कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महानगरमा फोहोर थुप्रिँदा समस्या [तस्बिरहरु]

विद्या राई

काठमाडौँ — काठमाडौ‌ं महानगरपालिकाले एक महिनादेखि नियमित रुपमा फोहोर उठाउन छाडेपछि समस्या भएको छ । महानगरका सडक तथा खुल्ला ठाउँहरुमा असरल्ल फोहोर थुप्रिएका छन् ।

महानगरमा फोहोर थुप्रिँदा समस्या [तस्बिरहरु]

फोहोरका कारण दुर्गन्ध फैलिएपछि पैदल यात्रुहरुलाई सडक पेटीहरुमा हिडिसक्नु छैन ।

वर्षातको समय भएकाले अन्य समयको तुलनामा चाडो फोहोर लिन आउनुपर्ने भएपनि एक महिनादेखि फोहोर लिन नआएको महानगरवासीहरुको गुनासो छ । ‘घर डम्पिङसाइट भइसक्यो, अझै नि केही समय फोहोर लिन आएनन् भने रोगकै सिकार बन्नुपर्ने स्थिति आइसक्यो,’ शान्तिनगरका सुशासन श्रेष्ठले दुखेसो पोखे ।


काठमाडौं महानगरपालिका वातावरण शाखाका हरि कुवँरले नुवाकोटको सिसडोलमा बाटो बिग्रेका कारण फोहोर उठाउन कम भएको स्वीकार गरे । ‘फोहोर पटक्कै नउठाएको भन्न मिल्दैन, पहिलेको तुलनामा अलि कम मात्रामा उठाउने गरिएको हो,’ उनले भने ।

वर्षात्‌का कारण बाटो बिग्रिरहने र बनाइरहनपर्ने भएकाले नियमित व्यवस्थापनमा बाधा पुगेको कुवँरले बताए । सिसडोलमा काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे बनेपाको फोहोर व्यवस्थापन हुँदै आएको छ । काठमाडौं उपत्यकाबाट दैनिक एक हजार मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।


महानगरपालिकाबाट दैनिक रुपमा एक सय ३० वटा गाडीले फोहोर सिसडोलमा पुर्‍याउँदै आउँथ्यो भने अहिले मुस्किलले ५० गाडी पठाउन पनि समस्या छ । यसको कारण बाटो बिग्रनुमात्रै नभएर सिसडोलमा फोहोर व्यवस्थापन गर्ने क्षमता पनि भरिएको छ ।


यसको वैकल्पिक व्यवस्थापनबारे महानगर अन्योलमा छ । वातावरण शाखाका हरि कुवँर भन्छन्, ‘फोहोर उपत्यकाभरीको हो, काठमाडौंको मात्रै होइन, सिसडोलको विकल्पबारे सरकारले सोच्नुपर्छ, त्यसपछि स्थानीय तह र स्थानीयहरु पनि सचेत हुनुपर्छ ।’

प्रकाशित : असार ३१, २०७५ १६:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?