कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन अतिक्रमण रोक्न खोज्दा वनकर्मीमाथि आक्रमण

घेराबन्दीमा पारेर रेन्जर र कार्यालय सहयोगीमाथि कुटपिट
मोहन बुढाऐर

धनगढी — अतिक्रमणकारीले वनरक्षक र कर्मचारीमाथि सांघातिक आक्रमण गरेका छन् । वन क्षेत्र कब्जा गरी निर्माण गरिएका संरचना रोक्न गएको टोलीमाथि कैलालीको वसन्ता जैविकमार्गमा बुधबार आक्रमण भएको हो । घटनामा इलाका वन कार्यालयका रेन्जरसहित दुईजना घाइते भएका छन् ।

वन अतिक्रमण रोक्न खोज्दा वनकर्मीमाथि आक्रमण

अतिक्रमणकारीको आक्रमणमा वसन्ता इलाका वन कार्यालयका रेन्जर रामअवतार चौधरी र कार्यालय सहयोगी महेश चौधरी घाइते छन् । उनीहरूको अनुहार र छातीमा गहिरो चोट लागेको छ । जिल्ला वन अधिकृत नवराज काफ्लेका अनुसार कैलारी गाउँपालिका–७ को वसन्ता बैजपुर नजिकै जंगल क्षेत्र अतिक्रमण गरी निर्माण भइरहेको भौतिक संरचना हटाउन गएका वनरक्षक र कर्मचारीको टोलीमाथि अतिक्रमणकारीले आक्रमण गरेका थिए ।

‘जंगलभित्र पक्की संरचना निर्माण भइरहेका थिए,’ आक्रमणबाट बच्न सफल पहलमानपुर वन सेक्टर कार्यालयका उपसचिव भीमप्रसाद कँडेलले भने, ‘हामी अवैध निर्माण कार्य रोकेर फर्कंदा एउटा हूलले सांघातिक रूपमा आक्रमण गर्‍यो ।’ उनका अनुसार निर्माणमा संलग्न मिस्त्री र मजदुरलाई भगाउँदा पनि गाडीमा चढ्ने क्रममा उक्त समूहले अचानक आक्रमण गरेको हो ।

उनले आफूसहित अन्य वनरक्षकले भागेर ज्यान जोगाएको बताए । ‘टोलीमा संलग्न रेन्जर रामअवतार र कार्यालय सहयोगी महेश अतिक्रमणकारीको घेराभित्र परे,’ उनले भने, ‘घेराभित्र परे पनि उम्कन सफल भएकाले उहाँहरू बाँच्नुभयो ।’

वन कर्मचारीले भागेर ज्यान जोगाएका थिए । उनीहरू भाग्दै प्रहरीको सम्पर्कमा पुगेका थिए । प्रहरी टोली समयमै घटनास्थल पुगेर उद्धार गरेकाले ठूलो घटना हुन नपाएको उनले बताए । अतिक्रमणकारीको घेराभित्र परेका रेन्जर रामअवतार र कार्यालय सहयोगी महेशलाई उनीहरूले मुक्का र लात्तीले अनुहार र छातीमा निर्घात ढंगले कुटपिट गरेको उपसचिव कँडेलले बताए ।

उनको नेतृत्वको टोलीमा उदासीपुर इलाका वन कार्यालयका वन अधिकृत राम प्रसाईंसहित ८ जना थिए । जिल्ला वन अधिकृत काफ्लेले घाइते र आक्रमणकारीको घेराबन्दीमा परेका सबै कर्मचारी र वनरक्षकलाई उद्धार गरी बुधबार अबेर जिल्ला वन कार्यालय धनगढीमा ल्याएको बताए ।

घटनामा संलग्न अतिक्रमणकारीको खोजी गरी कारबाही गर्न उनले कैलालीका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराएका छन् । उनले बिहीबार जिल्ला प्रहरी कार्यालयमा समेत उजुरी दिइने बताए ।

प्रकाशित : जेष्ठ १०, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?