माटो थुपार्नाले बस्तीमा धोबीखोला

लीला श्रेष्ठ

काठमाडौँ — व्यवस्थित सहरीकरणका लागि बस्ती बीचको खोला किनारमा सडक, फुटपाथसहित करिडोर निर्माण गरियो । करिडोर निर्माणको सही सदुपयोग हुन भने हुन सकेन ।

काठमाडौंको अनामनगरस्थित धोबीखोला करिडोर निर्माणका क्रममा थुपारिएको माटोका कारण डुबानमा परेको मेलम्ची खानेपानीको कार्यालयका कागजपत्र बिहीबार सुकाउँदै कर्मचारी । तस्बिर : हेमन्त श्रेष्ठ । कान्तिपुर

करिडोर निर्माणपछि खोलाको प्राकृतिक बाटो साँघुरिनुको साथै कंक्रिट थुपारिएपछि पानी निर्बाध बग्न नपाउँदा धोबीखोला डुबानमा परेको स्थानीय बासिन्दा बताउँछन् ।

‘करिडोर निर्माण गर्दा थुप्रिएको माटो पन्छाएको छैन, माथिदेखि बग्दै आएको माटो त्यसैमा थुप्रिएको छ,’ काठमाडौं महानगरपालिका–२९ अनामनगरका तुल्सीबहादुर डंगोलले भने, ‘खोलामै फोहोर थुपारिएको छ ।’ खोलाको प्राकृतिक बहाव क्षेत्र मिचेर करिडोर निर्माण गरेको समेत उनले बताए ।

Yamaha

वाग्मती–धोबीखोला दोभानबाट राममन्दिरसम्मको करिब १२ किलोमिटर करिडोर निर्माणको कार्य अन्तिम चरणमा पुगेको धोबीखोला करिडोर निर्माण आयोजनाले जनाएको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार धोबीखोला करिडोर निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । वर्षभरि थुप्रिएको माटो, बालुवा वर्षामा एकैपल्ट माथिदेखि बग्दै आउँदा खोलाको सतह बढ्दै आएकाले पनि डुबानको समस्या बढ्दै आएको उनको भनाइ छ । फोहोर र माटोका कारण खोलाको सतह पाँच फिटभन्दा माथि बढेको स्थानीय बताउँछन् ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार धोबीखोलामा निर्माणाधीन आर्कब्रिज निर्माणले पानी थुनिँदा त्यसको असर अनामनगर, थापागाउँलगायतको बस्तीमा परेको हो । मंगलबार राति परेको वर्षापछि धोबीखोलामा पानीको बहाव बढेसँगै बस्तीहरू डुबानमा परेका छन् । ‘आर्कब्रिज ढलान गर्न खोलामा राखेको फलामका खम्बाहरू निकालेको छैन,’ उनले भने, ‘आर्कब्रिजलगायत पुल निर्माण गर्न खोलामा माटो थुपारिएको छ ।’ खोलाको बीचमा माटो थुप्रिएर पानीले प्राकृतिक बाटो नपाउँदा बस्ती जोखिममा परेको उनी बताउँछन् ।

डुबानले सास्ती
अनामनगरका माधव गौतमलाई मंलबार राति ओछ्यानसम्म छिरेको पानीले ब्युँझायो । उनी मात्र ब्युँझिएनन् ‘युवा ब्वाइज होस्टल’ को भुइँतलामा सुतेका विद्यार्थीहरू ब्युँझिए । ‘आफ्नो भन्दा होस्टेलमा बस्ने विद्यार्थीहरूको बढी चिन्ता लाग्यो,’ उनले भने, ‘भुइँतलामा बस्नेहरूलाई माथिल्लो तलामा सार्‍र्यौं, केही सामान निकाल्न पाइएन ।’ ओड्ने/ओछ्याउनेलगायत सामानहरूमा काम नलाग्ने गरी क्षति पुगेको उनी बताउँछन् । माधवले सञ्चालन गरेको होस्टेल, होटल, जिम सेन्टरलगायतमा पसेको बाढीको फोहोर सफा गर्न ३२ हजार रुपैयाँ पारिश्रमिक नै तिर्नुपरेको र डुबानमा करिब ४ लाख रुपैयाँ बराबरको सामानमा क्षति पुगेको उनले बताए ।

त्यस्तै, बिहीबार दिउँसो बाढीसँगै बगेर आएको फोहोर सफा गर्नमा व्यस्त अनामनगरकै तुलसीबहादुर डंगोल हताशमा देखिन्थे । ‘नयाँ घर बनाउन ल्याएको २ सय ५० बोरा सिमेन्ट भिजेर एक ढिक्का भयो,’ उनले भने, ‘रुद्रमती/धोबी खोला किनारमा अवस्थित घरको भुइँतलामा स्टोर गरेको सबै सामान डुबानमा परेर क्षति भयो ।’

अविरल वर्षासँगै रुद्रमती/धोबी खोलामा आएको बाढीले बानेश्वर, अनामनगरलगायत खोला किनाराको बस्ती डुबानमा पर्‍यो । खोला किनारको घर, पसल, कलेज, स्कुल, प्रेस, कार्यालयहरूमा दुई/तीन फिटसम्म बालुवा, माटोलगायत फोहोर जमेको छ । बाढीसँगै आएको माटो, बालुवा, हिलो दुई दिन सफा गर्दा पनि नसकिएको स्थानीय बासिन्दा बताउँछन् ।

