अवैध कल बाइपास : बदलिँदै शैली

शिल्पा कर्ण

काठमाडौँ — प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रूपन्देहीका रामप्रसाद न्यौपानेलाई साउन ११ मा पक्राउ गर्‍यो । अवैध कल बाइपास (भीओआईपी) विरुद्धको अभियान ‘अपरेसन भोइस फक्स’ अन्तर्गत उनलाई पक्राउ गरिएको थियो । उनले जिल्लाको झुलेनीपुरस्थित आफ्नै घरमा अवैध कल बाइपास गर्ने उपकरण राखेर उक्त धन्दा चलाइरहेका थिए ।

प्रहरीले बरामद गरेको भीओआईपी उपकरण

प्रहरीले छापा मार्दा उनको कोठाबाट एउटा ६४ पोर्टको भीओआईपी गेटवे (सिम बक्स), राउटर, ल्यापटप र दुईवटा मोबाइल बरामद भए । साथै एनसेल, टेलिकम र स्मार्ट सेलका गरी जम्मा ५३ वटा सिमलगायतका कल बाइपासमा प्रयोग हुने उपकरण बरामद भए ।

यसअघि पनि चितवनबाट ब्युरोको टोलीले कल बाइपासमा संलग्न आरोपमा भरतपुरबाट दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रूपन्देहीका विजय गुरुङ र चितवन मंगलपुरका सुनील अधिकारी छन् । गुरुङले काठमाडौंको चन्द्रागिरीमा समेत घर भाडामा लिएर यो धन्दा चलाइरहेको अनुसन्धानका क्रममा बताएपछि प्रहरीले त्यहाँ पनि छापा मार्‍यो । त्यस क्रममा दुवै स्थानमा गरी १२८ र ६४ पोर्टका दुई गेटवे मेसिनलगायत उपकरण भेटिए ।

Yamaha

यी दुई घटनामा पक्राउ पर्नेमा तीन व्यक्ति देखिए पनि पर्दा पछाडिबाट यिनलाई चलाउने विदेशी छन् । रूपन्देहीमा छापा मारेपछि पक्राउ परेकाबाट मुख्य अभियुक्त र भीओआईपी सञ्चालकका बारे प्रहरीले महत्त्वपूर्ण जानकारी संकलन गरेको छ । पाकिस्तानी नागरिक शोएब खान र मुनिर वकास यसमा संलग्न थिए । खान कराँचीमा र वकास टर्कीमा बस्ने गरेका छन् ।

पक्राउ परेका न्यौपानेले वकासलाई फेसबुकमार्फत साथी बनाए । त्यसपछि खानसँग पनि परिचय भयो । तीन महिनाअघि हङकङबाट खानले नै न्यौपानेले पाउने गरी ‘एम्प्लिफायर’ को बाकसमा प्याक गरेर भीओआईपी मेसिन नेपाल पठाइदिए । खानले उक्त उपकरण सञ्चालन गर्ने तरिका र ‘सेटअप’ बारे उतैबाट न्यौपानेलाई जानकारी दिए ।

भरतपुरको घटनामा मुख्य अभियुक्त बंगलादेशको मिर्जापुर बस्ने अन्दाजी ३३/३४ वर्षीय मिर्जा साहिर आलम तुर्जो रहेको प्रहरीको भनाइ छ । उनी हाल ढाकामा बस्ने र त्यहींबाट ‘मेन सर्भर’ सञ्चालन गर्ने गरेको खुलेको छ । उनकै प्रत्यक्ष निगरानीमा काठमाडौंसहित बुटवल, चितवनजस्ता स्थानमा अन्य भीओआईपी सञ्चालन भइरहेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार अवैध कल बाइपासमा दशकअघिसम्म प्रत्यक्ष रूपमा नेपालमै आएर विदेशी संलग्न हुन्थे भने अहिले यो ‘ट्रेन्ड’ फेरिएको छ । ‘अहिले उनीहरू सामाजिक सञ्जालमार्फत जोडिने र विदेशबाटै यता कल बाइपासमा संलग्न हुने गरेको देखिएको छ,’ शर्माले भने, ‘उपकरण उतैबाट पठाइदिने, के–कसरी चलाउने त्यसबारे यता जानकारी गराइदिने गरेका छन् ।’ उनको शब्दमा कल बाइपासमा हाल पक्राउ परिरहेकाहरू ‘बिचौलिया’ हुन्, उनीहरूलाई चलाउने काम विदेशबाट भइरहेको छ । उनीहरूलाई विभिन्न सफ्टवेयरको प्रयोग गरेर विदेशबाटै काम सिकाइन्छ र त्यसमाथि निगरानी राख्ने गरिन्छ ।

