कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४६

अभियन्ताको आरोप–बागदरबार ‘बहुरूपी’

दामोदर न्यौपाने

काठमाडौँ — काठमाडौं महानगरले प्रस्तावित गरेको आफ्नो भवनको नक्सा हो, यो । सात महिनाअघि सार्वजनिक गरिएको यही नक्सालाई महानगर प्रमुख विद्यासुन्दर शाक्यले सम्पदामैत्री र विभिन्न कालखण्डको वास्तु कला झल्कने भनेरका छन् ।

अभियन्ताको आरोप–बागदरबार ‘बहुरूपी’

सम्पदा अभियन्ताले भने यसलाई ‘बहुरूपी’ भन्दै बागदरबार भत्काउनै नहुने बताएका छन् । यही नक्सा अनुसारको भवन महानगरले पहिला भवन बनाउन प्रस्ताव गरेको स्थान टेकुमा बनाउन सुझाव दिएका छन् ।

‘बागदरबार भत्काएर बनाउन लागिएको भवन बहुरूपी छ,’ सम्पदा अभियन्ता सञ्जय अधिकारी भन्छन्, ‘पुरातत्त्वले प्राचीन स्वरूप नबिग्रने गरेर प्राचीन निर्माण सामग्री प्रयोग गरेर बनाउन अनुमति दिएको छ । पुरातत्त्वले भत्काउन दिएको अनुमति विपरीत छ यो नक्सा ।’ यसलाई मल्लकालीन, राणाकालीन र आधुनिक गरी तीन खालको ‘फ्युजन’ गरेर बनाइने महानगरका इन्जिनियर प्रेमबहादुर श्रेष्ठले जानकारी दिए । यो नक्साको डिजाइन पनि श्रेष्ठले नै गरेको हुन् ।

‘हाल बागदरबारमा कुनै पुरातात्त्विक वस्तु नभएको तर भवन भत्काउने क्रममा कुनै पुरातात्त्विक वस्तु फेला परेमा पुरातत्त्व विभागको प्रतिनिधिको रोहबरमा अभिलेख राखेर त्यसको संरक्षण र व्यवस्थापन गरिनेछ,’ शाक्यले भने, ‘बागदरबार भवनको पुनर्निर्माण गर्दा प्रचलित कानुन र भवन निर्माण सम्बद्ध मापदण्ड र प्रक्रियालाई पूर्णत पालना गरिनेछ । भवन निर्माण सम्बन्धमा सम्बद्ध अन्य निकायसँग समेत छलफल गरेर पारदर्शी ढंगले काम गरिनेछ ।’

महानगरको भत्काउने कार्यको सर्वत्र आलोचना भएको छ । सम्पदा अभियन्ताले यसलाई रोक्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली लगायतका विभिन्न निकायमा पत्राचारसमेत गरेका छन् । वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र कानुनका विद्यार्थी सञ्जय अधिकारीले रेक्ट्रोफिट गरेर जोगाउन सकिने अवस्था हुँदाहुँदै पनि महानगरको बलमिच्याइँ र पुरातत्त्व विभागको लाचारीले गर्दा दरबार मास्न लागेको भन्दै मन्त्रिपरिषद् कार्यालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय पुरातत्त्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, काठमाडौं महानगरपापलिकालगायत निकायमा पत्राचार गरेका छन् ।

भवनको बाहिरी मोहोडालाई बहुरूपी देखिने गरी डिजाइन गरिएको छ । मोहोडाको पहिलो भागमा ऐतिहासिक बागदरबार भवनको स्वरूप झल्कने गरेर डिजाइन गरिएको छ । यसको ऐतिहासिक मौलिकता कायम गर्न खोजिएको र यो भित्रको भित्री भाग पनि पौराणिक शैलीमा गरिने उल्लेख छ । मोहोडाको दोस्रो भाग लिच्छविकालीन परम्परागत शैलीको हुने गरेर डिजाइन गरिएको छ । यो मोहोडा भएको भवन साढे ६ तलाको हुनेछ । तेस्रो मोहोडा आुधुनिक शैलीको हुनेछ ।

यसमा महानगरको पहिचान दिने टावरको स्वरूप दिइने गरेर डिजाइन गरिएको छ । १५ तले यो मोहोडाको टावरको माथिल्लो तलाबाट काठमाडौं उपत्यकालगायत विभिन्न हिमशृंखला दृश्यावलोकन गर्न सकिने उल्लेख छ । विपद व्यवस्थापन पनि गर्न सकिने गरेर यसको डिजाइन गरिएको इन्जिनियर श्रेष्ठले जानकारी दिए । यहाँबाट बाइनाकुलर मार्फत महानगरपालिकाभित्र हुने घटनाक्रम अवलोकन गरी विपत् न्युनीकरण गर्न सकिने गरी डिजाइन गरिएको महानगरले जनाएको छ ।

अन्य तलाहरूमा आइटी पार्क, अन्तर्राष्ट्रिय स्तरको कूटनैतिक बैठक, सेमिनार तथा सभासम्मेलन हल हुने उनले जानकारी दिए । ‘महानगरलाई भवन चाहिएको छ,’ अधिकारी भन्छन्, ‘महानगरको सुसिवधाजनक भवन बनोस् । तर बागदबार जोगाउनुपर्छ भन्ने मात्रै हाम्रो माग हो । महानगरले प्रस्तावित गरेको नक्सा अनुसारको भवन अन्त बनाए भइगयो नि । यो काममा हामी महानगरलाई सहयोग गर्न तयार छौं ।’ भवन भित्र चार वटा परम्परागत मल्लकालीन शैलीका चोक हुनेछन् ।

काठमाडौंमा लोप हुन गएको पुरातात्त्विक चोकको पूर्ण स्वरूप झल्कने गरि डिजाइन गरिको उनले जानकारी दिए । ‘सम्पूर्ण प्यासेज, लबी, कोठाहरूमा उज्यालो छिर्ने गरी डिजाइन तयार पारिएको उनले जानकारी दिए । त्यसैगरी अपांङगता भएकाहरूको लागि युनिभर्सल डिजाइन, भूमिगत तलामा १ सय वटा मोटर साइकल पार्किङ गर्ने सुविधा सहितको पार्किङ, बाहिर ग्राउन्डमा ५० गाडीसहित २ सय गाडी पार्किङ गर्ने सुविधा हुने गरेर डिजाइन गरिएको छ ।

त्यसै गरेर म्युजियम, पार्टी पौवा, स्वास्थ्य सेवा–सुविधासहित भवनमा उपलब्ध हुने उनले जनाए । यसको निर्माण लागत १ अरब ५० करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘यही भवन सबलीकरण गरे १५ करोडमा बन्ने महानगरकै अनुमान छ,’ अधिकारी भन्छन्, ‘नयाँ बनाउन झन्डै दुई अरब लाग्ने अनुमान छ । यही भवन जोगायो भने सम्पदा जोगिने मात्रै हैन, जनताको करबाट जम्मा भएको ठूलो धनराशि पनि जोगिन्छ ।’

पुरातात्त्विक महत्त्वको दरबार भएकाले यसलाई नभत्काउन पुरातत्त्व विभाग, राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले महानगरलाई पत्राचार गरेका थिए । पुरातत्त्वले आफ्नै पूर्वअडानविपरीत भत्काउन अनुमति दिएपछि बागदरबार संकटमा परेको हो । महानगरले भने सय वर्ष नपुगेको भन्दै प्राचीन स्मारकभित्र नपर्ने दाबी गर्दै आएको छ ।

प्रकाशित : श्रावण ३, २०७५ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?