त्रिविमा नेपालभाषा पढ्ने बढे

गणेश राई

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर सेमेस्टर प्रणाली सुरु गरेपछि नेपालभाषा (नेवारी) पढ्नेको संख्या बढेको छ । यतिखेर नेपालभाषा स्नातकोत्तर तहमा २२ जना विद्यार्थी पढ्दैछन् भने सातजनाले विद्यावारिधी शोध गर्दैछन् ।

‘त्रिविमा वार्षिक परीक्षा प्रणाली हुँदा नेपालभाषा स्नातकोत्तर तहमा विद्यार्थी आठ–दस जनामात्र हुन्थे,’ त्रिवि नेपालभाषा केन्द्रीय विभाग प्रमुख डा. ओमकारेश्वर श्रेष्ठले भने, ‘सेमेस्टर प्रणाली सुरु भएपछि अहिले विद्यार्थी संख्यामात्र होइन शैक्षिक गुणस्तरसमेत बढेको छ। हिन्दी, संस्कृत विभागको तुलनामा नेपालभाषा बढी प्रभावकारी रुपमा अघि बढेको छ।’ नेपालभाषा केन्द्रीय विभागले गुणस्तर अभिवृद्धिका निम्ति आइतबार गरेको अभिमुखीकरण गोष्ठीमा उक्त जानकारी दिएका हुन्।

Yamaha

प्रमुख श्रेष्ठका अनुसार विभागले नेपालभाषाको पाँच खम्बाका रुपमा भाषा, साहित्य, इतिहास, अनुसन्धान र समालोचना विधालाई लिएको छ। ‘शैक्षिक सामग्रीको अभाव छ,’ विभाग स्थापना भएको ३८ वर्ष पुगेको उल्लेख गर्दै उनले भने, ‘अहिले सेमेस्टर प्रणालीलाई थप बलियो तुल्याउन अभिमुखीकरण गोष्ठी गर्दैछौं।’

त्रिविकी शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठीले गोष्ठीको उद्घाटन गर्दै अन्तर्राष्ट्रिय अभ्यासअनुसार सेमेस्टर प्रणाली लागू गरिएको बताइन्। ‘विश्वविद्यालयले सेमेस्टर प्रणाली लागू गर्नु रहरमात्र होइन, बाध्यता हो,’ विश्वभरि नै सेमेस्टर प्रणाली सञ्चालन रहेको उल्लेख गर्दै उनले भनिन्, ‘आधा पढाइ नेपालमा र आधा पढाइ विश्वका कुनै पनि विश्वविद्यालयमा पढ्न जानसक्ने व्यवस्थाका क्रेडिट ट्रान्सफरका निम्ति सेमेस्टर चाहिएको हो।’

शिक्षाध्यक्ष त्रिपाठीले सेमेस्टर प्रणालीलाई शिक्षक, प्रशिक्षक र विद्यार्थीमाझ प्रभावकारी कार्यान्वयनका निम्ति वेबनर सेरिजमा तालिम तथा प्रशिक्षण तालिम सुरु गरेको बताइन्। उक्त सेरिजको दोस्रो भाग सञ्चालन रहेको समेत जनाइन्।
केन्द्रीय विभागअन्तर्गत स्नातकोत्तर तह र विद्यावारिधिमात्र गराइन्छ। दुई सेमेस्टरदेखि नेपालभाषा पठनपाठन जारी छ। विद्यार्थीले ऐतिहासिक अभिलेख तथा प्राचीन भाषा अध्ययन अनुसन्धानका निम्ति ब्राह्मीलिपि, कुटिलालिपि, रन्जनालिपि, प्रचलित नेवा:लिपि, भुजिमोललिपि सिकाइन्छ। शोधार्थीले सामाजिकशास्त्र, मानवशास्त्र, संस्कृति, इतिहास, भाषा र साहित्य विषय रोज्न पाउँछन्।
सिक्किमकी आरिकमाला प्रधान मातृभाषा संरक्षण अभियानकै निम्ति त्रिविमा नेपालभाषा स्नोतकोत्तर पढ्न आएको बताइन्। ‘भाषा घरमा बोलेरमात्रै नहुने भयो, पढ्ने, लेख्ने र समाजलाई बुझ्न जरुरी ठानेर नेपालभाषा पढेको हुँ,’ यतिखेर शोधकार्यमा व्यस्त रहेको बताउँदै उनले भनिन्, ‘नेपालको राणाशासन पछिको पहिलो प्रधानन्यायधीश हरिप्रसाद प्रधानले नेपालभाषा साहित्य श्रीवृद्धिमा पुर्‍याउनु भएको योगदानलाई लिएर शोध गर्दैछु।’

