रानीपोखरीको मन्दिर : विज्ञको सुझाव मानिएन

दामोदर न्यौपाने

काठमाडौँ — चैतमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको बैठकले रानीपाखेरीमा राखिएका सबै कंक्रिट हटाउने निर्णय गरेको थियो ।

२०७२ को भूकम्पले भत्काएको रानीपोखरी परिसर । सम्पदा बचाउ अभियान संघर्ष समितिले बालगोपालेश्वर मन्दिरको पुरातात्त्विक मान्यताविपरीत निर्माणको विरोध गर्दै आन्दोलन गर्ने चेतावनी दिएको छ । तस्बिर : अंगद ढकाल । कान्तिपुर

यो रानीपोखरीबीचको बालगोपालेश्वर महादेवको मन्दिर पुरातत्त्व विभागले फेरि विज्ञको सुझावविपरीत निर्माण सुरु गरेको छ । यसअघि गत चैतमा पनि सुझावविपरीत काम सुरु गरेपछि निर्माण कार्य रोकिएको थियो । उक्त निर्णयमा पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले समेत हस्ताक्षर गरेका थिए । तर, उनी आफैंले उक्त निर्णयविपरीत काम सुरु गरेका छन् ।

बालगोपालेश्वरलाई यसअघि राखिएका सबै कंक्रिट हटाएर प्रताप मल्लकै शैलीमा पुनर्निर्माण गर्ने निर्णय भएको थियो । चैतमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको टोलीले कंक्रिट प्रयोग नगरी निर्माण गर्ने निर्णय गरेका थिए । २०७२ को भूकम्पले भत्काएको मन्दिर मापदण्डविपरीत महानगरले पुनर्निर्माण गरेपछि त्यसको विरोध भएको थियो ।

गत पुसमा बनेको विज्ञ समितिले प्रताप मल्लकै पालाको प्रविधि, निर्माण सामग्री र त्यही स्वरूपमा बनाउने प्रतिवेदन पेस गरे पनि पुरातत्त्व विभागका ३ प्रतिनिधिले असहमति जनाएका थिए । समतिमा ११ विज्ञ थिए । सम्पदा संरक्षण अभियन्ताले विज्ञको सुझावअनुसार काम गर्नुपर्ने माग गर्दै आएका छन् । ‘विज्ञ समितिको प्रतिवेदनअनुसार बनाइनुपर्छ ।’ सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ भन्छन्, ‘विगतमा मापदण्ड मिचियो । हामी सम्पदा कुनै पनि बहानामा सम्पदा नष्ट हुन दिंदैनौं ।’

रानीपोखरीको अहिले भएको शैली गुम्बज हो । प्रताप मल्लको पालामा चाहिं यो ग्रन्थ कुट (शिखर) शैलीमा भएको प्रमाण भेटिएको विज्ञ समितिका संयोजक विष्णु कार्कीले जानकारी दिए । ‘यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रस्ट हुन्छ ।

चित्र सन् १८४५ फेब्रुअरीमा तत्कालीन प्रुसिया देशका राजकुमार वाल्डमार नेपालमा घुम्न आउँदा उनका साथ आएका कलाकारले बनाएको चित्र हो,’ कार्कीले भने, ‘उनीभन्दा १ सय २४ वर्षअघि नेपाल आएका इटालीका जेस्विट्ईपोलिटो डेसिडेरी तिब्बतबाट भारत फर्कने क्रममा गरेको यात्रा वर्णनले पनि पुष्टि गर्छ ।’ सन् १८५० मा ब्रिटिस रेसिडेन्सीमा सर्जन भएर खटिएका एचए ओल्डफिल्ड । उनी १८५० देखि १८६३ सम्म नेपालमै बसेका थिए ।

उनले दुई भागमा स्केचेज फ्रम नेपाल नामको पुस्तकसमेत लेखेका थिए । उनले पनि रानीपोखरीको बारेमा महत्त्वपूर्ण कुरा गरेको कार्कीले जानकारी दिए । उनले रानीपोखरीको बीचमा भएको, त्यो ‘अत्यन्तै सुरम्य वस्तु’ भएको, जसलाई जंगबहादुरले सन् १८५१ मा भत्काई इँटा र प्लास्टरको कुरूप संरचना बनाएको लेखेका छन् । ओल्डफिल्डको यस बयानले बीचमा रहेको रानीपोखरीको बीचमा रहेको मन्दिरलाई डा. डिल्लीरमण रेग्मीले तीनतले छाने शैलीको मन्दिर भनेका छन् । मेरी स्लसरले परम्परागत छानेशैलीको मन्दिर उल्लेख गरिएको कार्कीले जानकारी दिए ।

जंगबहादुरले निर्माण गर्न लगाएको मन्दिर विसं १९९० को महाभूकम्पले क्षति पुर्‍यएकाले अहिलेको शैलीमा जुद्धशमशेरले पुनर्निर्माण गर्न लगाएका थिए । उनले जंगबहादुरले निर्माण गर्न लगाएको गुम्बजाकार शैलीभन्दा केही भिन्न गुम्बजाकार शैलीको शिखर मन्दिर निर्माण गर्न लगाएका थिए । उनले मन्दिरको पुनर्निर्माणका साथसाथै पोखरीको गाह्रोलगायतका क्षेत्रमा समेत मर्मत गर्न लगाई पोखरीको संरक्षण कार्य गरेको हालको पुरातात्त्विक उत्खननबाट समेत स्पष्ट भएको कार्कीले जानकारी दिए ।

‘उत्खननबाट पेटीमा प्रयोग भएका जुद्ध अंकित विसं १९८९ लेखिएका इँटाहरूबाट स्पष्ट हुन्छ,’ कार्की भन्छन्, ‘विसं १९९० को महाभूकम्पलगत्तै रानीपोखरीको जीर्णोद्धार कार्यलाई पनि पहिलो प्रार्थमिकता दिएको पाइन्छ । रानीपोखरी जीर्णोद्धार कार्यको आरम्भ उनले विसं १९८९ का जगेडा इँटाहरूबाट निर्माण गरेको देखिन्छ । जसले भूकम्पपछि रानीपोखरीको जीर्णोद्धार कार्य तत्काल सुरु गरेको प्रमाणित हुन्छ ।’

विज्ञ समितिले समय इतिहासमा भएको गल्ती सच्याउने बेला भएकाले पुरानै शैलीमा बनाउनुपर्ने बताएको छ । ‘प्रविधि छ । सामग्री पाइन्छ । हाम्रो अवस्था जिरोमा पुगेको छैन । हामीले आफूलाई धिक्कार मान्नु हुँदैन,’ उनी भन्छन्, ‘हामीले हचुवाको आधारमा भनेको होइन । आधारसहित भनेको हो । प्रमाणसहित भनेको हो । मन्दिरको ढुंगाको ढेला भेटियो । त्यसको आधारमा पनि यो शिखर शैलीको हो भनेर पुष्टि भएको छ । यो मन्दिर सामान्य आर्किटेक्ट पढेको विद्यार्थीले पनि बनाइदिन्छ । रानीपोखरी पुननिर्माणमा अन्तराष्ट्रिय चासो बढिसक्यो । अब यसको पुनर्निर्माणमा खेलाची गर्नु हुँदैन । खर्च छैन भने खर्च जुटाउन सक्नुपर्छ । बढी पैसा लाग्छ भने बढी पैसा उठाउन तयार हुनुपर्छ । नत्र हामीले प्राचीन वास्तुकला, प्राचीन सीप, प्राचीन ज्ञान, ऐतिहासिकतालाई गुमाउनेछौं ।’

रानीपाखरीमा पोखरीको भाग महानगरपालिकाले र मन्दिरको कामको निर्माणको जिम्मा पुरातत्त्व विभागले लिएको छ । मन्दिरको पनि पहिला महानगरले पुरातात्त्विक मापदण्डविपरीत बनाएपछि त्यसलाई भत्काएर पुरातत्त्वले निर्माणको जिम्मा लिएको थियो । मन्दिरको निर्माण लागत १ करोड २६ लाख रुपैयाँ छ । पोखरीको पुरातात्त्विक एवं ऐतिहासिक तथ्यको खोजी गर्ने क्रममा विभिन्न तथ्यसमेत प्राप्त भएको कार्कीले जानकारी दिए ।

Yamaha

त्यही प्राप्त तथ्यको आधारामा पोखरी पुनर्निर्माण गर्न पनि समितिले सुझाव दिएको छ । ‘सो आधारमा निर्माण गरी पुरानो दक्षता, प्रविधि र स्वरूपको निरन्तरता हुने र मौलिकता कायम हुने हुँदा प्रताप मल्लकालीन पोखरीको सतह निर्माण प्रविधि, गाह्रोको शैली एवं स्वरूप, मौलिक सामग्रीहरूको प्रयोग गर्नाले परम्परागत प्रविधिको निरन्तरता एवं ज्ञानको स्थानान्तरण हुँदै जाने देखिन्छ ।

Esewa Pasal

प्रकाशित : श्रावण २७, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गुहयेश्वरी सत्तल मापदण्डविपरीत

दामोदर न्यौपाने

काठमाडौँ — गुहयेश्वरीमा पुजारी र सुरक्षाकर्मी बस्न बनाइएका ऐतिहासिक सत्तल पुरातात्त्विक मापदण्डविपरीत छन् । साढे तीनतले सत्तल घटाएर साढेदुई तले मात्रै बनाइएको छ । सत्तलको चौडाइ पनि घटाइएको गुहयेश्वरीका पुजारी अभिषेख कर्माचार्यले जानकारी दिए ।

गुहयेश्वरीमा काठमाडौं, भक्तपुर र ललितपुरका कर्माचार्यले पूजा गर्दै आएका छन् । पुजारी बस्ने व्यवस्था सत्तलमै छ । सत्तलमा तीन कबल छन् । ती तीन कबल भक्तपुर, ललितपुर र काठमाडौंका लागि छुटयाइएका हुन् । पुजारी हरेक महिना फेरिन्छन् । हरेक महिना एउटा कबलमा एउटा जिल्लाका पुजारी बस्छन् । यहाँ २७ पुजारी बस्छन् । एउटा कबलमा ९ पुजारी बस्छन् । ‘साँघुरो भयो अब,’ कर्माचार्य भन्छन्, ‘बस्न समस्या हुन्छ ।’ साँघुरो मात्र होइन, बाहिरी भित्री स्वरुप पनि परिवर्तन गरेको कर्माचार्य बताउँछन् । ‘पहिला पुजारी बस्न भित्र ठूला कबल थिए,’ उनी भन्छन्, ‘अब कबल नभई कोठा जस्ता हुने भए भित्री संरचना पनि । हेर्दै दिक्क लाग्दो छ ।’


यहाँ ४ सत्तल छन् । तीमध्ये उत्तरतिरको सत्तल पुजारीका लागि छुट्याइएको हो । पश्चिमको सत्तलमा देवपाल बस्छन् । दक्षिणको सत्तल पाटका लागि छुट्याइएको छ । उत्तरी सत्तलमा भक्तपुर र काठमाडौंका पुजारी बस्छन् । देवपालको पनि १५/१५ दिनमा पालो पर्छ ।


यो मन्दिर हिन्दु मात्र नभइ बौद्ध धर्मावलम्बी पनि पूजा गर्छन् । वैदिकहरूले दुर्गा, काली र पार्वतीका रूपमा पुज्छन् । बौद्ध धर्म मान्नेले चाहिं नैरात्माका रूपमा पूजा गर्ने चलन छ । यी क्षेत्रको रेखदेख पशुपति क्षेत्र विकास कोषले गर्दै आएको छ । यो सत्तलको पुनर्निर्माण पनि पशुपति क्षेत्र विकास कोषले गरेको हो । कोषका सदस्यसचिव प्रदीप ढकालले गुहयेश्वरी मापदण्डविपरीत बनाएको बारे अनविज्ञता जनाए । ‘मापदण्डविपरीत बनेको छ र ?’ उनले भने, ‘खै मलाई त थाहा छैन ।’ ढकाल कोषको सदस्य सचिव बन्नु पहिला नै (२०७३ सालमा) यसको निर्माण सुरु भएको हो । यी सत्तलमध्ये एउटाको छानो राख्ने काम सकिएको छ । एउटाको छानो राख्ने काम धमाधम भइराखेको छ ।


प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार सम्पदाजस्तो छ त्यस्तै बनाउनुपर्छ । ‘सम्पदा संरक्षण भनेको जस्तो छ, त्यस्तै आउँदो पुस्तालाई हस्तान्तरण गर्नु हो,’ पुरातत्त्वविद् भीम नेपाल भन्छन्, ‘संरक्षणको सिद्धान्त पनि यही हो । सम्पदा तोडमोड गर्नु भनेको सम्पदाको मूल्यमान्यता विपरीतको काम हो । सम्पदा मास्नु हो ।’


यी सत्तल झन्डै ३ सय वर्ष पुराना हुन् । पुजारी कर्माचार्यका अनुसार यी सत्तलको निर्माण भक्तपुरका राजा भूपतीन्द्र मल्लले बनाएका हुन् । भूपतीन्द्र विसं १७५३ मा २२ वर्षको उमेरमा भक्तपुरका राजा भएका थिए । उनको शासनकालमा भक्तपुरको कलाकृतिको निकै विकास भएको थियो ।


उनको काम भक्तपुरमा मात्रै सीमित थिएन । कर्माचार्यका अनुसार भक्तपुरका प्रधानहरूले उनलाई राजाबाट हटाए । राजाबाट हटेपछि उनी गुहयेश्वरी आएर बसे । त्यही क्रममा यहाँ सत्तल बनाउन लगाए । यहाँबाट सेना लिएर फेरि भक्तपुर गए । मल्लकालमा बनेका बाहेकका सत्तल पनि छन् यहाँ । यी प्राचीन सत्तलको ढोकासमेत सानो बनाइएको छ । २२ महिनामा सक्ने लक्ष्यसहित निर्माण सुरु भएको थियो । तोकिएको समयमा काम पनि सकिएको छैन । ‘हामीसँग निर्माण गर्ने बेलामा छलफलै गरिएन,’ कर्माचार्य भन्छन्, ‘सत्तलको जगमा पनि पुरातात्त्विक मापदण्डविपरीत आधुनिक निर्माण सामग्री प्रयोग गरिएको छ । पहिला जस्तो छ, त्यस्तै बनाउने भनिएको थियो । तर जस्ताको तस्तै बनाइएन ।


एउटा ठेकेदारलाई भत्काउन दिइयो । अर्काेलाई बनाउन दिइयो । यहाँ भएका पुराना सामानसमेत प्रयोग गरिएन ।’

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT