कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वन्यजन्तु ओसारपसार बढ्दै

रमेशचन्द्र अधिकारी

धनकुटा — पछिल्लो समय कोसी राजमार्गको धरान–धनकुटा सडक खण्ड वन पैदावार तथा वन्यजन्तुका अंग ओसारपसारको मुख्य नाका बन्दै गएको छ ।

वन्यजन्तु ओसारपसार बढ्दै

यही नाका भएर गैरकानुनी ओसारपसार गर्ने गिरोह सक्रिय देखिएको छ । सालकको खपेटा, भालुको पित्त, कस्तुरीको बिना, जडीबुटी, दुर्लभ वन्यजन्तुको हाडखोर तथा वन पैदावर सखुवाको काठ, रक्तचन्दनलगायतका ओसारपसारमा भेडेटार, लेगुवा, तुम्लिङटार नाका बढी प्रयोग भइरहेको स्रोतले जनाएको छ । गत साता सालकको खबटा र भालुको पित्तलगायत वस्तुसहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यसैगरी तराईमा पाइने सालकको खबटा चीन सीमावर्ती जिल्ला संखुवासभा पुर्‍याइएको अवस्थामा प्रहरीले बरामद गरेको थियो । ती वस्तु सुनसरी हुँदै भेडेटार नाकाबाट संखुवासभा पुर्‍याइएको स्रोतको दाबी छ । भेडेटार नाका हु‘दै पूर्वका धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, पाँचथर, इलाम, ताप्लेजुङलगायत जिल्लाबाट भारत र चीनका विभिन्न नाका सहज आवतजावत गर्न सकिने भएपछि गैरकानुनी वस्तु ओसारपसार गर्नेहरूको चलखेल बढेको हो ।

उता संखुवासभाका नुम, किमाथांका लगायत नाकामा सुरक्षा व्यवस्था र चौबीसै घण्टा चेकजाँच बढाइएको सुरक्षा स्रोतको दावी छ । प्रहरीले विभिन्न शंकास्पद स्थानमा ‘सरप्राइज चेकिङ’ सक्रिय पारेको दाबी गरेको छ । तर पनि अवैध वस्तु ओसारपसारको क्रम रोकिएको छैन ।

यस्तै एक वर्षको अवधिमा जिल्ला वन कार्यालय धनकुटामा वन पैदावर र वन्यजन्तु ओसारपसारसम्बन्धी मुद्दा बढेका छन् । वन पैदावर ओसारपसारका घटना बढ्दै गएको जिल्ला वन अधिकृत कृष्णप्रसाद वस्तीले बताए । ‘हाम्रो सावधानी र कडाइका कारण यस्ता वस्तु नियन्त्रण गरिने क्रम बढेको हो,’ उनले भने, ‘छानबिनको गहिराइमा पुगेर मात्र मुद्दाको किनारा लाग्ने गरेको छ ।’ यस अवधिमा करिब १ सय ७५ क्युविक फिट काठसहित ढुवानी साधन पनि नियन्त्रणमा लिइएको कार्यालयका सूचना अधिकृत शिवकुमार बुढाथोकीले जानकारी दिए । यस अवधिमा सिसौको चिरान काठसहित छथर जोरपाटी गाउँपालिका १ का रामचन्द्र लिम्बू पक्राउ परेका थिए । उनको साथबाट ६१ दशमलव ६८ क्युविक फिट काठ नियन्त्रणमा लिइएको थियो ।

यस्तै छथर जोरपाटी २ का मनबहादुर मगर पनि करिब ३८ क्युविक फिट चिरान काठ ओसारपसारमा पक्राउ परेका छन् । उनको फैसला हुन बाँकी रहेको मुद्दा फाँटका नासु गुणा घिमिरेले जानकारी दिइन् । चौबीसे गाउँपालिका ४ का हरिबहादुर खडका पनि खयरको काठसहित पक्राउ परेका छन् । छथर जोरपाटी २ का बलबहादुर मगर चिरान काठसहित पक्राउ परेका छन् । यसरी एउटै प्रकृतिका मुद्दा पर्नेक्रम बढदै गएको स्रोतको भनाइ छ । धनकुटा प्रहरीले समेत सीमावर्ती सबै नाकामा सुरक्षा संयन्त्र सक्रिय पारिएको दाबी गरेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७५ ०७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?