कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नगरपालिका पारदर्शी नभएको भन्दै वडाध्यक्ष विरोधमा

कान्तिपुर संवाददाता

काठमाडौँ — गत आर्थिक वर्षमा भएका खर्च अपारदर्शी भएको र वडालाई कम बजेट छुट्याइएको भन्दै टोखा नगरपालिकाका ५ जना  वडाध्यक्षसहितका जनप्रतिनिधि र मेयरबीच विवाद देखिएको छ ।

नगरपालिका पारदर्शी नभएको भन्दै वडाध्यक्ष विरोधमा

वडाध्यक्षले आइतरबार र सोमबार नगरपालिका अगाडि धर्ना दिएका छन् ।


एक हप्ताअघि मेयरलाई ज्ञापन पत्र बुझाएका उनीहरुले आइतबारबाट धर्ना दिएका हुन् । ११ वटा वडा रहेको उक्त नगरपालिकाको वडा नं. २, ३, ६, ८ र ११ मा कांग्रेसका वडाध्यक्ष छन् ।


वडाध्यक्ष क्रमश: दीपक जोशी, सिंहराज श्रेष्ठ, महेश्वर केसी, केशब बहादुर खत्री र उत्तम अधिकारीका साथै विभिन्न वडाका जनप्रतिनिधि सहित २१ जनाले नगरपालिकाको कार्यालय अगाडि दुई दिन कार्यालय समयमा धर्ना दिएका हुन् ।


गत वर्ष पनि यी ५ वडाले बजेट विनियोजनमा काखापाखा गरिएको भनेर बजेट लिन मानेका थिएनन् ।


वडा नं. २ का अध्यक्ष जोशीले नगर कार्यपालिकामा नेकपा सम्बद्ध जनप्रतिनिधिले बहुमतको आधारमा आफूहरुलाई ‘पेलेर’ निर्णय लिने गरेको बताए ।


‘गतवर्षको हिसाब किताब माग्दा मेयरले आलटाल गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृतले पनि समय दिनुभएन,’ उनले भने, ‘हामीले कार्यपालिका बैठक पनि बाहिष्कार गरेका छौँ । आर्थिक गतिविधिमा पारदर्शीता र वडालाई पर्याप्त बजेट नभएसम्म विरोध गरिरहन्छौँ ।’


उनले शुक्रबारसम्म पनि समस्या समाधान नभए नगरपालिकामा तालाबन्दी गर्ने कार्यक्रम रहेको बताए । जोशीले नगरसभाको माइन्युट र फरक मत राख्न समेत नदिएको आरोप लगाए । उनको भनाइमा गत वर्षभन्दा बजेटको आकार बढेपनि वडालाई दिइएको बजेट घटेको छ । यस वर्षको बजेट ‘केन्द्रीकृत’ बनाइनु गलत रहेको भन्दै उनले वडामार्फत सञ्चालन हुने कार्य र बजेट कटौती सह्य नहुने बताए ।


यता मेयर प्रकाश अधिकारीले भने यो कार्यलाई ‘राजनीति गर्न खोजेको’ र स्थानीय तहका काम कारबाहीका विषयमा ‘बुझेर पनि बुझ पचाएको’ टिप्पणी गरे ।


उनले भने, ‘लिखित रुपमा कहाँ, के समस्या भयो भनेर विमति राख्न आउनुपर्‍यो नि । जहाँसम्म पारदर्शीताको कुरो छ, पहिलेदेखिकै संरचना र प्रविधिका आधारमा लेखा राख्ने काम भइरहेकोले त्यसमा एकैपल्ट परिवर्तन सम्भव छैन ।’


उनले लेखा प्रणाली पारदर्शी नै रहेको र त्यसलाई प्रविधिमैत्री बनाउन लागिरहेको जानकारी गराए । आफूहरु निरन्तर संवादमा रहेको र यसको हल चाँडै निस्किने अधिकारीको भनाइ छ ।


हाल टोखाको नगरसभामा २१ जना कांग्रेसबाट र ३९ जना नेकपाबाट गरी ६० जना छन् । यस आर्थिक वर्षमा उक्त नगरको बजेट ८६ करोड रुपैयाँ छ ।

प्रकाशित : श्रावण २२, २०७५ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?