कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२८ आरोही कञ्चनजंघा चुचुरोमा

६ वर्षपछि बिनाक्षति ठूलो समूहले आरोहण गरेको हो । गत वर्षको आरोहण प्रयास विफल भएको थियो भने त्यसअघिका दुई वर्ष कसैले प्रयास नै गरेनन् 
आनन्द गौतम

ताप्लेजुङ — चार वर्षको असफलतालाई चिर्दै यो सिजनको तीन दिनमा २८ जनाले कञ्चनजंघा (८,५८६ मिटर) हिमालको सफल आरोहण गरेका छन् । विश्वकै तेस्रो अग्लो शिखर मानिने कञ्चनजंघामा नेपाल, भारत, जर्मनी, ग्रिस र अस्ट्रेलियालगायत देशका नागरिकले आरोहण गरेका हुन् ।

२८ आरोही कञ्चनजंघा चुचुरोमा

जेठ २ गते बुधबार बेलुका ५ जनाको टोलीले पहिलो आरोहण गरेको थियो । बाटो बनाउँदै गएका उनीहरूले त्यही साँझ ५ बजे चुचुरो चुमेका थिए । त्यही टोलीमा गएका ६ जना भने निराश फर्किनुपर्‍यो । जेठ ६ गते आइतबार बिहान सवा ८ देखि साढे ९ बजेसम्म र ७ गते बिहान पौने ४ बजे थप २३ जनाले शिखर आरोहण गरेका थिए ।

सेभेन समिट, एक्सपिडिसन र एसियन ट्रेक प्रालिबाट गएका आरोही शिखर उक्लेका थिए । विदेशीलाई हिमाल पुर्‍याउने दुवै कम्पनीका प्रबन्धक आफैंले पनि आरोहण गरेका छन् । एक्सपिडिसन बेसका निर्देशक संखुवासभा निवासी लाक्पा शेर्पा र एसियन ट्रेक प्रालिका दावा छिरिङ शेर्पाले पनि आरोहण गरेका हुन् ।

जेठ २ गते एक्सपिडिसन बेसका लाक्पासँगै सोलुखुम्बुका पेम्वा ग्याल्जेन शेर्पा, अस्ट्ेरलियाका क्रिस्चिन प्याट्रिसियन बुक, सेभेन समिट ग्रुपबाट रसियाका सेर्गे र जर्मनीका थर्वोले आरोहण गरेको सेभेन समिटका निर्देशक मिङमा शेर्पाले जानकारी दिए ।

जेठ ६ र ७ गते एसियन ट्रेक प्रालिबाट प्रबन्धक दावा छिरिङसहित भारतका निर्मल कुमार, पंकज जोशी, मोन्टीराज खोवा (महिला), पल्केस कल्मा, गौरव काडिया, योगेन्द्र गार्डियल, राहुल गार्नल, कमलखास राओ र अर्जुन भाजपाईले आरोहण गरे ।

यस्तै ग्रिसका अन्टोनियोस साइक्रिस, फोटिअस थेचोरिस, इटालीका अलेसेन्ड्रो डेमेलियाले आरोहण गरेको प्रालिका म्यानेजर सञ्जय बरालले जानकारी दिए ।

नेपाली शेर्पाहरू पेम्बा तेसरिङ शेर्पा, सोनाम तेसरिङ शेर्पा, पासाङ शेर्पा, आङतेन्दी शेर्पा, पेम्बा नुरु शेर्पा, दावा स्टेभेन शेर्पा, लाक्पा शेर्पा जरोक, पेम्बा टेसरिङ शेर्पा, पेम्बा छिरिङ शेर्पा, दा जाङबु शेर्पा, लाक्पा शेर्पा, लाक्पा तेन्जी शेर्पालगायतले आरोहण गरेको बरालले जानकारी दिएका छन् । आरोहण टोली फर्किइनसकेकाले सबैको नाम प्राप्त नभएको उनले बताए ।

६ वर्षपछि बिनाक्षति ठूलो समूहले आरोहण गरेको हो । गत वर्षको आरोहण प्रयास विफल भएको थियो भने त्यसअघिका दुई वर्ष कसैले आरोहण प्रयास नै गरेनन् । त्यसअघि पनि लगातार दुई वर्ष आरोहण गरेर फर्कने क्रममा नेपालीसहित ८ जनाको निधन भएको थियो । उनीहरूको शव अहिलेसम्म भेटिएको छैन । गत वर्ष तीन नेपालीसहित १४ जनाले आरोहण प्रयास गरेका थिए । नेपाल, इजरायल, भारत, स्विट्जरल्यान्ड, कोरिया, जापान र चीनको टोली तीन सय मिटर तलबाट फर्कन बाध्य भएको थियो । उनीहरू हिमपहिरोको त्रासले फर्किएका थिए ।

फर्कियो हेलिकप्टर
कञ्चनजंघा हिमाल आरोहण गरेको टोली लिन गएका दुईवटा हेलिकप्टर तीन दिनपछि फर्किएका छन् । मंगलबार बेलुका गएका हेलिकप्टर आरोही नलिई फर्किएका हुन् ।

खराब मौसमका कारण बेसक्याम्पमा अवतरण गर्न नसकेपछि रित्तै फर्किएको एक्सपिडिसन बेस प्रालिका म्यानेजर सञ्जय बरालले जानकारी दिए ।

आरोहण दल भने अब पैदल फर्कने भएको छ । सेभेन समिट र एक्सपिडिसन ग्रुपको टोली यसअघि नै फर्किएको थियो ।

प्रकाशित : जेष्ठ ११, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?