बिहीबार खोला किनारका स्थानीय पम्पसेट, मोटरबाट पानी फाल्न र हिलो माटो पन्छाउन व्यस्त देखिन्थे । डुबानले अनामनगर, देवीनगर, बिजुली बजार, रुद्रमती क्षेत्र प्रभावित भएको छ । धोबी खोला किनारका सुकुम्बासी बस्तीमा बसोबास गर्नेको बिचल्ली भएको छ ।

प्रकाशित : भाद्र १, २०७५ ०८:०६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

खेतीयोग्य जमिनमा पहिरो

७ हजार रोपनी खेर गयो
अनिश तिवारी

सिन्धुपाल्चोक — पुर्ख्याैली खेत पहिरोले बगाएपछि बाह्रबीसे नगरपालिका गाती सिर्गाचेका बेलबहादुर श्रेष्ठले उब्जनी लगाउन पाएका छैनन् । खेती गरेर परिवार धानिरहेका भास्सिएर खोलामा मिल्दै छ ।

सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाको गाती सिर्गाचेमा पहिरोले पुरेको खेतीयोग्य जमिनमा कृषक । जिल्लाभर झन्डै ७ हजार रोपनी जमिन खेर गएको छ । तस्बिर : अनिश । कान्तिपुर

भास्सिएको जग्गा पनि माथिबाट खसिरहेको डाँडाको पहिरोले पुर्न थालेपछि उनको बिचल्ली भएको हो । श्रेष्ठको बाँच्ने आधार यही खेत थियो ।

‘खेत पूरा फाटिरहेको छ, माथिबाट सुक्खा पहिरो ओइरिरहन्छ, दु:ख गरेर खानेलाई प्रकृतिले पनि सतायो,’ श्रेष्ठले भने, ‘अन्नपात उमार्ने ठाउँ नभएपछि हाम्रो त हाहाकार नै मच्चिएको छ ।’ खेतमा उत्पादन भएको तरकारी र अन्न बेचेर उनीहरूले जीवन यापन गर्दै आएका थिए ।

‘अब कसरी के गरेर बाँच्ने हो, भगवान जानुन्, छाक टार्ने बाटो त पहिरोले खायो,’ उनले भने । अरू स्थानमा जग्गा किन्न पैसा नभएको र पहिरोले खेत बगाएपछि मर्नु नै भएको भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पुका सुरबहादुर तामाङले बताए । त्यहीँ उब्जेको तरकारी बजारमा बेचेर परिवारमा बिहानबेलुका जोहो गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘अब त खेतै नरहने भो के गरी खाने ?’

ऋण लिएर काम गर्न पनि बैंक र सहकारीले नपत्याएको उनले सुनाए । सुरबहादुर भन्छन्, ‘पहिरोको जोखिममा परेको जग्गालाई कसरी पैसा दिनु भन्छन् ।’ असार २१ को भोटेकोसी बाढीले तहसनहस बनाएको तातोपानी क्षेत्र अझै तंग्रिन सकेको छैन ।

बेलबहादुर र सुरबहादुरजस्ता जिल्लाका धेरै कृषकलाई बर्खाले झनै पीडा दिएको छ । पुस्तौंपिच्छे काम गरेर खाइरहेको जमिन भास्सिएपछि यहाँका कृषकलाई आयआर्जनमा समस्या भएको छ ।

कृषकले लगाएका अन्नबालीसमेत पहिरोसँगै बगाएपछि जिल्लाभर समस्या व्यापक बन्दै गएको छ । भएको खेत धाँजाधाँजा फाटेपछि विपन्न कृषक बिल्लीबाठ हुन पुगेको जिल्ला भूमि अधिकार मञ्चका माधव ढकालले बताए । ‘ऋण लिएर व्यवसाय गर्नसमेत बैंक या संस्थाले नपत्याएपछि रनभुल्लमा परेको कृषक अन्योलमा देखिन्छन्,’ ढकालले भने ।

भोटेकोसी गाउँपालिकाको तातोपानी, मार्मिङको चाकु बजार, फुल्पिङकट्टी झिर्पु हिन्दी बजार, बाह्रबीसे नगरपालिकाको गाती जम्बुसम्मका कोसी तटीय क्षेत्रका सात हजार रोपनीभन्दा बढी खेतीयोग्य जमिन फाटेको जिल्ला भूसंरक्षण कार्यालयले जनाएको छ ।

‘थप बुझिरहेका छौं, जमिनबारे यकिन तथ्यांक पाइसकेका छैनौं,’ भूसंरक्षणका निमित्त प्रमुख प्रदीपनारायण श्रेष्ठले भने, ‘सात हजारभन्दा बढी खेतीयोग्य जमिन फाटेको छ, बस्ती नै बगेको छ ।’ जमिन पहिरोले बगाएपछि सीमावर्ती र कोसी तटीय क्षेत्रका कृषकलाई समस्यै समस्याले घेरेको उनले बताए ।

बस्तीभर पहिरो लागेकाले पूरा सर्वेक्षण गर्न नसकेको उनले जनाए । हालै भूसंरक्षण कार्यालयले गाउँमै पुगेर तथ्यांक लिइरहेको उनले प्रस्ट्याए । नगरक्षेत्रका २३ कृषकलाई विपद् व्यवस्थापन कोषबाट २ लाख ५० हजार सहयोग गरेको बाह्रबीसे नगरपालिका उपप्रमुख सुशीला पाख्रिनले बताइन् । ‘घट्ट र खेत बगाएका कृषकको क्षति हेरेर जम्माजम्मी यति सहयोग गरेका छौं,’ उनले भनिन् ।

प्रकाशित : भाद्र १, २०७५ ०८:०५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT