कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कलेज सञ्चालक झगडामा

विद्यार्थीको पढाइ अन्योल

भक्तपुर — चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालकबीचको विवादले विद्यार्थीको भविष्य अन्योलमा परेको छ । विभाजितमध्ये एकपक्षीय सञ्चालक नियमित कलेज आउने गर्छन् । अर्को पक्षकाले कलेजबाहिर बैठक बसी निर्णय गर्नुका साथै कलेजको बैंक खातासमेत बन्द गरेका छन् ।

कलेज सञ्चालक झगडामा

संस्थाको सञ्चालक समितिमा संस्थापक सदस्यका तर्फबाट ७, स्थानीय समाजसेवीका तर्फबाट १, अभिभावक र विश्वविद्यालयको प्रतिनिधित्व गर्ने एक/एक र प्राचार्य सदस्यसचिव गरी ११ सञ्चालक छन् । सञ्चालकमध्ये ७ संस्थापक सञ्चालक (लम्बोदर न्यौपाने, सूर्यबहादुर केसी, डा. रामरत्न उपाध्याय, डा.उपेन्द्र गौतम, लवराज भट्टराई, हरिप्रसाद पाण्डे र सलिल भट्टराई) छन् ।

अभिभावकका तर्फबाट डा. दीपक भट्टराई, स्थानीय समाजसेवीका तर्फबाट चाँगुनारायण नगरप्रमुख सोमप्रसाद मिश्र र पोखरा विश्वविद्यालयको प्रतिनिधि अर्जुन गौतम तथा कलेजका प्राचार्य डा. हरिकृष्ण श्रेष्ठ छन् ।

संस्थापक ७ सञ्चालकमध्ये अध्यक्ष लम्बोदर न्यौपानेसहित सूर्यबहादुर केसी, डा.रामरत्न उपाध्याय, डा.लवराज भट्टराई र उपेन्द्र गौतम गरी ५ एक पक्षमा छन् । सलिल भट्टराई र हरिप्रसाद पाण्डेलगायत अर्को पक्षमा छन् ।

२०५१ बाट गैरनाफामूलक संस्थाका रूपमा सञ्चालित इन्जिनियरिङ कलेजलाई अध्यक्ष लम्बोदर न्यौपाने पक्षका सञ्चालकले प्रालि बनाउने र सम्पूर्ण सम्पत्ति हडप्ने, कलेजलाई चाँगुनारायणबाट अन्यत्रै सार्ने र पोखरा विश्वविद्यालयको सम्बन्धन खारेज गरी मध्यपश्चिम विश्वविद्यालयबाट नयाँ सम्बन्धन लिने प्रयास गरेपछि विवाद सुरु भएको थियो । विवादपछिको विरोध तथा आन्दोलनपछि कम्पनी रजिस्ट्रारको कार्यालयमा २०७४ वैशाख २५ मा दर्ता भएको नेपाल इन्जिनियरिङ कलेज प्रालि विधिवत् खारेज गरिसकेको जनाएको छ ।

विवाद समाधान गर्न पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय भक्तपुरले असार १९ मा कलेजका सञ्चालकसँग आवश्यक कागजात माग गरी छानबिन गरिरहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको संयोजकत्वमा गठित छानबिन समितिलाई प्रतिवेदन पेस गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बताए ।

समितिले डेढ महिनासम्म कुनै विवरण नदिएका कारण विद्यार्थीको भविष्य थप अन्योलमा परेको सञ्चालक सलिल भट्टराईले बताए । नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षा दिएका ५ सय ६७ मध्ये मंगलबारसम्म १ सय ३३ विद्यार्थी भर्ना भइसकेका छन् । कलेजमा हाल २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । नयाँ शैक्षिक सत्रमा स्नातकमा ५ सय २८ र स्नातकोत्तरमा १ सय २० विद्यार्थी थपिने कलेज प्रशासनले जनाएको छ ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?