अर्को विषय यसमा युवाको संलग्नता हो । अहिले पक्राउ पर्नेमा लगभग सबैजसो ३५ वर्षमुनिका छन् । पहिले ‘आईटी’ वा यस विषयमा जानकार मात्र यसमा संलग्न हुन्थे भने अहिले परिस्थिति फेरिएको छ । युवाहरूलाई प्रविधिमा रुचिका कारणले पनि यस्तो काममा लगाउन सजिलो छ । उनीहरू विभिन्न देश विदेशका मान्छेसँग बोल्न, नयाँ कुरा सिक्न र प्रयोग गर्न चाहिरहेका हुन्छन् । सामाजिक सञ्जालमा सक्रिय हुन्छन् । उतैबाट तलब दिनेगरी सिम र रिचार्ज किन्न राखिएको पनि भेटिएको छ । जुन देशमा कल बाइपास वैध हो वा नभएको देशकाले पनि, त्यहाँबाट यहाँ उपकरण पठाइदिने र यताका युवालाई बाँकी काम गर्न लगाउने र त्यसबापत मासिक केही रकम दिने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

यद्यपि नेपालमै आएर यो धन्दा चलाउने केही विदेशी पनि छन् । ब्युरोले असार १९ मा दिल्लीका २४ वर्षीय जफर खानलाई काठमाडौंको शुभकामना मार्गस्थित एक घरमा भाडा लिई अवैध कल बाइपास गर्ने गरेको भनी पक्राउ गर्‍यो । उनी बसेको कोठाबाट कल बाइपासमा प्रयोग हुने सामग्रीसँगै अन्य महत्त्वपूर्ण जानकारी प्रहरीले पायो । खानले कल बाइपासमा प्रयोग हुने आधुनिक सिम बक्स मगाउने, सिम किन्न भारतीय र नेपालीहरूको नागरिकता, पासपोर्ट र अन्य महत्त्वपूर्ण कागजात जम्मा गर्ने गरेका थिए । यसरी यस अवैध धन्दामा कागजातको दुरुपयोग गरेको देखिएको छ ।

दशकअघि नेपालकै ल्यान्डलाइन नम्बर देखिनेगरी विदेशबाट कल आउँथे, अहिले मोबाइल नम्बर देखिन्छन् । नेपाल भित्रिने कलको वैध ‘गेटवे’ छलेर ल्याइने कल नै अवैध भीओआईपी हो । महँगो विदेशी कलले यसलाई मद्दत पुगेको छ ।

फेरि पनि उही अपराधमा
यही वैशाखमा प्रहरीले एक भारतीय नागरिकसहित दुई जनालाई अवैध भीओआईपी सञ्चालनको आरोपमा पक्राउ गर्‍यो । पक्राउ पर्ने भारत मध्यप्रदेशका २४ वर्षीय विवेक शुक्ला र सिन्धुली सुनकोसी गाउँपालिका स्थायी घर हुने २५ वर्षीय लालबहादुर मगराती थिए । शुक्लालाई काठमाडौं महानगरभित्रकै एक होटलबाट र मगरातीलाई गोठाटारमा एक भाडाको घरमा भीओआईपी सञ्चालन गरेको अवस्थामा पक्राउ गरिएको थियो ।

अनुसन्धानका क्रममा शुक्लाले बर्दियाको गुलरियालाई केही महिना कार्यक्षेत्र बनाएको र हाल काठमाडौंमै बसेर काम गर्ने गरेको देखियो । मगराती भने यसअघि पनि अवैध बाइपासमा संलग्न भई १८ महिना सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् । २०७१ असोजमा उनलाई ललितपुरबाट पक्राउ गरिएको थियो । केन्द्रीय अनुसन्धान ब्युरोको तथ्यांकअनुसार २०६७/६८ देखि गएको आर्थिक वर्षसम्म ‘अपरेसन भोइस फक्स’ अन्तर्गत पक्राउ परेकामाथि दायर गरिएको मुद्दामा मागदाबी गरिएको बिगो झन्डै १२ अर्ब पुग्न थालेको छ । हालसम्म नेपालका १ सय ६ स्थानमा भएका कारबाहीमा २३ हजारभन्दा बढी सिमकार्ड बरामद भएका छन् । ३४ जना विदेशीसमेत गरी १ सय ६४ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमाथि दूरसञ्चार ऐन, २०५३ अन्तर्गत कारबाही हुन्छ ।

