कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मिचाहा प्रवृत्तिले डुबान

‘पहुँचकै भरमा मापदण्ड मिचेर संरचना निर्माण गर्नेलाई कारबाही नहुँदा बर्सेनि डुबानको समस्या आएको छ’
लीला श्रेष्ठ

भक्तपुर — सूर्यविनायक नगरपालिका ३, बालकोटका विष्णुराज कार्कीले हनुमन्ते खोलामै पौडी सिके । हनुमन्तेको पानी सफा/कञ्चन थियो । बालुवामाथि बगेको सफा पानीमा बालकोट, थिमिका बालकदेखि युवा पौडिन रुचाउने गरेको उनी स्मरण गर्छन् । ‘त्यो दिन धेरै टिक्न सकेन, खोलाको बालुवा चोरेर सिद्धियो,’ उनले भने, ‘बढदो सहरीकरण र अव्यवस्थित ढल मिसावटले २०४८ पछि हनुमन्ते खोला फोहोर भयो ।’

मिचाहा प्रवृत्तिले डुबान

जिल्लामा आधुनिक बस्ती निर्माण सुरु भयो । आधुनिक नयाँबस्ती विस्तारसँगै जग्गाको भाउ चुलियो । भाउ चुलिएकै कारण खोला किनारका जग्गा बस्ती विकासका नाममा प्लटिङ हुन थालेको उनी बताउँछन् । सूर्यविनायक र मध्यपुर थिमिको सीमा हनुमन्ते खोलाको जमिन वर्षौंदेखि विवादित छ ।

ब्लक कारखानाले थिमिस्थित हनुमन्ते खोलाको करिब ७ रोपनी अतिक्रमण गरी उद्योग सञ्चालन गरिरहेको छ । सूर्यविनायक र मध्यपुर थिमिका बासिन्दाबीच खोला फर्काउने विषयलाई लिएर झडप पनि हुने गरेको छ । २०७४ जेठ २६ मा जग्गाको संरक्षण तथा २०२१ सालको नक्सापासका नाममा एकपक्षले राति डोजर चलाएर हनुमन्ते खोलाको बहाव परिवर्तन गर्‍यो ।

हाल दुवै तर्फबाट खोला बगेको छ । लगातारको वर्षाका कारण खोलाको बहाव परिवर्तन भएको स्थान र साबिक स्थानबाट बगेको हुनमन्तेमा आएको बाढी बस्तीमा छिरेपछि बालकोट, थिमिलगायत स्थानमा डुबान भएको कार्कीको भनाइ छ । त्यस्तै, जग्गा व्यवसायीले हनुमन्तेको सहायक घट्टे खोला अतिक्रमण गरी ढुंगाको पर्खाल लगाएको छ ।

सूर्यविनायक नगरपालिका वडा ४, ५ र ७ (साबिक कटुञ्जे/दधिकोट/गुण्डु गाविस) को संगम स्थल घट्टे खोलाको पानी बगिरहेकै स्थानमा ढुंगाको पर्खाल लगाई प्लटिङ गरेको हो । जग्गा प्लटिङ गर्नेले नगरपालिकाको ‘भवन ईजाजत तथा नक्सापास कार्यविधि –२०७४’ को भावनाविपरीत घट्टे खोलाको बीचमै पर्खाल लगाएको छ । जग्गा प्लानिङ गर्दा सार्वजनिक जग्गा एवं साबिकका कुलो, पैनी, खोल्सा, खहरे आदिलाई कित्तामा समावेश गरी प्लटिङ गर्न पाइँदैन । खोला, खहरेका पुराना नक्सा बमोजिमको अधिकार क्षेत्र मिची प्लटिङ गर्न पाइँदैन । नगरपालिकाले घट्टे खोलामा प्लटिङ एवं संरचना निर्माण गर्दा खोलाको दायाँ/बायाँ ८/८ मिटर छोड्नुपर्ने मापदण्ड तोकेको छ । मापदण्डको कार्यान्वयनमा सम्बन्धित निकाय चुप छ ।

