कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिँगारिँदै राजधानी

काठमाडौँ — एक नम्बर सडक डिभिजन कार्यालय प्रमुख मुकुन्द अधिकारी आइतबार मीनभवनस्थित कार्यालयमा असिनपसिन अवस्थामा देखिन्थे । आफूमातहत कर्मचारीलाई सडक मर्मत तथा सुधार चाँडो गर्न निर्देशन दिँदै थिए ।

सिँगारिँदै राजधानी

‘खाने पनि फुर्सद छैन,’ उनले भने, ‘वर्षा भइरहेको छ, कालोपत्रे गर्न गाह्रो छ । बिहान कालोपत्रे गर्‍यो, दिउँसो उप्किन्छ ।’

काठमाडौंमा हुने बिमस्टेक सम्मेलन तयारीका लागि सडक विभाग र काठमाडौं महानगरले सडक मर्मत तथा सुधारलाई तीव्रता दिएका छन् । डिभाइडरहरू रातारात रंगाएर टिलिक्क पारिएको छ । सडकका खाल्डाखुल्डी पुरिएको छ । जेब्रा क्रसिङ, पुल तथा भीआईपी आवतजावत गर्ने रुटमा साजसज्जा गरिएको छ ।

एयरपोर्ट–महाराजगन्ज, गौशाला–एयरपोर्ट, नारायणगोपाल चोक–बालुवाटार–शीतल निवासलगायत खण्डका सडक मर्मतको काम भइरहेको १ नम्बर डिजिभन सडक कार्यालयका प्रवक्ता सुशीलराज भण्डारीले बताए । एयरपोर्ट–नयाँ बानेश्वर–माइतीघर–त्रिपुरेश्वर हुँदै सोल्टीमोडसम्म मर्मत तथा सुधार कार्य भइरहेको उनले बताए । ‘खाल्डा पुर्नेलगायत काम गर्दैछौं, नियमित बजेटमै काम भइरहेको छ तर बिमस्टेक बैठकका लागि तयारी गरेजस्तो भइरहेको छ,’ उनले भने, ‘वर्षातमा कालोपत्रे गर्दा छिटो उप्किने भएकाले निकै समस्या छ ।’

वर्षमा दुईपटक मर्मत तथा सुधार गरिने भन्दै उनले भीआईपीको रुटभन्दा अन्य ५ स्थानमा पनि सडक मर्मत तथा सुधार भइरहेको बताए । पुरानो बानेश्वर–नयाँ बानेश्वर, ज्ञानेश्वर–चारखाल–जैन भवनलगायतका सडक पनि मर्मत भइरहेको उनले जानकारी दिए । ‘यी सडक नियमित मर्मत तथा सुधार गरिएको छ,’ उनले भने ।

इमल्सन प्रविधिबाट कालोपत्रे गरिएको भन्दै उनले चिसोमा अफसाल्टबाट कालोपत्रे नगरिने बताए । ‘इमल्सनमा ६० प्रतिशत बिटुमिन र ४० प्रतिशत पानी मिश्रण गरिएको हुन्छ,’ उनले भने, ‘त्यो केहीबेर सुक्नुपर्छ, वर्षा र चिसोमा यो उपयुक्त हुन्छ ।’ २ नम्बर सडक डिभिजन कार्यालयका प्रमुख देवकुमार तामाङले आफ्नो कार्यक्षेत्रभित्र भीआईपीको बाटो नपरेको बताए ।

ठमेलस्थित सञ्चयकोष भवन अगाडि, सोल्टीमोडबाट सोल्टी होटलसम्म र नारायगोपाल चोकबाट स्वयम्भूसम्मको सडक मर्मत तथा सम्भार गर्ने काम भइरहेको उनले बताए । त्यसैगरी चाबहिलबाट गोकर्ण रिसोर्टसम्मको सडक खण्ड मर्मत तथा सम्भार गर्ने काम भइरहेको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने पाहुनालाई स्वागत गर्न अहिले उपत्यकाका विभिन्न स्थानमा गेट तथा सडक सिँगारिएका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?