२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

फोहोरबाट प्रांगारिक मल

फातिमा बानु

काठमाडौँ — रोजगारीको खोजीमा चितवनदेखि काठमाडौं पसेका अमर लामालाई आजभोलि कामको चाप छ । गल्ने फोहोर छान्ने, मेसिनबाट घाँसपात मसिनो बनाउने अनि थुप्रो बनाएर खाल्डोमा हाल्ने । उनको दिनचर्या यतिमै सकिँदैन ।

फोहोरबाट प्रांगारिक मल

थुप्रोलाई ओल्टोपाल्टो पार्ने, त्यसमा औषधि र पानीको मात्रा मिलाएर हाल्ने । एक थुप्रोलाई २ महिनाजति यस्तै मिहिनेत गरेपछि बन्छ– प्रांगारिक मल । नेपाल प्रदूषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक) सँग आबद्ध उनी यही मल प्रयोग गरी तरकारी बाली र फूलबारी पनि स्याहार्छन् । हाँसपालन पनि गरेकै छन् । हाँस चराउने, दानापानी खुवाउने पनि उनकै जिम्मेवारी हो । चोभारस्थित वागमतीको किनारमा यी सबै काम हुन्छन् । उनी त्यहीं काम गर्ने र बस्ने गर्छन् । ‘फोहोर नै मोहोर’ भन्ने भनाइ सार्थक बनाएका छन् । उनी भन्छन्, फोहोर पनि यति काम लाग्ने चिज हो भनेर थाहा थिएन, आफूसहित परिवारलाई पनि यही काममा लगाउने सोचेको छु ।’ जोडले हावा चल्दा वरपरका बासिन्दा उनलाई घेर्न आइपुग्छन् । फोहोरले बस्ती नै दूषित बनायो भन्ने उनीहरूको गुनासो हुन्छ ।


२० वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन गर्दै आइरहेको नेप्सेम्याकअन्तर्गत ३ सय मजदुरले फोहोरबाटै आम्दानी गरी जीविका चलाइरहेका छन् । नेप्सेम्याकले उपत्यकाबाट दैनिक २ सय टन फोहोर संकलन गर्छ । नकुहिने फोहोर बेच्छ, कुहिनेबाट प्रांगारिक मल बनाएर यसकै व्यवसाय गर्छ । योबाहेक नेप्को वेप्का, जमर्कोे र काठमाडौं महानगरले पनि फोहोरबाट मल बनाउँदै आएका छन् । अघिल्लो वर्ष महानगरपालिकाले उपत्यकाको ६४ समूहलाई फोहोर वर्गीकरण गरी मल बनाउने तालिम दिएको थियो । कुहिने फोहोरबाट बनेको मल कौसीखेती र करेसाबारीमा हाल्न सकिन्छ । यसले घरबाहिर कम फोहोर त निस्कन्छ नै, मल बेच्दा आम्दानी पनि हुन्छ । ताजा तरकारी फलाएर खान सकिन्छ ।


नेप्सेम्याकले ३ हजार घरधुरीबाट ५ सय किलो कुहिने फोहोर मात्रै उठाएर मल बनाउने गरेको छ । कुहिने/नकुहिने फोहोर छुट्याएर दिनेलाई संस्थाले वार्षिक १० किलो मल नि:शुल्क दिने गरेको छ । समुदायबाट दैनिक फोहोर उठाउँछ । हिसाब गर्दा दैनिक १ सय ५० किलो मल उत्पादन हुन्छ । उत्पादित मल नर्सरी व्यवसायी किसान र कौसीखेती गर्नेले किन्ने गरेका छन् । मलबाटै संस्थाले वार्षिक ५ लाख आम्दानी गर्दै आइरहेको छ । वैदेशिक रोजगारमा जान तम्सिएका केही व्यक्ति पनि यहाँ काम गर्छन्, आम्दानीले खुसी छन् । उत्पादित मल प्रतिकिलो २० रुपैयाँमा बिक्ने गरेको छ ।


नेप्सेम्याकका अध्यक्ष टीका दाहाल भन्छन्, ‘फोहोरबाट राम्रो आम्दानी गर्न सकिन्छ, यो क्षेत्रका मजदुरमाथि सामाजिक सम्मान नहुँदा उनीहरू लामो समयसम्म यस्तो काम गर्न चाहँदैनन् ।’ फोहोरलाई लगानी र आम्दानीको क्षेत्र बनाउन सरकारले सघाउनुपर्ने उनको भनाइ छ ।


काठमाडौं महानगरपालिकासँग भने फोहोर छान्ने कर्मचारी नहुँदा सदुपयोग हुन सकेको छैन । संकलित सबै फोहोर सिसडोलमै विसर्जन हुने गरेको छ । गल्ने फोहोरबाट सजिलै मल बन्ने भए पनि उपत्यकामा अधिकांश बासिन्दा भाडाको घरमा बस्ने भएकाले व्यावहारिक हुन सकिरहेको छैन । महानगरपालिको वातावरण व्यवस्थापन विभाग प्रमुख हरिबहादुर कुँवर भन्छन्, ‘हामी पहल गरिरहेका छौं, यसलाई सामूहिक रूपमा अघि बढाउनुपर्नेछ ।’


संस्थाले फोहोरबाट मलका साथै कागजजन्य वस्तु पनि बनाउने गरेको छ । जस्तै, फाइल, भिजिटिङ कार्ड, डायरी । यस्ता सामान व्यावसायिक हुन नसक्दा आफ्नै कार्यालयमा मात्रै प्रयोग भइरहेको दाहालको भनाइ छ । उनले भने, ‘यस्ता स्वदेशी उत्पादन सरकारकै पहल भए मात्रै व्यावसायिक हुन सक्छ, सरकारले सघाए फोहोरबाट ठूलै आम्दानी गर्न सक्छौं ।’

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?