त्यस्तै गरी नगरको मुख्य सम्पदाका रूपमा रहेको हनुमन्ते खोला फोहोर तथा अव्यवस्थित हुनुमा जर्मन प्रोजेक्ट भएको भक्तपुर नगरपालिकाका पर्यटन तथा वातावरण समिति संयोजक एवं ९ नम्बर वडाध्यक्ष रवीन्द्र ज्याख्वो बताउँछन् । उनका अनुसार नगरमा दुई चरणमा जर्मन प्रोजेक्टले काम गर्न थाल्यो । पहिलो चरण (२०२७–०३१) मा साना सम्पदा संरक्षण र ढल निकासको काम भयो ।

दोस्रो चरण (२०३२–०४४/४५)मा ‘भक्तपुर विकास परियोजना’ शीर्षकमा घर/घरमा शौचालय बने । परियोजना अन्तर्गत नै पाटी, पौवा, सत्तल, बाटो मर्मतलगायतको काम भयो । खानेपानी र ढलको पाइप बिच्छ्याइयो । माथिल्लो भेग (पूर्वी भेग) को ढल भक्तपुर–७ खंचास्थित २ वटा उपचार पोखरीमा खसाल्न थालेको उनले बताए ।

उपचार पोखरीमा प्रशोधन गरेपछि मात्र हनुमन्तेमा सफा पानी पठाउने प्रक्रिया थालियो । पश्चिम भेगबाट बग्ने ढल भक्तपुर–१ सल्लाघारी स्थित ४ वटा उपचार पोखरीमा प्रशोधन गरी हनुमन्तेमा पानी पठाउन थालेको ज्याख्वो बताउँछन् । परियोजनाले निर्माण थालेको प्रक्रिया २ देखि ३ वर्षबाट टिक्न सकेन । परियोजनाले उपचार पोखरीको प्राविधिक व्यवस्थापनको जिम्मेवारी स्थानीयलाई दिन सकेन ।

‘ढलको लेभलभन्दा उपचार पोखरी माथि पर्‍यो,’ उनले भने, ‘प्राविधिक समस्याका कारण उपचार पोखरीको प्रयोग गर्न सकेन ।’ पोखरीमा जम्मा भएको ढल प्रशोधन भएपछि मात्र नदीमा पठाउनुपर्ने थियो । त्यो हुन सकेन । नगरबाट निस्किएको ढल सिधै खोलामा पुर्‍याइयो । नगरबाट निस्किएको ढल सिधै हनुमन्तेमा बग्न थाल्यो । ‘नगर सफा हुँदै गयो, नदी फोहोर भयो,’ इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठले भने ।

भक्तपुर र मध्यपुर थिमि नगरपालिकाका अधिकांश क्षेत्रको ढल हनुमन्तेमा बग्छ । २०४८ बाट नै नगरको ढल हनुमन्तेमा मिसाउन थालेको मध्यपुर थिमि प्रमुख मदनसुन्दर श्रेष्ठले बताए । दुई नयाँ नगरपालिका (सूर्यविनायक/चाँगुनारायण) ले ढल व्यवस्थापनको खाका तयार पार्न भ्याएको छैन । तर, साबिक गाविसहरूले पनि दुई नगरपालिकाको सिको गर्दै बस्तीबाट निस्किएको फोहोर खोला किनारामै फाल्न थालेपछि नदी/खोला दुर्गन्धित हुनुका साथै साँघुरो हुँदै गएको उनी बताउँछन् ।

जिल्लाको चारवटै नगरपालिका भएर बग्ने हनुमन्ते प्लास्टिकजन्य (नकुहिने) फोहोरले भरिएको छ । ‘विदेशी प्रोजेक्ट आयो भन्दैमा दीर्घकालीन योजना नै नबनाई काम गर्‍यो,’ भक्तपुर नगरपालिका–२ ब्यासीका विष्णुकुमार बासुकलाले भने, ‘खोला माथिको मिचाहा प्रवृत्तिले डुबान/बाढी जस्ता विपद आइलाग्यो ।’ पहुँचकै भरमा मापदण्ड मिचेर संरचना निर्माण गर्नेलाई कारबाही नहुँदा मिचाहा प्रवृत्ति बढेको उनी बताउँछन् ।

