कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोरामै थन्किए पुस्तक

नेपाल राष्ट्रिय पुस्तकालय
विद्या राई

काठमाडौँ — नेपाल राष्ट्रिय पुस्तकालयको स्थिति नाजुक बन्दै गएको छ । भौतिक पूर्वाधार र व्यवस्थापन मजबुत नभएपछि मुलुककै ठूलो पुस्तकालय बन्दको अवस्थामा पुगेको हो ।भूकम्पले पुस्तकालय रहेको हरिहर भवन भत्किएपछि बन्द भएको थियो । भवन पुनर्निर्माण नहुँदा हालसम्म पुस्तकालय सञ्चालनमा आउन सकेको छैन ।

बोरामै थन्किए पुस्तक

३ सय वर्ष पुराना तथा ऐतिहासिक महत्त्वका पुस्तकहरू ३ वर्षदेखि गोदाममै थन्किएका छन् । पुस्तकालय प्रमुख उपेन्द्रप्रसाद मैनालीले दुई साताअघि र्‍याकमा सूचीकरण गरी व्यवस्थापन गरेको बताए पनि पाठकमैत्री छैन । धेरैजसो पुस्तक अझै बोरामै छन् । देखाउनकै लागि केही पुस्तक र्‍याकमा राखिएका छन् । ती पुस्तक पनि धुलाम्मे र जथाभावी राखिएका छन् । कतिपय पुस्तक झयाल र भुइँभरि असरल्ल छन् । ढुसी लागेका पुस्तकमा धमिरा र किराले नोक्सान पुर्‍याएका छन् ।

कपुर र बेगन छरेको बन्द कोठामा गन्धले बस्नै सकिँदैन । रेकर्डअनुसार राष्ट्रिय पुस्तकालयमा दर्ता पुस्तक र पत्रपत्रिकाको संख्या १ लाख ५० हजारभन्दा माथि छ । पुस्तकालयले नेपाली, अंग्रेजी, हिन्दी र संस्कृत भाषाका फरक शाखा विस्तार गरेको थियो । मराठी, पाली, फ्रेन्च, जापानी, थाई, मलेसियन र नेपालमा बोलिने विभिन्न भाषाका पुस्तकहरू भूकम्पयता बोरामै थन्किएका छन् ।

व्यवस्थापनका नाममा ५१ हजार ५ सय पुस्तक महेन्द्र भवनमा, २१ हजार ५ सय शैक्षिक जनशक्ति विकास केन्द्र, सानोठिमी र ७ हजार पुस्तक बाल शाखामा छन् । चालू आवमा १२ सय पुस्तक थप भए । ७ सय पुस्तक उपहार प्राप्त भएका थिए । ५ सय पुस्तकालयले खरिद गरेको थियो । नयाँ पुस्तकहरू पनि व्यवस्थित राखिएका छैनन् । पुस्तक राखिएका महेन्द्र भवन र सानोठिमीका भवन सधै बन्द हुन्छन् ।

हरिहरभवन परिसरमा पुस्तकालयको कार्यालयसँगै रहेको बालशाखाका पुस्तक केही व्यवस्थापन गर्न प्रयास गरे पनि हेरचाह चुस्त छैन । साँघुरो कोठमा थन्क्याइएका पुस्तकले पाठकलाई पढ्ने वातावरण छैन । ‘पुस्तकालयमा रिसर्चका लागि आइरहन्छु, पुस्तकहरू पनि छन् तर सन्तोषजनक छैन, कर्मचारीहरू पनि सभाहल जस्तै हल्लाखल्ला गरी बस्नुहुन्छ,’ हुम्लाका कर्ण रोकायाले भने । उनी अनुसन्धान तयारीका लागि राष्ट्रिय पुस्तकालयमा अध्ययन गर्न पटक–पटक आउँछन् ।

‘मुख्य कुरा भौतिक पूर्वाधार रहेछ, भवन नभईकन पाठक पढ्न आउँछन् भन्दैमा यत्राविधि पुस्तक कसरी व्यवस्थापन गर्ने हामीलाई पनि चुनौती छ,’ प्रमुख मैनालीले भने । केन्द्रीय आयोजना कार्यान्वयन एकाइबाट भत्केको भवन पुनर्निर्माण गर्न नक्सा डिजाइन भएको छ । ३९ रोपनीमा बन्ने पाँचतले भवनको डिजाइन आस्ट्रा डेभलपमेन्ट नेटवर्क प्रालिले गरेको थियो ।

मैनालीका अनुसार पुस्तकालयको चालू आवको बजेट ९८ लाख छ । जसमा ९२ लाख रुपैयाँ कर्मचारीकै तलबमा खर्च हुन्छ । राष्ट्रिय पुस्तकालयमा २३ कर्मचारीको दरबन्दी भए पनि १ उपसचिव, ४ अधिकृत, ५ नासु, २ खरिदारलगायत २१ जना कार्यरत छन् ।

पुस्तकालयले पत्रपत्रिका र अन्य प्रकाशनलाई इन्टरनेसनल स्टयान्डर्ड सिरियल नम्बर (आईएसएसएन) दिँदै आएको छ । पुस्तकालय सरकारले २०१३ पुसमा स्थापना गरेको थियो । सुरुमा राजगुरु हेमराज पाण्डेका निजी पुस्तकहरू खरिद गरी पुस्तक संकलन सुरु गरिएको थियो । उतिखेर सिंहदरबार परिसरको सिक्री ढोका भवनमा रहेको उक्त पुस्तकालय २०१७ सालमा ललितपुरको हरिहरभवनमा सारिएको थियो ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?