कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्मार्ट महानगर’ बनाइने

काठमाडौँ — जनप्रतिनिधि आएको वर्षदिन बितिसक्दा पनि महानगरकै सडकमा खाल्डाखुल्डी छन् । फोहोरमैला व्यवस्थापन पनि फितलो छ । पानी पर्दा सडक र बस्ती समेत आहालझैं देखिन्छन् । शौचालय जानुपर्‍यो भने नजिकको होटेल वा पसलमा खाजा खाने बहानाले पस्नुपर्छ ।

‘स्मार्ट महानगर’ बनाइने

सवारीसाधन अनधिकृत पार्किङ गरेको भन्दै जरिवाना तिर्नुपर्छ । पार्किङ गर्न पर्याप्त स्थान छैनन् । अब महानगरपालिकाले सहरलाई व्यवस्थित बनाउन स्मार्ट ट्वाइलेट, स्मार्ट स्ट्रिट साइन, स्मार्ट बिन, स्मार्ट पार्किङ, साइकल स्ट्यान्ड जस्ता संरचना बनाइने जनाएको छ ।

यी सबै सेवा उपभोग गर्न स्मार्ट फोनमा महानगरले बनाएको ‘एप’ डाउनलोड गर्नुपर्नेछ । सो एपको मद्दतले मोबाइलबाटै ‘बार कोड रिड’ गरेर सेवा उपभोग गर्न पाइन्छ भने त्यसबापतको पैसा पनि काटिनेछ । सकभर ‘क्यासलेस’ सेवा उपलब्ध गराउने महानगरको तयारी छ । यसका लागि आर्थिक वर्ष २०७५/७६ मा बजेट विनियोजन गरिनेछ । पहिलो चरणमा स्मार्ट स्ट्रिट साइन अर्थात् सडक छेउमा सडक चिह्न भएका पोल गाड्ने कार्य भइरहेको छ ।

महानगरका निजी सार्वजनिक साझेदारी इकाई (पीपीपी युनिट) का निर्देशक महेश काफ्लेले लैनचौर वरपर दर्जनभन्दा बढी स्थानमा त्यस किसिमको चिह्न राखिसकिएको जानकारी दिए । उनले भने, ‘यस्ता चिह्न सडक छेउमा राखिनेछन् । त्यसमा कुन बाटो कहाँ जान्छ त्यसको जानकारी दिइनुका साथै समय, तापक्रम, अहिले रहेको स्थानबारे डिजिटल डिस्प्लेमा देखिनेछ ।’ सौर्य ऊर्जाले उक्त डिस्प्ले चल्नेछ । यस किसिमका ५ सय स्ट्रिट साइन हाल्दा झन्डै ५ करोड रुपैयाँ लागत पर्न आउँछ ।

निजी संघसंस्थासँग मिलेर यो बनाउन लागिएको हो । मोबाइल प्रयोगकर्ताको संख्यालाई ध्यानमा राख्दै ठाउँठाउँमा मोबाइल चार्जर पोल राख्ने तयारी छ । यसका साथै बसस्टप र नक्सा पनि डिजिटल राख्ने योजना छ । यी भने अध्ययनको प्रारम्भिक चरणमै रहेको महानगरले जनाएको छ । यसैगरी शौचालयको समस्यालाई मध्यनजर गर्दै स्मार्ट ट्वाइलेट बनाउने महानगरको तयारी छ । हरेक वर्ष नीति तथा कार्यक्रममा शौचालय निर्माणलाई महानगरले राखे पनि बनाउन सकेको छैन ।

महानगरका शौचालय निकै कम, ती पनि पुराना र फोहोर छन् । बढ्दो जनसंख्याका लागि पर्याप्त छैनन् । अब भने ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय बनाइनेछन् । जसको प्रयोग गरिसकेपछि आफैं पानीले सफा हुने, सोलार प्यानलले चल्ने आदि यसका विशेषता हुनेछन् । सडक विभागसँग समन्वय गरी शौचालय बन्ने स्थान पहिचान गरिसकिएको महानगरले जनाएको छ । फोहोरमैला जथाभावी फाल्ने प्रवृत्ति रोक्न फोहोर फाल्नेलाई प्रोत्साहित गर्नेगरी स्मार्ट बिन राखिनेछ ।

कुन–कुन ठाउँमा कति राख्ने, त्यस विषयमा स्पष्ट नभए पनि चाँडै यस विषयमा निर्णय लिइनेछ । यसमा फोहोर फालेपछि त्यसबापत फोहोरको मात्रा र किसिम हेरी पैसा निस्किने वा अन्य कुनै किसिमबाट प्रोत्साहित गरिनेछ । बढ्दो जनसंख्यासँगै बढ्दो सवारी साधन व्यवस्थापन पनि महानगरका लागि चुनौती हो । जथाभावी सवारीसाधन पार्क गरिदिँदा आवागनमा समस्या रहेकाले महानगरभित्र ‘स्मार्ट पार्किङ’ गरिनेछ । साउनको सुरुआतसँगै चिह्न लगाउन सुरु गरिने महानगरले जनाएको छ ।

हाल दरबारमार्ग र न्युरोड गरी दुई स्थानमा सडक छेउमा चिह्न लगाई पार्किङ शुल्क लिने गरी सवारीसाधन पार्किङ व्यवस्थित गर्ने महागरको तयारी छ । महानगरका एक कर्मचारीले भने, ‘न्युरोड क्षेत्रमा त्यहाँका व्यवसायीले बिहानदेखि बेलुकासम्म पार्क गरेर राख्छन् जसले सामान किन्न आउने मारमा पर्छन् । त्यसैले दरबारमार्ग र न्युरोडमा स्मार्ट पार्किङका लागि स्थान छुट्याएको हो ।’ त्यहाँ चिह्न लगाउने कार्य सुरु गरिने र मेसिनले नै स्थान दिनेदेखि शुल्क उठाउनेसम्म गर्ने महानगरले जनाएको छ ।

घरमा बसीबसी एपबाट पार्किङको समय र स्थान बुक गर्न सकिनेछ । राजधानीको ‘कोर एरिया’ अर्थात् पुरानो बस्ती अवलोकनका लागि हाल दुई स्थानमा साइकल स्ट्यान्ड बनाउने तयारी छ ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?