कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघको संख्या घट्दै

अब्दुल्लाह मियाँ

काठमाडौँ — नेपालमा विगत केही वर्षयता बाघको संख्या निरन्तर घट्दै गएको छ । वन तथा वातावरण मन्त्रालयले गरेको गणनामा बाघको संख्या घटेको देखिएको हो । करिब १० महिना लगाएर गरिएको गणनामा चितवन निकुञ्जमै बाघको संख्या १५ वटा कम पाइएको छ ।

बाघको संख्या घट्दै

आहार प्रजातिका हिसाबले चितवन सबैभन्दा बढी बाघ रहेको निकुञ्ज हो । निकुञ्ज विभागको तथ्यांकअनुसार ५ वर्षयता पर्सादेखि शुक्लाफाँटा निकुञ्जसम्म ३३ वटा बाघ प्राकृतिक कारणले मरेका छन् । तीमध्ये चितवन निकुञ्जमा मात्रै १७ मरेका छन् ।

बर्दिया निकुञ्जमा पनि प्राकृतिक हिसाबले ११ वटा बाघ मरेका छन् । तर, बर्दियामा अघिल्लो पटक भन्दा बढी बाघ पाइएका छन् । २०१३ को गणनामा चितवन निकुञ्जमा १ सय २० वयस्क बाघ थिए । यस पटक सय हाराहारी मात्र पाइएको उच्च स्रोतले जनाएको छ । बाघ गणना र तथ्यांक विश्लेषणको सबै जिम्मा राष्ट्रिय निकुञ्ज विभागले लिएको थियो ।

बाघको संख्या बढाउन ५ वर्षयता दातृ निकायले समेत करोडौं रुपैयाँ खर्चेका छन् । जुलोजिकल सोसाइटी अफ लन्डन (जेडएसएल नेपाल) र डब्लूडब्लूएफ नेपालले बाघ र तिनका आहार प्रजातिको संरक्षण, भौतिक संरचना निर्माण र चोरी सिकार नियन्त्रणका लागि ३० करोड रुपैयाँभन्दा बढीका कार्यक्रम सञ्चालन गरेका थिए । विज्ञ सम्मिलित प्राविधिक टोलीले चितवनमा बाघ घटेको जानकारी दिएपछि मन्त्रालयका अधिकारी झस्किएका थिए । यसै कारण उनीहरूले विश्व बाघ दिवसका दिन सार्वजनिक गर्ने भनिएको प्रतिवेदन गुपचुप राखेको स्रोतको दाबी छ । त्यसप्रति बाघ गणना र तथ्यांक विश्लेषणमा सहभागी विज्ञले भने आपत्ति जनाएका छन् ।

सन् २०१३ मा पर्सादेखि शुक्लाफाँटासम्म वयस्क बाघको संख्या १ सय ९८ थियो । पछिल्लोचोटि विभागको अगुवाइमा मंसिर १४ देखि थालिएको गणना फागुनमा सकिएको थियो ।

विभागका इकोलोजिस्ट लक्ष्मण पौडेलका अनुसार गणनामा १२ सय क्यामेरा प्रयोग गरिएको थियो । प्राविधिक टोली संयोजक एवं निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईका अनुसार स्वचालित क्यामेराले ८ हजारवटा तस्बिर कैद गरेका थिए ।

प्रतिवेदन गोप्य राखेको दाबी
वन तथा वातावरण मन्त्रालयले करिब १० करोड रुपैयाँ खर्चेर गरेको गणनामा बाघको संख्या घटेपछि प्रतिवेदन भने गोप्य राखिएको स्रोतले बताएको छ । यसअघि मन्त्रलायले विश्व बाघ दिवसका दिन प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो ।

मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले तथ्यांकको विश्लेषण चलिरहेकाले बाघ दिवसका दिन सार्वजनिक गर्न नसकिएको दाबी गरे । ‘एसईई रिजल्टको जस्तो समस्या भोग्नु नपरोस् भनेर तथ्यांक विश्लेषण जारी राखिएको छ, पूरा भएपछि प्रतिवेदन सार्वजनिक गर्छौं,’ उनले भने । राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले बाघ दिवसका दिन नयाँ तथ्यांक सार्वजनिक गर्ने धोको पूरा गर्न नसकिएको बताए ।

प्रकाशित : श्रावण १४, २०७५ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?