कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

तराईमा भीषण हुरी

एकको मृत्यु
तरकारी बाली नष्ट
छानो उडाउँदा पढाइ प्रभावित

महोत्तरी — वर्षासँगै आएको हावाहुरीले एक महिलाको मृत्यु भएको छ । गौशाला नगरपालिका–१२ मा हुरीले असन्तुलित भई दाउराको भारीले थिच्दा मंगलबार ३५ वर्षीया फूलवदनदेवीको घटनास्थलमै मृत्यु भएको हो ।

तराईमा भीषण हुरी

हावाहुरीले घरका छाना उडाउँदा सयौं परिवार बिचल्लीमा छन् । कतै छाना उडाउँदा र कतै पर्खाल ढल्दा विद्यालयको पठनपाठन प्रभावित छ । आँप र तरकारी बालीमा ठूलो क्षति पुगेको छ । मंगलबार बिहान २ बजेदेखि तीव्र वेगमा आएको हुरीले रूख ढल्दा लामो समय सडक अवरुद्ध भयो । हुरीले बर्दिबास नगरपालिकामा करोडाैं मूल्य बराबरको क्षति पुर्‍याएको छ । घरको छाना उडाउँदा बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की आफैं समस्यामा छन् । उनले घरभित्र पानी पसेर खाद्यान्न, लत्ताकपडालगायत भिजेर कामै नलाग्ने भएको बताए । बर्दिबास नगरपालिका–३ गौरीबासस्थित रेडियो सुनगाभामा १५ लाख बराबरको क्षति पुगेको छ । स्टेसन म्यानेजर निकेश खनालका अनुसार सोलार प्यानल बिग्रिनुका साथै जेनेरेटरमा पानी पसेको छ । दैनिक १० घण्टा सेवा दिंदै आएको रेडियो प्रसारण अनिश्चितकालका लागि बन्द भएको छ ।

हुरीले विभिन्न ठाउँमा पोल, तार र ट्रान्सफर्मरमा क्षति पुग्दा मंगलबार रातिदेखि नै गौशाला, बर्दिबास र सदरमुकाम जलेश्वरलगायत क्षेत्रमा विद्युत् सेवा ठप्प छ । नेपाल विद्युत् प्राधिकरण गौशाला शाखाका प्रमुख रोशनकुमार सिंहका अनुसार हावाहुरीले ३५ थान पोल ढालेको छ । ढल्के–औरही–खयरमारा ३३ केभी प्रसारण लाइनमा रूख ढलेर क्षति पुगेको छ । प्राधिकरण जलेश्वर शाखा प्रमुख माधवेन्द्र यादवले हुरीले दक्षिणी भेगमा २० वटा पोल र सडकका रूख ढलेर प्रसारण लाइनमा क्षति पुगेको जानकारी दिए । तीव्र गतिमा आएको हुरीले आँपका ४० प्रतिशत चिचिला (टिकुला) र २५ प्रतिशत तरकारी बालीमा क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । प्रमुख कृषि विकास अधिकृत ओमप्रकाश विराजीले करोड बढी मूल्यका आँप र तरकारीमा क्षति पुगेको जनाए ।

प्रकाशित : वैशाख २७, २०७५ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?