कसरी रोक्ने?
विदेशबाट कल आउँदा नेपाली नम्बर देखिएमा नि:शुल्क नम्बर १८८ मा कल गरी त्यस्ता नम्बर टिपाइदिन अनुरोध गर्दै केही दिनअघि नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई सन्देश पठाएको थियो । यसरी भीओआईपीको प्रयोग गर्दै विदेशबाट कल आए आवाज स्पष्ट नसुनिने, विदेशबाट कल गरे पनि नेपाली नम्बर देखिने हुन्छ । यस्तो अवस्थामा प्रयोगकर्ताले भीओआईपीको प्रयोग भएको बुझ्नुपर्छ । यसमा गोपनीयताको सम्भावना पनि कम हुन्छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुगमन विभाग निर्देशक विजय रायका अनुसार दुईबीचको कुराकानी तेस्रो व्यक्तिले सुनिरहेको पनि हुन सक्छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली धेरै छन् । नेपालमा विदेशबाट बढी कल आउने कारण एउटा यो पनि हो । यहाँ सबैतिर इन्टरनेटको पहुँच छैन, भए पनि निकै महँगो छ । केही देशमा भीओआईपी प्रविधिको प्रयोग वैध छ । नेपालका दूरसञ्चार सेवा प्रदायकले अहिलेसम्म यो प्रविधि प्रयोग गर्न हिच्किचाउने गरेका छन् । कहीँकतै यसलाई वैध बनाउने वा विदेशबाट आउने कलको शुल्क घटाउने विषयमा बहसको थालनी हुनुपर्ने प्रहरी अधिकृत बताउँछन् ।

६/७ वर्षअघि नाम चलेकै इन्टरनेट प्रदायकको नाम कल बाइपासमा जोडिएको थियो । तसर्थ इन्टरनेट सेवा दिने नाममा यस्तो धन्दामा सक्रियता वा सहयोग गरिरहेको छ कि भन्नेबारे पनि बहस हुनु जरुरी रहेको प्रहरी अधिकृतहरूको बुझाइ छ । यसले दूरसञ्चार सेवा प्रदायक संस्था मात्र नभई देशले समेत कर गुमाइरहेको छ । त्यसैले दूरसञ्चार प्राधिकरणले यसलाई कसरी कम गर्न सकिन्छ भन्नेबारे सोच्नुपर्ने अवस्था रहेको उनीहरू बताउँछन् ।

ब्युरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णहरि शर्माका अनुसार अनुसन्धानका क्रममा एउटै व्यक्तिको नागरिकता प्रयोग गरी २/३ सय वटा सिम खरिद गरेको भेटिएको छ । शर्माले भने, ‘यस्तोमा एउटा व्यक्तिले कतिवटासम्म सिम निकाल्न पाउने, निकाल्ने क्रममा प्रस्तुत गरिएको कागजात के कति सही हो सो बारे दूरसञ्चार सेवा प्रदायकले विश्लेषण गर्ने कि नगर्ने, उनीहरूको दायित्व हो कि होइन भन्ने प्रश्न खडा हुन्छ ।’ उनका अनुसार दूरसञ्चार प्राधिकरणले चाहेमा अवैध कल बाइपाससम्बन्धी अपराध निकै घट्नेछ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालय भने यस्ता उपकरण भित्रिएको बारेमा जानकारी नभएको बताउँछ। प्रमुख भन्सार प्रशासक श्याम भण्डारी भन्छन्, ‘विमानस्थलबाट सिम बक्स वा यसमा प्रयोग हुने उपकरण ल्याइएको रेकर्ड हामीसँग छैन, सेटअप बक्स, राउटरजस्ता उपकरण आउँछन् ।’ प्राधिकरणका अनुगमन विभाग निर्देशक विजय रायका अनुसार एक व्यक्तिले कतिवटा सिम निकाल्न पाउने भन्ने कुनै नियम छैन । ‘सिम कार्डका दसौं हजार बिक्री केन्द्र छन्। अनि सेवा प्रदायकलाई भीओआईपी प्रविधि नै प्रयोग गर वा प्रविधि फेर भन्न सक्ने हामीसँग अधिकार छैन,’ उनी भन्छन्। यी विषय प्रविधिको बजारले तय गर्ने भएकाले प्रतिस्पर्धामा रहेका कम्पनीलाई नै निर्णयको अधिकार दिइएको उनी बताउँछन् ।