त्रिविअन्तर्गत पाटन संयुक्त क्याम्पस, पद्मकन्या क्याम्पसमा नेपालभाषा स्नातक तहको पठनपाठन हुने गरेको छ। साथै कक्षा ११ र १२ मा समेत नेपालभाषा ऐच्छिक विषयका रुपमा पढाइन्छ। नेपालका समृद्ध भाषामध्ये नेपालभाषा एक मानिन्छ। नेपालभाषा बोल्नेको संख्या ८ लाख ४६ हजारभन्दा बढी छ। सबैभन्दा बढी काठमाडौं उपत्यकामा यो बोलिन्छ।
विद्यावारिधि शोधार्थी राजनलाल जोशीका अनुसार नेपालभाषामा दुईवटा दैनिक, दर्जन साप्ताहिक र मासिक पत्रिका प्रकाशन हुने गरेको छ। त्यसैगरी वार्षिक दुई सय हाराहारीमा नेपालभाषाका पुस्तक प्रकाशन हुने गरेको छ।


त्रिभुवन विश्वविद्यालय नेपालभाषा केन्द्रीय विभागले गरेको गुणस्तर अभिवृद्धि अभिमुखीकरण गोष्ठीमा विचार व्यक्त गर्दै शिक्षाध्यक्ष प्राध्यापक सुधा त्रिपाठी। तस्बिर : गणेश राई/कान्तिपुर

Esewa Pasal

प्रकाशित : भाद्र ३, २०७५ १९:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

स्वदेशमै अब्बल

नेपालमा अध्ययन हुने एमबीबीएस, इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, आईटी, नर्सिङजस्ता विषयमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै काम पाउने गरेका छन् ।
गणेश राई

काठमाडौँ — विद्यालय तह (कक्षा १२) पार गरेपछि उच्च शिक्षाको स्वागतद्वार नै स्नातक तह हो । यहींबाट विश्वविद्यालय शिक्षाको आरम्भ हुन्छ । विश्वविद्यालयको प्रमुख उद्देश्य भनेको शिक्षकले अध्यापनबाट विद्यार्थीमा ज्ञानको विस्तार गर्ने हो । अनुसन्धानबाट ज्ञानको सिर्जना गर्ने, शारीरिक, मानसिक, नवीन सोचको विकास गर्ने हो ।

ज्ञानलाई नवीन पद्धतिबाट सम्पत्तिका रूपमा रूपान्तरण गर्ने हो । विद्यार्थीले धैर्यपूर्वक ब्याचलर्स डिग्रीको कक्षा ४ वर्ष वा सोभन्दा बढी समयलाई किम्मत ढंगले खर्चिनुपर्ने हुन्छ । विद्यार्थीले हरेक पललाई आफ्नो पकडमा पार्न सक्नुपर्छ ।

राष्ट्रिय परीक्षा बोर्डले भर्खरै कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । पहिलोपटक ग्रेडिङ सिस्टममा नतिजा आएको छ । उपनियन्त्रक कृष्ण घिमिरेका अनुसार ग्रेडिङ प्रणालीमा विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम
‘डी प्लस’ हासिल गरे मात्र स्नातक पढ्न पाउँछ । यसअघि शैक्षिक सत्र २०७३/७४ मा नियमित र आंशिक गरी १ लाख ६० हजार ३ सय जनाले कक्षा १२ पास गरेका थिए । यद्यपि कक्षा ११ र १२ दुवै पास गरेकाले मात्र स्नातक तह पढ्न पाउछन् । तिनै विद्यार्थी विभिन्न विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरूमा भर्ना हुन्छन् ।


