कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौं हेर्न इँटाभट्टा

‘काठमाडौं अरूले सुनाएजस्तो रहेनछ, इँटाभट्टाको काम पनि साह्रै गाह्रो, अब फेरि आउँदिनँ, बरु आफ्नै खेत खनेर बस्छु’
मधु शाही

भक्तपुर — उनी हतारमा थिइन् । शरीरभरि लागेको इँटाको धूलो टकटकाउँदै मैलो अनुहार पखाल्न धारातिर लागिन् । साथीहरू नुहाएर चिरिच्याट्ट परिसकेका थिए । केही भने बचेका काँचा इँटाका भारी बोक्दै थिए ।

काठमाडौं हेर्न इँटाभट्टा

‘आज नाइटमै घर जाने हो,’ रोल्पा जुगारकी यमकुमारी पुनले भनिन्, ‘काठमाडौं हेर्नकै लागि इँटाभट्टामा काम गर्न आएकी थिएँ ।’

भक्तपुर ताथलीको इँटाभट्टामा रोल्पाका एक हुल श्रमिकले भट्टा र काठमाडौंको अनुभव सुनाए । धेरै मानिस यहाँ काम गर्न आउनुको कारण गरिबी नै हो भन्ठान्छन् । तर, रोल्पाको यो समूहको बुझाइ अनौठो छ । उनीहरूका घरमा खेतबारी छ । खानलाउन काठमाडौं नै आउनुपर्ने स्थिति छैन । तर, गाउँतिर काठमाडौंको प्रशंसा अचाक्ली राम्रो सुनिने हुँदा उनीहरूमा काठमाडौं हेर्ने चाहना थियो । अझ इँटाभट्टामा काम गरेपछि टन्नै आम्दानी हुने सुनेपछि उनीहरू आएका थिए ।

पति र छोराछोरीसहित काठमाडौं आएकी यमकुमारीका लागि काठमाडौं सुनेजस्तो सहर भने भएन । ६ महिना भट्टामा काम गर्दा दिनरात माटो र चिसो खेतमा सुत्नुपरेकाले उनको मन खिन्न भयो । घरमा आफ्नै खेत खनेर जीविकोपार्जन गर्न सक्ने यमकुमारीलाई काठमाडौंको रहर पुग्यो । अब काठमाडौं नफर्कने उनको वाचा छ । ‘इँटा बोक्नु सजिलो काम रहेनछ,’ उनले भनिन्, ‘अब घरै गएर खेतीकिसानी गर्छु ।’ जतिबेला उनी इँटा बोक्थिन्, घरको बाँझै खेत झलझली सम्झन्थिन् ।

रोल्पाकै हरिकला बुढाले पनि सुनेको काठमाडौं र भोगेको काठमाडौंमा निकै अन्तर पाइन् । १८ वर्षकी उनी पति र ८ महिनाकी छोरीसित इँटाभट्टामा काम गर्न आएकी थिइन् । साथी र छरछिमेकीले काठमाडौं झिलमिली सहर छ भनेकै भरमा उनको मन बहकिएको थियो । यहाँ पैसा टन्नै कमाइ हुन्छ भनेर एकजनाले गफ दिएछन् । सुनेकै भरमा गाडीभाडा ऋण मागेर काठमाडौं आएको हरिकलाले बताइन् ।

प्राय: इँटाभट्टामा ६ महिनाको एक सिजन मानिन्छ । यो एक सिजन काम गर्दा हरिकला दम्पतीले २ लाख रुपैयाँजति कमाए । तर, त्यो पैसा बस्नखानमै ठिक्क हुने उनले थाहा पाइन् । ‘यहीं काम गर्‍यो, यतै खर्च हुन्छ,’ उनले भनिन्, ‘काम नगरी काठमाडांैमा भोकै बस्नुपर्दो रहेछ, बरु गाउँ ठीक ।’ अब गाउँ फर्किएर उतै कुखुरापालन गर्ने सोच उनको छ ।


रोल्पा जुगारका गणेश पुनले गाउँमा भारी बोक्ने काम कहिल्यै गरेका थिएनन् । तर, काठमाडांै मोहले उनको पिठ्युँमा भारी ल्याइदियो । इँटाभट्टामा आम्दानी हुन्छ भनेर यतै लागे । दु:ख गरेअनुसारको आम्दानी भने उनले पाएनन् । ‘काठमाडौंले खच्चड बनायो,’ उनले भने, ‘भारी बोक्नै छ भने अब आफ्नै गाउँमा बोक्छु ।’

रोल्पाकै हरिबहादुर नेपाली भट्टामा काम गर्नुभन्दा पहिले मलेसिया थिए । १२ वर्षपछि स्वदेश फर्किएका उनले गाउँमा भविष्य देखेनन् । अन्तिममा उनलाई पनि इँटाभट्टाको काँचो माटोको गन्धले तान्यो । परिवारसहित यही काममा लागेका उनले ६ महिनामा दुई लाख कमाए । अहिले घर फर्किने बेला भने उनीसँग ५० हजार बाँकी छ । बाँकी ६ महिना यही ५० हजारले टार्नु छ उनलाई । काम गर्नुभन्दा पहिले नै पेस्की लिएको बजेट फिर्ता गर्न उनले उल्टै साहुलाई रकम बुझाउनुपर्ने बाध्यता छ । उनलाई पनि दु:खै गर्नु छ भने जन्मथलोमै गर्छु भन्ने पाठ यसले सिकाएको छ ।

हरिबहादुर अब विदेश पनि नजाने, काठमाडौं पनि नबस्ने मुडमा छन् । ‘अब यो सीप लिएर गाउँ नै जान्छु,’ उनले सुनाए, ‘यति पैसा त उतै कमाउन सकिन्छ ।’ उनले धेरै गाउँलेमा काठमाडौं गएपछि सजिलै पैसा कमाइन्छ भन्ने भ्रम रहेको बताए । उनका अनुसार गलत बुझाइले गर्दा कतिपय बालबालिका भागेर पनि काठमाडांै आउने गरेका छन् । ‘गाउँ गएर यस्तो गलत धारणा हटाउन पनि प्रयास गर्छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ १५, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?