के हो भीओआईपी ?
फरक–फरक दूरसञ्चार कम्पनीहरूको आ–आफ्नै नेटवर्क हुन्छ । नेपालको उदाहरण हेर्ने हो भने यहाँ नेपाल टेलिकम, एनसेल, स्मार्टसेल जस्ता दूरसञ्चार सेवा प्रदायक छन् । नेपाल टेलिकमका ग्राहकले एनसेलका प्रयोगकर्तालाई फोन गर्दा पनि लाग्छ र एनसेलका ग्राहकले स्मार्टसेलका ग्राहकलाई फोन गर्दा पनि लाग्छ । दूरसञ्चार कम्पनीले अर्को कम्पनीको नम्बरबाट आफ्नो नेटवर्कमा फोन आउजाउ हुने व्यवस्था मिलाएका हुन्छन् । यसलाई अन्तरआबद्धता भनिन्छ । देशभित्रका सञ्चालनमा रहेका विभिन्न दूरसञ्चार सेवा प्रदायकबीच अन्तरआबद्धता भएजस्तै संसारभरका दूरसञ्चार सेवा दिने कम्पनीबीच यस्ता अन्तरआबद्धता हुन्छ ।

जस्तो: भारतको कुनै नम्बरबाट नेपाल टेलिकमको नम्बरमा फोन आउजाउ हुन्छ । यस्तै, एनसेलको नम्बरबाट पनि भारत वा अरू देशका नम्बरमा फोन आउजाउ हुन्छ ।

यसबापत दुवै दूरसञ्चार कम्पनीलाई फाइदा हुन्छ । जस्तो– एनसेलको नम्बरबाट कसैले कतारको नम्बरमा फोन गर्‍यो भने एनसेलले ग्राहकबाट जति पैसा प्राप्त गर्छ त्यसको निश्चित प्रतिशत जुन देशको जुन कम्पनीको नम्बरमा उक्त कल गएको हो त्यो कम्पनीले पनि प्राप्त गर्छ ।

विदेशबाट नेपाल आउने कलमा पनि यही नियम लागू हुन्छ । जस्तो– भारतको भोडाफोनको नम्बरबाट नेपाल टेलिकमको नम्बरमा कसैले फोन गर्‍यो भने भोडाफोनले उक्त ग्राहकबाट जति रकम काट्छ त्यो रकमको निश्चित प्रतिशत नेपाल टेलिकमले पनि प्राप्त गर्छ ।

अन्तर्राष्ट्रिय कलमा यस्ता दुई नेटवर्कलाई संयोजनका लागि वैधानिक गेटवे हुन्छ । सामान्य भाषामा भन्दा गेटवे भनेको कल आउजाउ गर्ने बाटो हो ।

तर, भीओआईपी सञ्चालकले यस्ता कललाई वैधानिक बाटोबाट जान नदिइ इन्टरनेट जोडिएको उपकरणको सहायताले अवैध ‘गेटवे’ बाट पठाउँछन् । त्यसकारण यसको तथ्यांक सम्बन्धित दूरसञ्चार सेवा प्रदायकलाई हुँदैन । यसबाट दूरसञ्चार कम्पनीले प्राप्त गर्ने आम्दानी भीओआईपी सञ्चालकले प्राप्त गर्छन् । त्यसैले नेपाल सरकारलाई फाइदाको अंश करका रूपमा पनि प्राप्त हुन्न । यसका लागि उच्च गतिको नियमित इन्टरनेट आवश्यक हुन्छ ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:१३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

हाजिर गरेर कहाँ हराउँछन् वीरका डाक्टर ?