हाल खुलेका विश्वविद्यालयको संख्या ११ पुगेको छ । त्रिवि, नेसंवि, लुम्बिनी बौद्ध, केयु, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिम, कृषि तथा वन, खुला विश्वविद्यालयल र राजर्षि जनक विश्वविद्यालय हुन् । डिम्ड युनिभर्सिटीअन्तर्गत पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (वीर अस्पताल) रहेका छन् । सरकारले आर्थिक वर्ष २०७५/७६ बजेट भाषणमा योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छ । अन्य थप विश्वविद्यालय खुल्ने बाटोमा छन् ।


त्रिभुवन विश्वविद्यालयले भर्खरै ५६ औं ग्रेस लिस्ट पास गरेको छ । चार संकाय र पाँच अध्ययन संस्थानका गरी ७३ हजार ९ सय १ जनाले आगामी पुसमा हुने दीक्षान्त समारोहमा भाग लिनेछन् । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार तीमध्ये सबैभन्दा बढी स्नातक उत्तीर्ण ५४ हजार ७ सय ९४ छन् भने मास्टर्स १८ हजार ८ सय ७९, एमफिल १ सय ५६ र पीएचडी ७२ छ । त्रिविका शिक्षाशास्त्र, व्यवस्थापन, मानविकी तथा सामाजिकशास्त्र र कानुन संकाय, अध्ययन संस्थानअन्तगृत विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, वन विज्ञान, चिकित्साशास्त्र, कृषि र पशु विज्ञान अध्ययन संस्था छन् । मुलुकको जेठो विश्वविद्यालय त्रिविमै सबैभन्दा बढी विद्यार्थी पढ्छन् । संकायका आधारमा आउँदो पुसमा दीक्षित हुनेहरू शिक्षाशास्त्रमा २४ हजार ७ सय ३, व्यवस्थापनमा २२ हजार ६ सय ९, मानविकीतर्फ १४ हजार २ सय १५ र कानुनमा १ हजार ३ सय ५० छन् । विज्ञान तथा प्रविधिमा ५ हजार ९ सय ५५, इन्जिनियरिङमा २ हजार ७ सय १२, चिकित्साशास्त्रमा १ हजार ८ सय २१, कृति र पशुविज्ञानमा ३ सय २६ र वनविज्ञानमा २ सय १० छन् । संख्यात्मक हिसाबले त्रिविभन्दा अन्य विश्वविद्यालयबाट थोरै संख्यामा विद्यार्थी उत्पादन हुने गरेको छ ।


शिक्षाविद् कमलकृष्ण जोशी नेपालमा उच्च शिक्षा हासिल गरेका जनशक्तिलाई रोजगारीको समस्या रहेको औल्याउँछन् । ‘धेरै विश्वविद्यालय खुलेकाले विद्यार्थीलाई वैकल्पिक रोजाइ बढेको छ,’ समयअनुसार समाजले माग गरेको विषयहरू, अन्तर्राष्ट्रिय बजारले माग गरेका कार्यक्रमहरू स्वेदशमै पठनपाठन हुनु सकारात्मक पक्ष रहेको उल्लेख गर्दै जोशी भन्छन्, ‘शिक्षा भनेको नयाँ ज्ञानका लागि हो । देशको सामाजिक, आर्थिक उपार्जनका लागि हो । दोष शिक्षालाई दिने गरिएको छ । तर, दक्ष स्नातकलाई रोजगारी दिने राज्यसँग क्षमता नहुनुचाहिं मुख्य समस्या हो । हाम्रो शिक्षालाई दोष दिनेभन्दा पनि रोजगारी सिर्जना गर्ने निकाय, संस्थालाई दोष दिनुपर्छ । राजनीतिज्ञ र उद्योग सञ्चालकले आफ्नो दोष लुकाउनमात्र तम्सिँदै छन् । जसका कारण स्नातकहरू विदेश पलायन हुने गरेका छन् ।’


नेपालमा अध्ययन हुने एमबीबीएस, इन्जिनियरिङ, हस्पिटालिटी म्यानेजमेन्ट, आईटी, नर्सिङजस्ता विषयमा उत्पादित जनशक्तिले अन्तर्राष्ट्रिय बजारमा समेत सजिलै काम पाउने गरेको उनी उल्लेख गर्छन् ।


त्रिवि विज्ञान संकायका डिन प्राध्यापक डाक्टर रामप्रसाद खतिवडा स्नातक शिक्षाका निम्ति विद्यार्थी विदेशिन नहुने बताउँछन् । केही मल्टी डिसिप्लिनरी विषयबाहेक नेपालमा संसारमै चलेका विषय र कार्यक्रम स्नातक तहमा पढाइन्छन् । विद्यार्थीलाई मेरो आग्रह छ कि स्नातक तह स्वदेशमै पढ्नोस् ।


कक्षा १२ पछि विदेश जाँदा धेरै समस्या झेल्नुपर्ने हुन्छ । कतिपय अवस्थामा विदेश गएर पढ्दा विषय मिल्दैन । त्यहाँ पढेको विषय स्वदेश फर्केर समकक्षता लिनसमेत समस्या हुन्छ । स्नातकपछि मास्टर्स, एमफिल, पीएचडीका निम्ति जाँदा उत्तम हुन्छ । नेपालको शिक्षा सैद्धान्तिक ज्ञान बढी र प्राक्टिकल कम छ । तर पनि यसले अन्तर्राष्ट्रिय रूपमा अध्ययनका निम्ति बलियो आधार दिन्छ ।’ त्रिवि व्यवस्थापन संकाय डिन डिल्लीराज शर्मा नेपालको पाठयक्रम अन्तर्राष्ट्रिय स्तरको र विश्वका कुनै पनि विश्वविद्यालयभन्दा कमजोर नरहेको दाबी गर्छन् । ‘व्यवस्थापनका विविध विषय छन् । स्वदेशमै स्नातक तह पढ्नुको तात्पर्य शुल्क कम लाग्छ । स्नातक तहको शिक्षाका निम्ति बिदेसिनु नजिकको देउता हेला भनेजस्तो हो ।’ यद्यपि धेरै क्याम्पस भएकाले गुणस्तरमा भने आशंका रहने उनी स्विकार्छन् ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डाक्टर भूषण श्रेष्ठ उच्च शिक्षामा सरकारको लगानी कम भएको बताउँछिन् । ‘उच्च शिक्षा बढी खर्चालु छ, त्यसैले सरकारको लगानी हुनुपर्छ,’ उच्च शिक्षा स्वदेशमै गुणस्तरीय रहेको उल्लेख गर्दै उनी भन्छिन्, ‘सरकारको उच्च शिक्षा हेर्ने दृष्टिकोण फरक हुनुपर्छ । विश्वविद्यालयलाई अनुदान आयोग र शिक्षा मन्त्रालयले नियन्त्रण होइन, सहजीकरण गरिनुपर्छ ।’


अघिल्लो सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोग, २०७४ ले प्रारम्भिक मस्यौदा सिफारिस गर्दै उच्च शिक्षा गुणस्तरीय हुन नसकेको औल्याएको छ । उच्चशिक्षामा मानविकी, शिक्षाजस्ता विषयमा बढी जनशक्ति भएको र प्राविधिक एवं व्यावसायिक जनशक्तिको कमी रहेको भनेको छ । त्यसनिम्ति कुन ठाउँमा कस्तो विश्वविद्यालय खोल्ने, कहिले खोल्ने, कसले लगानी गर्ने, कुन मोडको हुने एवं मानित, सम्बन्धन दिन सक्ने वा प्रतिष्ठान तहको हुने भन्ने कुरा पहिल्याउन विश्वविद्यालय तथा त्यसका क्याम्पसहरूको नक्सांकन हुनुपर्ने भनेको छ । हाल खुलेका विश्वविद्यालय तथा तिनका क्याम्पसहरूले व्यावसायिक एवं प्राविधिक तथा बहुप्राविधिक धारमा जान चाहेमा प्रदेश तथा संघले सघाउने व्यवस्था गरिनुपर्ने उल्लेख छ । त्यस्तै नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्र भएकाले अन्तर्राष्ट्रिय मानकमा १०० भित्र पर्ने खुला वा बन्द विश्वविद्यालय र तिनका क्याम्पस तथा कार्यक्रमहरूलाई मात्र प्रवेशको स्वीकृति दिइनुपर्ने भनेको छ।

प्रकाशित : श्रावण ३१, २०७५ ११:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT