कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साइकल क्लबहरू सक्रिय

प्रशान्त माली

ललितपुर — बुङमतीका अनिल तुलाधारले साइकल कुदाउन थालेको डेढ वर्ष भयो । उनी स्वास्थ्यमा फाइदा पुग्ने भएकाले अरूलाई पनि साइकल चलाउन सुझाव दिन्छन् । भन्छन्, ‘विदेशमा साइक्लिङ गर्नेलाई उच्च सम्मान छ । नेपालमा भने विपरीत छ ।’ उनले नेपालका अधिकांश जिल्लामा सडक सुविधा नपुगेकाले ग्रामीण र हिमाली पर्यटन विकास गर्न साइकल भरपर्दो विकल्प हो ।’

साइकल क्लबहरू सक्रिय

तुलाधरलाई यात्रामा बुङमतीकै सुनील महर्जन, रवीन्द्र तुलाधार, युकेश बज्राचार्य, विद्या तुलाधर, जमुना बज्राचार्यलगायतले साथ दिने गरेका छन् । उनीहरूले बुङमतीमा साइक्लिङ क्लब नै गठन गरेर प्रत्येक साता यात्रा गर्ने गर्छन् ।

सोसियल टुर्स संस्थाले शनिबार ‘काठमाडौं कोरा २०१८ साइक्लिङ च्यालेन्ज’ आयोजना गर्‍यो । र्‍यालीमा अधिकांश युवा सहभागी थिए । पछिल्लो समय साइक्लिङमा युवा जमातको आकर्षण बढ्दो छ । सोसियल टुर्सले गत वर्ष आयोजना गरेको ‘काठमाडौं कोरा २०१७ साइक्लिङ च्यालेन्ज’ बाट संकलित ५ लाख रुपैयाँ बुङमतीमा साइक्लिङ विकास गर्न दिएको थियो । क्लबले अहिले युवायुवतीलाई साइकलयात्रा गर्न प्रेरित गर्दै आएको छ ।

नक्सालका दिपेश पन्थ दैनिक ८ किलोमिटर सइकलयात्रा गर्छन् । उनले साइकल कुदाउन थालेको ३ वर्ष भयो । भन्छन्, ‘पछिल्लो समय बढी मृत्युका कारण प्रदूषण र सवारी दुर्घटना हुन थालेको तथ्यांक छ । काठमाडौंको सवारी चाप, साघुरा सडकमा साइकल एक मात्र विकल्प हो ।’ उनले साइक्लिङले ट्राफिक जाम, पार्किङ समस्या पनि समाधान हुने बताए । सोसियल टुर्स संस्थाका अनुसार काठमाडौंमा विद्यालयमा विद्याथीहर्रूको क्लबबाहेक २ सयभन्दा बढी साइक्लिङ क्लब गठन भइसकेका छन् ।

उपत्यकामा साइकल पर्यटन ठूलो सम्भावना छ । एकदेखि १२ दिनसम्मको टुर प्याकेज बनाए यात्रामा निस्कन मिल्ने ठाउँ छन् । टुर्सका व्यवस्थापक विपिन महर्जन भन्छन्, ‘शिवपुरी, गोर्कण, गोदावरी, नार्गाजुनजस्ता उत्कृष्ट साइक्लिङ गन्तव्य छन् ।’ ललितपुरको दक्षिण पहाडी भेगमा एकदेखि १२ दिनसम्मको प्याकेज टुर गर्न मिल्ने स्थान छन् । साइक्लिङबाट जंगल सफारी, भारदेउको गुप्तेश्वर गुफा, गिम्दीको चमेरे गुफा, गोटिखेलबाट काभ्रेको पनौती निस्कने महादेव गुफा, गिम्दीको चमेरे गुफा र प्युटारको नागगुफा उत्कृष्ट गन्तव्यस्थल पुग्न सक्ने रुट छन् । बाटोमा मृग, खरायो, कालिज, हरिण, जरायो, मृगजस्ता वन्यजन्तु देख्न सक्ने सम्भावना छ । रुट पहिचान गरेर व्यवस्थित बनाउन सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

नेवार समुदायले उपत्यकामा न्हुद या: भिन्तुनाको उपलक्ष्यमा कहिलेकाहीं साइकल र्‍याली गर्ने गरेका छन् । चीन, जर्मनी, डेनमार्कमा साइक्लिङ रुट विकास तीव्र गतिमा भइरहेको छ । विकसित मुलुकमा विद्यालय जान बालबालिका साइकलको प्रयोग गर्छन् । पुरुषभन्दा महिलाले बढी साइकल चलाउँछन् ।

स्थानीय सरकारले पनि साइक्लिङ प्रवद्र्धन गर्न बजेटको व्यवस्था गर्नुपर्ने टुर्सको भनाइ छ । नेपालले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइक्लिङ प्रतियोगिता गर्दै जानुपर्छ । साइक्लिङ सरकारको स्मार्ट सटीको कम्पना पनि साकार पार्न मद्दत गर्ने महर्जन बताउँछन् । ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जन भन्छन्, ‘अन्य नगरपालिकासँग समन्वय गरेर साइक्लिङ रुट पहिचान गर्ने र परम्परागत धार्मिक रुटलाई साइक्लिङ रुटमा परिर्णत गर्नेबारेमा छलफल भइरहेको छ ।’

प्रकाशित : श्रावण १५, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?