कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँको प्रचार गर्न पसगाउँ महोत्सव

आश गुरुङ

पसगाउँ(लमजुङ) — क्व्होलासोंथर गाउँपालिका ६, पसगाउँ हेर्दा र सुन्दामा जति सुन्दर र अनुपम छ, पर्यटकको रोजाइमा भने उति पर्ने गरेको छैन ।

गाउँको प्रचार गर्न पसगाउँ महोत्सव

शान्ति स्थापनापछि आशातित पर्यटक गाउँमा आउन नसक्दा स्थानीय निराश छन् । द्धन्द्धकालमै पर्यटक आउनेजाने गरेपछि स्थानीयले गाउँका २५ घरमा होमस्टे संचालन गरे । लोकतन्त्र स्थापनासंगै नयाँ संविधान जारी भएर मुलुकमा बन्दहड्ताल कम हुँदै गएपनि पर्यटक आउन नसकेको स्थानीय बताउँछन् । गाउँको प्रचारप्रसार र गाउँमा पर्यटन प्रवद्र्धनको लागि स्थानीयले २ बर्षअघि महोत्सव मनाएका थिए ।


यसपटक उनीहरुले गाउँको थप प्रचारप्रसारको लागि बुधबार र बिहीबार आठौं पसगाउँ महोत्सव आयोजना गरेका छन् । ‘हाम्रो मुख्य उद्देश्य भनेकै गाउँको प्रचारप्रसार गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने हो’ पसगाउँका वडाअध्यक्ष मनलाल गुरुङले भने । महोत्सवमा लोपुन्मुख घाँटु, कृष्णचरित्र, सारंगीनाच, आमा समूह, यूवा समूहको पौराणिक नृत्य लगायत प्रदर्शन गरिएको थियो ।


पसगाउँका पूर्व गाविसअध्यक्ष बलराम गुरुङका अनुसार द्वन्द्व सकिएर शान्ति स्थापना भइसक्दा पनि गाउँमा पर्यटक आउन सकेका छैनन् । ‘प्रकृति र संस्कृतिले धनी हामी पसगाउँबासी पर्यटकको स्वागत गर्न आतुर छौं । यही सन्देश दिन महोत्सवको आयोजना गर्‍यौं’ उनले भने ।


उनका अनुसार पसगाउँबासीले गाउँमा पर्यटक भित्र्याउन २०६० देखि महोत्सव आयोजना गर्दै आएको छ । औषतमा हरेक २ बर्षमा एकपटक महोत्सव आयोजना गर्दै आएका छन् । उनका अनुसार पर्यटन प्रवद्र्धनका कार्यक्रम २०५८ बाटै गर्दै आएका थिए । पसगाउँ होमस्टे व्यवस्थापन उपसमितिका अध्यक्ष युगदेवी गुरुङका अनुसार गाउँमा पर्यटकका लागि २५ वटा होमस्टे संचालनमा छन् । ‘अहिले पर्यटक अलिअलि आउँछन् । पहिलेको जस्तो छैन’ उनले भनिन्, ‘पहिले पर्यटक बढ्न थालेर होमस्टेका लागि सवै संरचना निर्माण गरेका थियौं । अहिले खाली प्राय: छ । हामी होमस्टेमा पर्यटकको स्वागत गर्न चहान्छौं ।’


पसगाउँको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको उनले बताइन् । क्व्होलासोंथर गाउँपालिका उपाध्यक्ष कुमारी मुनी गुरुङले गाउँपालिकाका हरेक वडाका गाउँलाई पर्यटकीय गाउँ बनाउन गाउँपालिका जुटेको बताइन् । ‘हामीले पर्यटन प्रवद्र्धनका लागि बजेट विनियोजन गरेका छौं । हामीले छुट्याएको बजेट सदुपयोग हुन आवश्यक छ’ उनले भने, ‘विनियोजित बजेट राम्रो काममा लगानी भए पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।’

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन प्रवद्र्धनबाटै ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताए । ‘हामीले प्रदेश नं. ४ का ३ सय गाउँलाई ग्रामीण पर्यटकीय गाउँको रुपमा विकास गरी हरेक गाउँमा होमस्टे बनाउने योजना अघि सारेका छौं । यसबाट स्थानीयको जीवनस्तर उकासिने अपेक्षा लिएका छौं’ उनले भने । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष कृष्ण आचार्यले ग्रामीण पर्यटन प्रवद्र्धनमा सडक पहुँचको निकै महत्वपूर्ण भूमिका रहेकाले यसका लागि सहयोग गरिएको बताए । एमाले प्रदेश नं. ४, संसदीय दलका नेता मायानाथ अधिकारीले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि स्थानीय तहले चासो देखाएर अघि बढ्नुपर्ने बताए ।


‘युवा गाउँ फर्किनु पर्छ । स्थानीय तहले योजना बनाएर युवालाई गाउँमै रोजगारी दिनुपर्छ’ उनले भने, ‘युवा गाउँ बसे गाउँको विकास हुन्छ, पर्यटन प्रवद्र्धन भएर आर्थिक समृद्धिमा टेवा पुग्छ ।’ माओवादी केन्द्रका पोलिटब्युरो सदस्य मोहनहरि पौडेलले गाउँको विकास र पर्यटनको लागि सवै एकजुट हुनुपर्ने बताए ।


दूधपोखरी युवा क्लवका निवर्तमान अध्यक्ष सूर्यप्रसाद गुरुङले गाउँको प्रचारप्रसार गर्न, होमस्टेमा पर्यटक बसाउन र स्थानीय कला, संस्कार संस्कृतिको संरक्षणका लागि महोत्सवको आयोजना गरिएको बताए । उनका अनुसार महोत्सवमा सहभागि हुनमात्रै पोखराबाट २ वटा बस रिजर्भ गरेर स्थानीय तथा पर्यटकपाहुना गाउँ आएका थिए । ‘पहिलेपहिले दैनिक पर्यटक आउँथे । होमस्टे पनि थिएन । अब महोत्सवसंगै यसले पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरेका छौं’ उनले भने । समुद्री सतहदेखि १ हजार ६ सय ३० मिटरको उचाइमा रहेको पसगाउँ कास्कीको मादी गाउँपालिका सीमामा पर्छ । यहाँ करीब २ सय ५० घरधुरी छन् । गाउँमा चोविसै घण्टा विजुलीपानी, मोवाइल नेटवर्कको सुविधा भएकाले पनि पर्यटकलाई कुनै असुविधा नहुने उनले बताए ।


पसगाउँ लमजुङको बेंसीसहरबाट ९ कोष टाढा पर्छ । पोखराबाट ४७ किलोमीटर उत्तरपश्चिम दिशामा पर्छ । बेंसीसहरबाट बागलुङपानी, घलेगाउँ, घनपोखरा, भुजुङ हुँदै हिँडेर पसगाउँ पुग्न सकिन्छ । बाग्लुङपानीबाट छुटिएर मालिङ, घाम्राङ हुँदै पसगाउँ पुग्न सकिन्छ । तनहुँको दमौलीबाट भोर्लेटार–रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । कास्कीको बेगनासबाट तालबेंसी हुँदै रामबजार पुगेर गिलुङ हुँदै पसगाउँ जाने बाटा छन् । पोखरादेखि कालिकास्थान, सौर्य, थुम्सीकोट, गहते, पाखुरीकोट–नागिधार हुँदै पनि पसगाउँ पुग्न सकिन्छ ।


प्रकाशित : वैशाख २७, २०७५ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?