चाँगुनारायण नगरपालिका महादेव पोखरी (महाभारत पर्व) हनुमन्तेको उद्गम स्थल हो भने, समागम स्थल काठमाडौं–मध्यपुर थिमि जोडिएको मनोहरामा हो । करिब साढे २३ किलोमिटर दूरी ओगटेको हनुमन्ते नदी विभिन्न कालखण्डका सांस्कृतिक सम्पदाले भरिपूर्ण छ । शैव–बौद्ध सम्पदाहरूले भरिएको हनुमन्तेमा वाल्मीकिको मूर्ति पनि छ ।

वाल्मीकिको मूर्तिले हनुमन्तेको महत्त्व बढाएको इतिहासविद् डा. श्रेष्ठ बताउँछन् । हनुमन्ते किनारामा भेटिने सम्पदाका आधारमा भक्तपुरको बस्ती किरातकालतिरै समृद्ध भइसकेको प्रतीत हुने डा.श्रेष्ठले बताए । हनुमन्तेको महत्त्वलाई नबुझी नगरको ढल सिधै खोलामा मिसाउनु दुर्भाग्यपूर्ण भएको जानकारहरू बताउँछन् ।

अविरल वर्षासँगै खोलामा आएको बाढी बस्तीमा छिरेर डुबान हुँदा गत बुधबार जिल्लामा करिब ५० घर तथा टहरामा आंशिक क्षति भएको तथ्यांक महानगरीय प्रहरी परिसर भक्तपुरको तथ्यांकमा छ । करिब ५ सय घरपरिवार आंशिक विस्थापित हुनुका साथै अन्नबाली, लत्ताकपडा लगायतका जिन्सी सामानहरू क्षति भएको प्रहरी प्रमुख एसपी हिमालयकुमार श्रेष्ठ बताए ।

जनप्रतिनिधिले स्थानीय तह सञ्चालन सुरु गरेपछि हनुमन्ते सफाइ अभियान थालेको छ, प्रभावकारी भने भएको छैन । सफाइ अभियानसँगै नदी किनारमा वृक्षरोपण गर्न (बाँस/नर्कटलगायत बिरुवा) आवश्यक छ,’ त्रिचन्द्र/ख्वप कलेजका वातावरण विज्ञानका उपप्राध्यापक कमलराज गोसाईंले भने, ‘प्लास्टिक जन्य फोहोरहरूको व्यवस्थापन तथा उपचार पोखरीमा फोहोर प्रशोधन गर्न सके समाधान हुन्छ ।’ बाढी, डुबानलगायत विपद न्यूनीकरणका लागि सार्वजनिक/पर्ती जग्गाको संरक्षण, फोहोर व्यवस्थापन तथा प्रस्तावित हनुमन्ते करिडोर निर्माण आवश्यक रहेको कार्की बताउँछन् । स्थानीय तह नेतृत्व गरेका जनप्रतिनिधिले मुख्य तथा सहायक खोलाहरूको अध्ययन, गुरुयोजना निर्माण गरी करिडोर निर्माण गर्नुपर्ने स्थानीयको सुझाव छ ।

हनुमन्ते करिडोर निर्माणका लागि करिब ८३ करोड रुपैयाँ विनियोजन भइसकेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए । हनुमन्ते खोलाको दायाँबायाँ करिब ७८ करोडको लागतमा उपचार पोखरी निर्माण तथा ढल व्यवस्थापनका लागि पाइप बिछ्याउने कार्य भइरहेको र करिडोर निर्माण एवं ढल व्यवस्थापनले डुबानको समस्या समाधान हुने भट्ट बताउँछन् ।

प्रकाशित : श्रावण ४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?