानीयले आफ्नो जीवनस्तरमा परिवर्तन ल्याउन सक्ने बताए ।

प्रकाशित : वैशाख २७, २०७५ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?