कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५६

६४ नयाँ स्तम्भ थपिए

नेपाल–भारत सीमा सर्वेक्षण बैठक

भद्रपुर (झापा) — नेपाल–भारत सीमा क्षेत्रमा थप ६४ वटा नयाँ सीमास्तम्भ थपिएका छन् । सीमास्तम्भ व्यवस्थापन गर्न दुवै देशका अधिकारीको सहभागितामा ४ वर्षअघि ‘फिल्ड वर्क टिम’ बनेको थियो । त्यही टिमको अगुवाइमा सन् २०१४ देखि सीमास्तम्भ व्यवस्थापन हुँदै आएको थियो ।

६४ नयाँ स्तम्भ थपिए

आइतबार भएको सीमा सर्वेक्षण बैठकमा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ४ वर्षभित्र ६४ वटा नयाँ सीमास्तम्भ निर्माण भएको जानकारी दिए । उनका अनुसार एउटा मुख्य र बाँकी सहायक स्तम्भ हुन् । ५ वटा मर्मत गरिएको छ । बैठकले हराएका स्तम्भ खोजबिन गरी मर्मत र पुनर्निर्माणमा जोड दिएको छ । बैठकपछि प्रजिअ दाहालले भने, ‘सीमामा पिलर नहुँदा समस्या हुने गरेको छ, त्यसैले हराएका स्तम्भ खोज्ने, टुटफुट भएकालाई मर्मत गर्नेमा हामी सहमत भएका छौं ।’

बैठकमा इलामका प्रजिअ श्रवणकुमार तिम्सिना, पाँचथरका प्रकाश अधिकारी, मोरङका रामप्रसाद आचार्य र सुनसरीका प्रेमप्रकाश उप्रेतीलगायत सहभागी थिए । भारततर्फबाट सुपौलका डिस्ट्रिक्ट मेजिस्ट्रेड विद्यानाथ यादव, किसनगन्जका महेन्द्र कुमार र हिमांशु शर्मा सहभागी थिए । पश्चिम बंगालको दार्जिलिङ जिल्लाबाट सीमासुरक्षा बल र वनका अधिकारी सहभागी थिए ।

यसअघि झापामा मात्रै २ सय ५४ स्तम्भ ‘गायब’ रहेको नापी विभागले जनाएको थियो । सीमामा हराएका भनिएका स्तम्भहरूको खोजी गरी तिनलाई पुरानै स्थानमा स्थापना गर्न विभागले काम सुरु गरिसकेको छ । नापी विभागका अनुसार झापामा कुल ९ सय ८९ वटा साना, ठूला र मझौला स्तम्भमध्ये २ सय ५४ वटा गायब छन् । झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङमा रहेको ११७ नम्बरको सीमास्तम्भबाट खजुरगाछीको १५२ नम्बर स्तम्भसम्मको करिब १ सय ४६ किलोमिटरमा सानो, मझौला र ठूलो गरी ९ सय ८९ वटा स्तम्भ छन् ।

८ वर्षअघि नेपाली अधिकारीको टोलीले झापामा सीमा विवाद रहेका स्थान, स्तम्भहरूको निरीक्षण र अनुगमन गरेको थियो । अनुमगनपछि टोलीले ५६ ठूला, ३ मझौला र २ सय ५७ वटा साना गरी ३ सय १६ वटा स्तम्भ दुरुस्त अवस्थामा रहेको, १ सय २ वटा ठूला, १९ मझौला र २ सय ५० वटा साना गरी ३ सय ७१ वटा स्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?