कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शेरा प्रतिष्ठानद्वारा बिरामीलाई सहयाेग

काठमाडौँ — प्रदेश ३ की उपसभामुख राधिका तामाङका बुवा शेरबहादुर तामाङ र आमा राम्री तामाङको नाममा स्थापित शेरा स्मृति स्वास्थ्य, शिक्षा प्रतिष्ठानले बिरामीलाई सहयोग गरेको छ ।

शेरा प्रतिष्ठानद्वारा बिरामीलाई सहयाेग

काठमाडौंको बानियाँटारमा प्रतिष्ठानले शनिबार गरेको कार्यक्रममा क्यान्सर (अर्बुद), बोनम्यारो, नसालगायत दीर्घरोगका छ जना बिरामीलाई चेकमार्फत रकम सहयोग गरेको हो । बिरामी र आफन्तलाई वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ, प्रतिष्ठानकी संयोजकसमेत रहेकी उपसभामुख तामाङले सहयोग हस्तान्तरण गरे ।

सहयोग पाउनेहरुमा बोनम्यारो पीडित नुवाकोट तादी–४ की अनिता श्रेष्ठ, नसा रोगपीडित शिवपुरी-५ की सबिता ढकाल, फोक्सोको क्यान्सरपीडित दुप्चेश्वरकी फूलमाया तामाङ, शिवपुरी-३ का ब्लड क्यान्सर पीडित नारायणप्रसाद खतिवडा, सिन्धुली घ्याङलेक-१ का सुरेन्द्र बोम्जन, सिन्धुपाल्चोक बाह्रबिसेकी फुलु श्रेष्ठ शेर्पा छन् । अनिता र सबितालाई जनही २५ हजार र अन्यलाई २० हजारका दरले सहयोग दिइएको छ । उनीहरुको काठमाडौं, भक्तपुरका विभिन्न अस्पतालमा भइरहेको छ ।

कार्यक्रममा वनमन्त्री बस्नेतले प्रतिष्ठानले गरेको कार्य प्रशंसनीय रहेको उल्लेख गर्दै यसबाट धेरैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । राजनीतिक अधिकारले मात्रै नागरिकलाई नपुग्ने भन्दै उनले पूर्णलोकतन्त्रका लागि गाँस, बास, कपास, शिक्षा, स्वस्थ्यमा पहुँच पुग्नु पर्ने बताए । त्यसका लागि सरकार जिम्मेवार भएर लागिरहेकोले सबै नागरिक पनि सचेत हुन आवश्यक रहेको उनले बताए ।


सांसद तामाङले संस्कार र संस्कृतिलाई समयअनुसार परिवर्तन गर्दै सामाजिक कार्यमा अघि बढ्न सबैलाई आह्वान गरे ।

स्वास्थ्य सचेतना तथा बिरामीलाई सहयोग हस्तान्तरण कार्यक्रममा वीर अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विष्णुदत्त पौडेल र भरतपुर क्यान्सर अस्पतालका डा. कृष्णसागर शर्माले क्यान्सर रोग लाग्नुको कारण, लक्षण र निदानबारे प्रस्तुतिकरण दिएका थिए ।

प्रकाशित : जेष्ठ २६, २०७५ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?