कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजेट अभावमा पुनर्निर्माण रोकियो

कान्तिपुर संवाददाता

भक्तपुर — मल्लकालीन बप्पा (विश्वेश्वर) महादेव मन्दिरको पुनर्निर्माण कार्य रोकिएको छ । मध्यपुर थिमि नगरपालिका–४ बप्पाटोलस्थित १९९० सालको भूकम्पका कारण भत्किएर अवशेष मात्र बाँकी रहेको मल्लकालीन बप्पा महादेव मन्दिर एक वर्षअघि स्थानीय बासिन्दाको आर्थिक, भौतिक र श्रमदानबाट पुनर्निर्माण सुरु गरेको थियो ।

बजेट अभावमा पुनर्निर्माण रोकियो

मन्दिर पुनर्निर्माणका लागि पर्याप्त बजेट अभावका कारण रोक्न बाध्य भएको मन्दिर निर्माण उपभोक्ता समिति अध्यक्ष प्रेमकृष्ण नवाछें श्रेष्ठले बताए ।

मन्दिर निर्माण उपभोक्ता समितिका अनुसार बप्पा महादेव पुनर्निर्माणका लागि करिब १ करोड ५० रुपैयाँ लागत अनुमान गरेको छ, जसमध्ये स्थानीय बासिन्दा, साबिक जिल्ला विकास समितिअन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ सांसद विकास कोष, कमेरोटार जग्गा एकीकरण आयोजनालगायतबाट संकलित करिब ५५ लाख रुपैयाँमा मन्दिरको पहिलो तला निर्माण गरेको जनाएको छ । मन्दिर पुनर्निर्माणका लागि मध्यपुर थिमि नगरपालिकाले चालु आर्थिक वर्षमा २० लाख विनियोजन गरेको, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले २० लाख रुपैयाँ बराबरको काठ उपलब्ध गराएको समिति अध्यक्ष श्रेष्ठ बताउँछन् । मन्दिर निर्माणका लागि सप्ताह लगाएको र सप्ताहबाट ९ लाख ४६ हजार ८ सय ६९ रुपैयाँ बचत भएको समेत जनाएको छ ।

मन्दिरसँगैको फल्चा (पार्टी) मा अवस्थित प्रचलित लिपिमा उल्लेख भएअनुसार नेपाल सम्वत् ९३५ मा पुनर्निर्माण भएको स्थानीय भजन खल: एवं समितिका सल्लाकार बद्रीनाथ ध्वँ श्रेष्ठले बताए । ‘बप्पा महादेव कति सय वर्ष पहिले स्थापना गरिएको भन्ने एकिन छैन,’ उनले भने, ‘पुनर्निर्माण भएकै २०३ वर्ष (नेपाल सम्वत् ९३५) भइसकेछ, पुन: १९९० मा भत्किएपछि पुनर्निर्माण हुन सकेको थिएन ।’ मध्यपुर थिमिको पहिचान खोतल्ने क्रममा मन्दिरको अवशेष जम्मा पारेर मौलिक शैलीमा पुनर्निर्माण थालिएको उनले बताए । श्रीस्वस्थानी व्रतकथाको नवौं अध्यायमा उल्लेख भएअनुसार सत्यदेवीले आगोमा हाम फाली मृत्युपश्चात् महादेवले पोकेर हिँड्ने क्रममा सत्यदेवीको मस्तक (शिर/मस्तक) भाग खसेर बप्पा महादेव उत्पत्ति भएको भन्ने कथन भएको स्थानीय अर्जुन श्रेष्ठले बताए । बप्पा महादेव मन्दिरमा पूजा गरे मनले चिताएको पूरा हुने जनविश्वास छ । विशेषत: बप्पा महादेवमा महाशिवरात्रि, साउनको प्रत्येक सोमबार, एकादशी र पूर्णिमाका दिन भजन तथा पूजा आराधाना गरिने प्रचलन छ ।

भूकम्पले क्षतिग्रस्त बप्पा महादेव मन्दिरको शिलालेख, शिवलिंग (मूर्ति), बसाहा, ढुंगाको जग, कलात्मक प्रवेशद्वारका भाग अवस्थित छन् । सोही अवशेष भागहरूका आधारमा चुनासुर्की, डाँची अपा, माँ अपाको प्रयोगमा किलासमेत नठोकी मल्लकालीन प्यागोडा शैलीमा दुईतले मन्दिर निर्माणमा गर्ने जनाएको छ । मन्दिर चारैतर्फ काठको कलात्मक बुट्टे ढोका रहनेछ ।

मन्दिरको दायाँबायाँ ऐतिहासिक दुई वटा पोखरी थियो । पोखरी पुरिएर लोप भएको स्थानीय विकेश श्रेष्ठले बताए । मन्दिर परिसरमा दुईवटा कलात्मक ढुंगेधारा थियो । ‘कमेरोटार जग्गा एकीकरण गर्ने क्रममा एक ढुंगेधारा पुरिएर लोप भयो, अर्को ढुंगेधारा लोप हुने अवस्थामा छ,’ उनले भने, ‘सम्बन्धित निकायको बेवास्ता र आर्थिक अभावका कारण ढुंगेधाराको संरक्षण हुन सकेन ।’ ती दुई पोखरी र ऐतिहासिक ढुंगेधाराको संरक्षण गर्न सके बप्पा टोल क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न सकिने र मध्यपुर नगरको विकासमा टेवा पुग्ने उनले बताए ।

समितिले बप्पा महादेव पुनर्निर्माण सम्पन्न गरी मन्दिरको सत्तल, ढुंगेधाराको संरक्षण, प्रवेशद्वार निर्माण गरी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा गर्ने लक्ष्य लिएको छ । उक्त संरचना निर्माणमा २ करोड बढी बजेट आवश्यक पर्ने भएकाले उपभोक्ता समितिले आर्थिक तथा भौतिक सहयोगका लागि अपिल गरेका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?