अतुल मिश्र

काठमाडौँ — वीर अस्पतालका अधिकांश डाक्टर दिउँसो १ बजेपछि अस्पतालमा भेटिँदैनन् । नियमअनुसार उनीहरू साँझ ५ बजेसम्म अस्पताल बस्नुपर्ने हो । यसैका लागि सरकारले १ सय ५० प्रतिशतसम्म अतिरिक्त तलब पनि दिने गरेको छ ।

एक कर्मचारीका अनुसार डाक्टरहरू बिहान ९ बजे डिजिटल हाजिर गरेपछि दिउँसोको खाजा खाने समय बाहिर निस्कन्छन् र ५ बजे आएर हाजिर गर्छन् । कोहीचाहिँ बिहान ९ बजे हाजिर गरेपछि एकैचोटि बेलुकी ५ बजे हाजिर गर्न आइपुग्छन् । अझ केही त बिहान हाजिर गरेपछि बेलुकी हाजिर गर्न पनि फर्किंंदैनन् ।

यस्ता डाक्टरमध्ये केहीचाहिँ दिनभर नै अस्पताल वरिपरिकै निजी स्वास्थ्य संस्थामा व्यस्त रहने स्रोतको दाबी छ । स्वास्थ्य मन्त्रालयबाट लिखित इजाजत लिएर मात्रै बाहिर काम गर्न सकिने कानुनी व्यवस्था भए पनि वीरका केही डाक्टरले यसको पालना नगरेको स्वास्थ्य मन्त्रालयका एक पदाधिकारी बताउँछन् । साउन दोस्रो साता वीरको एक सय २९ औं वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले समेत यहाँका वरिष्ठ चिकित्सकले समय नदिने गरेको गुनासो पोखेका थिए ।

‘बिहान ढिलो आउने अनि दिउँसो चाँडै जाने, हाजिर गरेर निजी क्लिनिक, स्वास्थ्य संस्थामा धाउने यहाँको वर्षौंदेखिको समस्या हो,’ अस्पतालकै एक वरिष्ठ चिकित्सक भन्छन्, ‘अस्पताल त एमडी/एमएस/डीएम/एमसीएचलगायतका रेजिडेन्टको भरमा चलिरहेको छ ।’ डाक्टरको भाग्ने प्रवृत्तिले रेजिडेन्टहरूको पढाइ र बिरामीको सेवा प्रभावित भएको छ । उनका अनुसार अस्पताल समयमा निजी क्लिनिक चहार्ने चिकित्सकलाई कुनै कारबाही गरिँदैन ।

ती चिकित्सकका अनुसार अस्पतालले तलब बराबरको रकम शिक्षण भत्ताका रूपमा दिने गरेको छ । अझ २ देखि ५ बजेसम्म बसेबापत तलबको थप ५० प्रतिशत भत्ता दिइन्छ । ‘दुई बजेपछि करिब आधाभन्दा बढी जनशक्ति बेपत्ता हुन्छ,’ एक वरिष्ठ कर्मचारी दाबी गर्छन् ।

वीरमा कर्मचारीको इलेक्ट्रोनिक हाजिर सम्बन्धमा देखिएका कमी–कमजोरी सुधार गर्न भन्दै समितिसमेत गठन गरिएको थियो । ७ सदस्यीय समितिले तीन महिनाको हाजिर अध्ययन गरेर १६ महिनाअघि लिखित प्रतिवेदन दिएको थियो । जसमा सम्बन्धित विभागका प्रमुखलाई हाजिरी, काम र उपस्थिति नियमित भए/नभएको अनुगमन गर्न सुझाइएको थियो । ‘तर हामीले बुझाएको प्रतिवेदनअनुसार काम भएको छैन,’ डा. मनेनप्रसाद गोर्खालीले भने ।

उक्त प्रतिवेदनमा हाजिर रेकर्डबाट देखिएका समस्याबारे औंल्याइएको छ । कतिपय कर्मचारी/चिकित्सक ढिलो आउने गरेको, कतिपय समयमै आए पनि बीचैमा हिँड्ने गरेको, कतिपय चाहिँ ढिलो आउने, चाँडो जाने गरेको, कोही बिदा फारम नै नभरी अनुपस्थित रहने गरेको लगायत समस्या औंल्याइएको थियो ।

वीरका निर्देशक डा. भूपेन्द्र बस्नेतले शिक्षण कार्यमा संलग्नलाई तलबको १५० प्रतिशत र कर्मचारीलाई ५० प्रतिशत अतिरिक्त भत्ता दिने गरिएको बताए । उनले दशकयता अस्पतालमा आकस्मिक छड्के नभएको स्वीकारे तर अस्पताल समयमा कुनै डाक्टर, कर्मचारी बाहिर जाने नगरेको दाबी गरे ।

प्रकाशित : श्रावण २४, २०७५ ०८:११
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT